काठमाडौं । एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत् फर्काइएको पानी मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजय तुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरेका हुन् ।
अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिनेछ । उक्त बाँध आगामी मनसुनअघि नै निर्माण सक्ने गरी काम भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोशेढुंगा र फड्को भएको बताउनुभएको छ । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए तापनि अहिले नमुना आयोजनाका रूपमा अघि बढाउने गरी काम भइरहेको उहाँको भनाइ थियो ।
आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको भन्दै आयोजना जतिसक्दो छिटो सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहित स्वार्थका व्यक्तिहरूबाट सतर्क भएर आयोजना तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताउनुभयो ।
भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको दाबी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रिजालले तनहँु जलविद्युत्को प्रकृति, लागत, आयोजनाले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिनुपर्ने बताउनुभयो ।
एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) विजय तुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाका रूपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताउनुभयो ।
तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत्लाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताउनुभयो ।
निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ-बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत(प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच