
काठमाडौं । वेष्ट इण्डिज ‘ए’ ले नेपालविरुद्ध ७६ रनको सहज जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इण्डिज ‘ए’ ले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो । जोहनसन चाल्र्सको शतकमा वेष्ट इण्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई ७६ रनले पराजित गरेको हो । २२८ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । यससँगै वेष्ट इण्डिज ‘ए’ ले शृंखलामा २–१ ले अग्रता लिएको छ ।
बुधबारको खेलमा नेपालका ओपनर लोकेश बमले २८ रन बनाउनुभयो । कुशल मल्लले २० रन थप्दा विनोद भण्डारी र अनिल साहले १४ रन थप्नुभयो । नवौँ नम्बरमा ब्याटिङका लागि आउनुभएका करण केसीले २८ रन जोड्नुभयो । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वेष्ट इण्डिजका हायदेन वाल्सले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २८ रन खर्चिनुभयो । गुडाकेश मोटीले दुई विकेट लिनुभयो । फाबियन एलेन, ओबेड म्याकोइ र म्याथ्यु फोर्डेले समान एक विकेट हात पार्नुभयो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो । वेष्ट इण्डिजबाट ओपनिङमा आउनुभएका चाल्र्सले अविजित ११९ रन बनाउनुभयो । उहाँले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गर्नुभयो । २७-१ को अवस्थाबाट चाल्र्सले दोस्रो विकेटका लागि आन्द्रे फ्लेचरसँग १५२ रनको साझेदारी गर्दै वेष्ट इण्डिजको इनिङ्स सम्हाल्नुभएको थियो ।
फ्लेचरले ३३ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाउनुभयो । फाबियन एलनले १९ र एलिक एथानाजेले १७ रन बनाउनुभयो । किमो पाउल १३ रनमा अविजित रहनुभयोे ।
नेपालका करण केसी र सागर ढकालले समान एक विकेट लिनुभयो । बुधबारको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले नियमित कप्तान रोहितकुमार पौडेललाई राख्नुभएको थिएन । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हाल्दा यसअघि मौका पाउनुभएका लोकेश बम र अनिल साह पनि प्लेइङ-११ मा हुनुहुन्थ्यो । बुधबार विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि मौका पाउनुभएको थियो ।
पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो । रोहित पौडेलको ११२ रनमा नेपालले शनिबार पहिलो खेल चार विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । उहाँले दोस्रो खेलमा पनि अविजित ७१ रन बनाए पनि आइतबार नेपाल १० रनले पराजित भएको थियो ।
बुधबार रोहित, कुशल भुर्तेल, आसिफ शेखसहित पहिलो रोजाइका सात खेलाडीबिना उत्रिएको नेपाल विशाल लक्ष्यसहितको दबाबले थिचिएको थियो र ब्याटिङ पनि त्यहीअनुरूप गर्न सकेन । यी दुई टिमबीचको चौथो खेल आज (बिहीबार) र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच