अहिले एमाले हौसिएको छ, कांग्रेस निराश छ । इलाममा एमालेले आफ्नो बर्चस्व कायम राख्दै हारेको बझाङमा समेत विजय हासिल गरेको छ भने सुदूरपश्चिम प्रदेशमा कांग्रेसले एक सिट घटाएको छ । यसैमा एमाले मात्तिने र कांग्रेस आत्तिने गर्न थालेमा यी दलहरूमा खिया लाग्दै जान्छ भने जनताका रगत पसिनाबाट आर्जित लोकतन्त्रमा समेत असर पर्दछ । एउटा चुनावको जित भनेको सुन्निएर मोटाएसरह मात्र हुने हुँदा लोकतन्त्रका लागि लडेका दलहरू भित्रैदेखि इस्पातसरह दह्रो हुन आवश्यक छ तर यी दलहरूका क्रियाकलापले त्यस्तो कुनै खास सुखद् सन्देश दिन भने सकेका छैनन् ।
हालसम्म देखिएको के हो भने कांग्रेसले एमालेको खेदो खन्ने र एमालेले कांग्रेसलाई भित्तामै पु¥याउने गरी राजनीतिलाई अगाडि बढाएका छन् । एकातिर लोकतन्त्रका खातिर सिन्को नभाँचेका दलहरू यी दुवै दलहरूको विपक्षमा दृढताका साथ उभिएका छन् भने अर्कोतिर लोकतन्त्रका लागि संघर्ष गरेका दलहरू एकआपसमा बाझेर लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेका छन् । पसिनाको मोल पसिना बगाउनेलाई मात्र थाहा हुने हुँदा लोकतन्त्रको महत्व कांग्रेस, एमालेले बुझ्न र बुझाउन सकेनन् भने अरू कसैले यसको रक्षा गर्न सक्दैनन् । त्यसैले अबको आवश्यकता यी दुई दलले समयको माग र महत्वलाई आत्मसात् गर्दै आफूलाई परिमार्जित गर्नु हो ।
इलाम र बझाङको चुनावमा पहिलो र दोस्रो दल भएकैमा एमाले र कांग्रेस सन्तोष मानेर बसे भने त्यसलाई बुद्धिमत्तापूर्ण कार्य मान्न सकिँदैन । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनले नेपालका राजनीतिक दलहरूलाई पाठ पढाएर गएको छ ।
कांग्रेस, एमालेले देश र जनताभन्दा माथि सत्तालाई राख्दै आउनाले आजको परिस्थिति निर्माण भएको हो । यी दुई दलले संविधान र लोकतन्त्रलाई भन्दा बढी महत्व वैयक्तिक र दलीय स्वार्थलाई दिने गर्नाले संविधानविरोधीहरूले टाउको उठाउन थालेका हुन् । त्यसैले अब संवेदनशीलताका साथ जनमत, जनताको अभिमत र संविधानको मर्मानुरूप परिचालित हुँदै दलीय स्वार्थलाई एक कदम पछि धकेलेर राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्नु सबैका लागि श्रेयष्कर हुन्छ । जसले गर्दा देश र जनता समृद्धिको मार्गमा अग्रसर होऊन् । साथसाथै दुई दलको साख बढ्दै जाओस् । यी दुई दलका कर्ममा नै लोकतन्त्रको जरा अडिएको छ भन्दा अत्युक्ति हुँदैन तर यस कुरालाई यी दलका नेताहरूले आत्मसात् गर्न सकेको देखिँदैन ।
यसैबीच लोकतन्त्र र देशप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य हुनुपर्ने विचार प्रस्तुत गरेका छन् । मुलुकको तेस्रो दल नेकपा माओवादीले कांग्रेस र एमालेलाई बिरालोले मुसो खेलाए झैँ खेलाएर कहिले कुनलाई काखामा त कहिले कुनलाई पाखामा पार्दै जाँदा लोकतन्त्रकै हुर्मत हुन पुगेको, जनतामा वितृष्णा बढ्दै गएको मध्यनजर गर्दै डा.कोइरालाले प्रस्तुत गरेको यो धारणालाई हल्का रूपमा लिन हुने देखिँदैन तर आजसम्म दुवै दलका नेताहरू यसप्रति सचेत भएको देखिएको छैन । जनतामा पलाएको निराशालाई आशामा बदल्नु दुई ठूला दलहरूको कर्तव्य भएकाले निराशाका कारणहरू खोतल्दै जनतामा उत्साह पैदा गर्ने जिम्मेवारी नेताहरूकै हो ।
निर्वाचन पद्धति र धर्मका बारेमा संविधानमा भएको व्यवस्थाले लोकतन्त्रप्रति प्रश्न उठिरहेको भन्दै कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने धारणा डा.शेखरको छ । समानुपातिक प्रणालीमा गरिएका अव्यावहारिक व्यवस्था, अनावश्यक संख्याका बारेमा त कोइराला बोलेका छन् तर प्रदेश संरचनालाई अनावश्यक संरचना भनी धेरैले ठानेको सन्दर्भलाई डा.शेखरले अमूर्तरूपमा मात्रै भनेका हुन् कि जस्तो देखिएको हुँदा अब उनले यसमा पनि स्पष्ट विचार प्रस्तुत गर्न सक्नुपर्दछ । धर्म निरपेक्षताका सन्दर्भमा धार्मिक स्वतन्त्रतामा जानुपर्ने उनको विचार आएको भए तापनि हिन्दूराष्ट्रका पक्षमा जुटेको व्यापक अभिमतलाई समेत हल्का रूपमा लिन हुँदैन । डा.कोइरालाले राखेका यी विचारहरूमा कांग्रेस र एमालेले सोच्न ढिलो गरे भने भोलिको परिणाम कता जान्छ कुनै ठेगान छैन ।
इलाम र बझाङको चुनावमा पहिलो र दोस्रो दल भएकैमा सन्तोष मानेर यी दुई दल बसे भने त्यसलाई बुद्धिमत्तापूर्ण कार्य मान्न सकिँदैन । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनले नेपालका राजनीतिक दलहरूलाई पाठ पढाएर गएको छ । चुनावी परिणामलाई लिएर दलहरूका बारेमा विश्लेषकहरू पिच्छेका विश्लेषण आउने क्रम पुरानै हुन थालिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता गुमिसक्यो भन्ने विश्लेषण हुन थालेको छ तर उसको साख गुमेको छैन, बढेकै छ । अघिल्लो चुनावमा डेढ हजार भोट नपाएको ठाउँमा पाँच हजार हाराहारी पुर्याउनुलाई चानचुने व्याख्या गरेर अवमूल्यन गर्नु हुँदैन । पहिचानवादीले पाएको मत पनि कांग्रेस र एमालेहरूकै पुरानो मत हो । त्यसैले डा. कोइरालाको धारणामा सहमत हुँदै आगामी रणनीति कोर्नु कांग्रेस र एमालेका लागि हितकर देखिन्छ तर लामो समय सत्तामा रहनका लागि सहकार्य होइन कि मुलुकमा देखापरेका समस्या समाधानार्थ बाटो पहिल्याउन एकजुट हुनुपर्दछ ।
दुवै ठाउँका चुनावले नेपालको दोस्रो ठूलो र दोस्रो पुरानो दल नेकपा एमाले र सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेसलाई पाठ पढाएको छ । आफ्नो परिवृत्त, परिवारबाट नेतृत्व र नेता बाहिर निस्कन नसक्ने हो भने भोलिका दिनमा अझ ठूला चुनौती सामना कांग्रेसले गर्नुपर्ने यही परिणामले देखाएको छ । नेतृत्व, नेतृत्वशैली, कार्यक्रम, व्यवहार र नीति अहिलेकै जस्तो नै कायम रहने हो भने आगामी निर्वाचनमा झनै ठूलो धक्का लाग्ने प्रष्ट सन्देश प्राप्त भएको कांग्रेसले बुझेको छ कि छैन ? त्यही दलका नेताहरूले जान्ने कुरा हो । सँगसँगै मत खसेको प्रवृत्तिबाट एमालेलाई क्षणिक खुशी मिलेको भए तापनि उत्तिकै सचेत हुन सजग गराएको छ ।
एउटा पुसले जाडो जाँदैन । एउटै चुनावको परिणाम हेरेर सदैव त्यस्तै परिणाम आउँछ भन्ने हुँदैन । कोही एकजना तीन तलामाथिबाट लड्दा पनि मरेन भनेर सबैले तीन तलामाथिबाट हाम फाल्ने कुरो आउँदैन । समयक्रममा घटना विशेष र अवस्था विशेषका कारण एउटै प्रक्रियामा पनि भिन्न परिणाम आउँन सक्छ भन्ने ख्याल राख्न सक्नैपर्दछ । होला, यो चुनावको परिणामले नेकपा एमालेलाई हौसिने अवसर प्रदान गरेको छ भने नेपाली कांग्रेसलाई टाक्सिनुपर्ने अवस्था सिर्जना भएको छ तर अनन्तकालसम्मको नियति यही हो भन्ने ठानेर यी दुई दल बसे भने चाहिँ निकै ठूला दुर्नियतिहरू नेपाल र नेपालीले भोग्नुपर्ने अवस्था आउनेछ ।
कांग्रेस, एमालेलाई अझै जनताले पत्याउँदैछन् भन्ने सन्देश यो निर्वाचनले दिएको छ । दुवै ठाउँमा एमाले पहिलो र कांग्रेस दोस्रो दल बनेका छन् । विसं २०४८ पछिका सबै निर्वाचन र निर्वाचन क्षेत्रहरूमा हुँदै आएको यस्तै हो । यी दुई दलहरूले विसं २०६४ को संविधानसभाको निर्वाचन र विसं २०७९ को आमनिर्वाचनमा मात्रै बेग्लै खाले धक्काको अनुभव गर्नुपरेको हो । यसैमा गर्व गर्दै र इलामको निर्वाचनमा एमाले पहिलो र कांग्रेस दोस्रो भएकै छ भन्दै यी दलहरूले अन्य उम्मेदवारहरूले पाएका मतबाट कुनै पाठ पढेनन् भने चाहिँ विसं २०८४ को आमनिर्वाचनमा धक्कामात्रै होइन, विसं २०७२ मा गएको महाभूकम्प हाराहारीकै क्षति व्यहोर्न तयार हुनुपर्ने पनि हुनसक्दछ ।
मुलुकमा बाढीपहिरो सधैं जाँदैन । हावाहुरी आएर तहसनहस बनाउने समय कहिलेकाहिँ मात्रै हो भन्ने सन्देश पनि इलामको निर्वाचनले साथसाथै दिएको छ तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीको मत विगतको भन्दा अहिले बढेकै छ । पहिचानवादीका नामबाट त्यति धेरै मत आएबाट पनि मूलधारका दलहरू सतर्क हुनुपर्दछ, हुने नहुने कुरा उनीहरूकै हो । जनता सधैं एउटै दलका कार्यकर्ता भएर बस्न चाहँदैनन् भन्ने प्रमाण स्वतन्त्र पार्टी र पहिचानवादीले पाएका मतबाट प्रष्टै हुन्छ । पहिचानवादीको मीठो तर नमिठो परिणाम दिनसक्ने नारामा भुलेकाहरूलाई आफ्ना पुराना कार्यकर्ता भनेर न कांग्रेसले फिर्ता बोलाउन सक्दछ न एमालेले नै आफूतिर आकर्षित गर्न सहज छ ।
पछि उदाएका दलहरूलाई नेपालमा स्थापित लोकतन्त्र, गणतन्त्र वा संघीय शासन प्रणाली जे भने पनि यससँग कुनै मोह छैन । विसं २०४६ को जनआन्दोलन वा विसं २०६२-०६३ को तेस्रो जनआन्दोलनका शहीद, घाइते, लडाकू, सहभागी आदि शब्दसँग सम्बन्ध नगाँसिएका राजनीतिक दलहरू धेरै नै स्थापित भइसकेको अवस्था छ भने यस्ता कुरासँग साइनो गाँस्नै नचाहने जनमत पनि बढिरहेको छ । यही व्यवस्थामा अराजकता मच्चाएर लूट मच्चाउने, स्वार्थ पूरा गर्ने, अकूत सम्पत्ति जोड्नेहरूको लर्को ठूलै देखापरिसकेको छ । विसं २००७ सालमा प्रजातन्त्रका लागि कांग्रेस एक्लै लडेको भए तापनि पछिल्ला दुई जनआन्दोलनहरूका परिणामहरूमा कांग्रेस र एमाले दुवैको उत्तिकै हात र साथ छ । तेस्रो जनआन्दोलनको अन्त्यतिर भने माओवादीहरू पनि सहभागी भएका थिए र आन्दोलन सफल हुन सहज भएको थियो तर यस दलका शीर्षस्थ नेताहरूका पछिल्ला क्रियाकलापहरूले भने लोकतन्त्रलाई देखाउने भाँडो बनाएर अर्कै उद्देश्य सार्थक बनाउने अन्तर्य देखिन पुगेको छ ।
कांग्रेसका सभापति र एमालेको अध्यक्ष अघि नसरे पनि कांग्रेसीजनमा लोकप्रियता कमाएका डा. शेखर कोइराला झुकेका छन् । झुक्नु सधैं नराम्रो हुँदैन, राम्राका लागि झुकेका छन् । एमालेसँग हात बढाएका छन् । उनको यस प्रस्तावमाथि छलफल चलाउन जरुरी देखिन्छ ।
त्यसैले कांग्रेस, एमालेले अब नयाँ बाटोका बारेमा सोच्न जरुरी छ । होला, कतिपय समयमा कांग्रेसका केही नेताहरूले बाटो बिराए, नेकपा एमालेका शीर्षस्थ नेताहरूका गतिविधिका कारण लोकतान्त्रिक मूल्यमान्यतामाथि ठूलै आघात पुग्यो तर पनि कलंक नलागेका सयौं नेताहरू यी दुई दलहरूमा अझै सक्रिय छन् । लोकतन्त्र निमोठेर अराजकताका बीच उदाउने मनसाय बोकेका राजनीतिक दलहरू र नेताहरूले समेत लोकप्रियता कमाउन थालेको अवस्थालाई मध्यनजर गर्दै दुई दलका बीचमा रहेको द्वन्द्वलाई घटाउन जरुरी छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने तर लोकतान्त्रिक व्यवस्थालाई उदाहरणीय बनाउन निर्वाचनपछि सहकार्य गर्ने परम्पराको आरम्भ अनिवार्य भएको छ ।
बोली फुटाल्ने एकजना चाहिन्छ । नरम भएर हात बढाउने एकजना निस्कनै पर्दछ । त्यो आयो भने सोचौंला तर अघि सरेर म किन सानो हुने भनेर दुवै घमण्डका साथ बसे भने घमण्डले दिने भनेको परिणाम समाप्ति नै हो । आत्मसम्मान जोगाउनुपर्दछ तर अभिमान त्याग्नुमै बेस हुन्छ । दुर्योधनको अभिमानले कौरव वंश नै नाश भए झैँ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको अभिमानले लोकतन्त्रलाई नै धरापमा पार्न किमार्थ हुँदैन । यहीबीचमा कांग्रेसका सभापति र एमालेका अध्यक्ष अघि नसरे पनि कांग्रेसीजनमा लोकप्रियता कमाएका डा.शेखर कोइराला झुकेका छन् । झुक्नु सधैं नराम्रो हुँदैन, राम्राका लागि झुकेका छन् । एमालेसँग हात बढाएका छन् । दुई दलले दीर्घकालसम्मको प्रभुत्व चाहने हो भने उनको यो प्रस्तावमाथि छलफल चलाउन जरुरी देखिन्छ । मिलेर मुलुकलाई नयाँ गति प्रदान गर्ने हो भने पनि नवीन योजना सार्नुपर्दछ र मिल्नै नसक्ने हो भने पनि यी यी कारणले सकिन्न भन्नु नै अबको सही गन्तव्य हो ।
ध्यान दिनुपर्ने चाहिँ के हो भने मिलेर मुलुक चलाउने हो भने पनि नयाँ नेताका हातमा मुलुक जानुपर्दछ । पुराना नेताहरूले अभिभावकत्व ग्रहण गर्दै परीक्षण नभएका तर दृष्टिकोणमा खरो साबित भएकालाई पार्टी र सरकार चलाउन दिने हिम्मत गर्नुपर्दछ । अनन्तकालसम्म अरूले आस नगरे हुन्छ भन्दै अघि बढिरहने हो भने चाहिँ डा.शेखरको प्रस्तावमा कांग्रेस र एमाले सहमत भए पनि केही वर्षका लागि त सहज होला तर तात्विक असर भने पर्दैन भन्न पनि डराउन हुँदैन ।
नयाँ भन्दैमा बालुवाटारको प्रधानमन्त्री किन्ने हिम्मत गर्नेहरूका हातमा सत्ता जाँदा पनि जनता हर्षित हुन सक्दैनन् । भूटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नाम जोडिएकाहरूको हालीमुहाली हुन गयो भने पनि अहिलेको निराशालाई आशामा बदल्न सक्दैनन् । डलरकाण्ड होस् वा भ्रष्टाचारमा जोडिएका भनेर नाम चलेकाहरूलाई पनि किनारामा राखेर अग्रपंक्तिमा कुनै पनि अभियोग नलागेको स्वच्छ व्यक्ति नै हुनुपर्दछ । आशा गरौं, लोकतन्त्रका लागि लडेका नेताहरू लोकतन्त्र जोगाउन सहमत हुने नै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच