
काठमाडौं । दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)का लागि ६ खेलाडी छनोट भएका छन् । चौथो राष्ट्रिय खुला फ्रेण्डसिप तेक्वान्दो प्रतियोगिताबाट उनीहरू छनोट भएका हुन् । कोरियामा अगस्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि ग्योरोगीमा चार र एकल पुम्सेमा दुई गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट गरिएको हो ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजनामा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ६३-६८ केजीमा एनटिएका सुवासचन्द्र बोहरा पहिलो हुनुभयो ।
फाइनलमा उहाँले एनटिएकै आयुष ढुंगेललाई पराजित गर्नुभयो । पुरुष ५४-५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले फाइनलमा आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउँदै पहिलो हुनुभयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४६-४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिका राणाले स्वर्ण जित्नुभयो ।
इशिकाले फाइनलमा चन्द्रागिरिकी सुमित्रा बलामीलाई पाखा लगाउनुभयो । महिलाको ५३-५७ केजीमा चन्द्रागिरिकी सलिना धामी पहिलो हुनुभयो ।
सलिनाले फाइनलमा चन्द्रागिरिकै रचना कुमाललाई पन्छाउनुभयो । एकल पुम्सेको पुरुषमा एनटिएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामा पहिलो हुँदै छनोट हुनुभयो । छनोटसँगै ६ खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा एनटिए टिम च्याम्पियन बनेको छ । एनटिएले ११ स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो । यस्तै, नौ स्वर्ण, चार रजत र तीन कांस्य पदकसहित कोटेश्वर दोस्रो भयो ।
तेस्रो स्थान प्राप्त गरेको चन्द्रागिरिले आठ स्वर्ण, ६ रजत र आठ कांस्य पदक जित्यो । विजेता टोलीले एक लाख, दोस्रोले ५० हजार र तेस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको प्रशिक्षकमा मोतीलाल लामा तथा निर्णायकमा शारदा धिमाल उत्कृष्ट हुनुभयो । दुवैले जनही १० हजार नगद पुरस्कार पाउनुभयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गर्नुभएको थियो । प्रतियोगिताका लागि आइओएफटिसीका निर्देशक दिवाकर महर्जन पनि अमेरिकाबाट नेपाल आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच