मनाङ । उपल्लो मनाङमा धनुर्विद्या (मेथा) र तल्लो मनाङमा धाज्याङ खेल सुरु भएको छ । मनाङ ङिस्याङ गाउँपालिका-६ मनाङ गाउँमा धनुर्विद्या खेलमा युवाले कला, कौशल प्रदर्शन गर्दछन् । एक सातासम्म मनाइने यो खेललाई मनाङीले आफ्नो परम्परा र सम्पदाका रूपमा उल्लासका साथ खेल्ने गर्दछन् । विशेषगरी आफ्नो कला, पराक्रम, कौशलता प्रदर्शन गरी यहाँका गुरुङ, घले समुदायले एक सातासम्म मनाउने चलन छ ।
नेपाल बाइसेचौबिसे राज्यमा विभाजित हुँदा यो पर्वको उत्पत्ति भएको अनुमान गरिएको यहाँका बुढापाकाहरूको भनाइ छ ।
राजाहरू आपसमा लड्ने गर्दथे । त्यसैले उनीहरूले शत्रुमाथि विजय प्राप्त गर्नका लागि यस पर्वको सुरुवात भएको र यस पर्वलाई आजसम्म पनि निरन्तरता दिइराखेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा सांस्कृतिक तथा प्राकृतिक परम्परालाई जोगाउनुपर्छ । यसको संरक्षणमा युवालाई प्रोत्साहन गरिरहेका छौँ । यहाँ मनाइने विभिन्न संस्कृतिको प्रदर्शनबाट नै पर्यटनसँग जोडी आयस्रोत बनाउन सक्नुपर्छ ।’ युवालाई यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो ।
वसन्त ऋतुको आगमनसँगै नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने यस पर्वलाई तल्लो मनाङमा ‘धाज्याङ’ पनि भनिन्छ । पूजा आराधनासँगै तल्लो मनाङमा पनि सोमबारदेखि यो पर्व सुरु भएको छ ।
माथिल्लो मनाङमा सुरु भएपछि तल्लो मनाङमा सुरु हुने गर्दछ । यस पर्वमा गाउँका दुवै छेउका गाउँले तोकिएको ठाउँमा भेला भएर दुई समूहमा विभाजित हुन्छन् ।
पर्व व्यवस्थापन समितिले दुवै समूहबाट पैसा उठाउँछ । धनुर्विद्या प्रतियोगिता गराउँछन् । पर्वमा विजेता समूहलाई नगद पुरस्कारसहित फूलमाला र खादाले सम्मान गर्ने चलन रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । चाडपर्वको अन्तिम दिन लामाहरूको अनुष्ठान नृत्य गरिन्छ ।
नृत्य प्रदर्शनपछि दानवरूपी पुरुष र महिलाका दुईवटा तस्बिर जोड्छन् । यिनीहरूलाई गाउँको शत्रु मानी जसले तिनीहरूलाई प्रहार गर्छ उसैलाई त्यस वर्षको ‘नायक’ उपाधि दिइने चलन छ ।
पर्वको अन्त्यमा गाउँलेद्वारा स्याब्रु नाच नाचिन्छ । यस पर्वको मुख्य उद्देश्य भनेको दुष्ट आत्मा र दानवको विनाश गरी मानिसको समृद्धि, स्वस्थ र सुखी बनोस् भन्ने रहेको छ ।
यसबाहेक यस पर्वमा एकता, मेलमिलाप कायम गर्ने जनविश्वास रहेको छ । यस पर्वका अवसरमा सांस्कृतिक कार्यक्रम गरी नाचगान, भोजभतेर, आपसी मित्रता कायम गर्ने गरिन्छ । रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच