कालो सडकमा पहेँलै बिस्कुन

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । अहिले सर्लाहीका किसान आफ्नो बारीमा पाकेर भाच्ने बेला भएको हिउँदे मकै धमाधम भाचिरहेका छन । यहाँका किसानले अहिले बाली भित्राइ रहेका छन् । यसरी तयार भएको मकै बजारमा लैजान यहाँका किसानलाइ भ्याइ नभ्याइ भएको छ । राम्रोसँग नसुकेको मकै बेच्दा राम्रो मूल्य नआउने भएपछि किसानले मकै सुकाएर बेच्ने गर्छन् ।

पहिले सबै किसानको आँगनमा पथरी नभएकाले उनीहरुले नसुकेको मकै कम दाममा बेच्ने गरेको भए पनि पछिल्लो समय गाँउगाँउमा बनाइएको पिच बाटोले गर्दा किसानलाइ मकै सुकाउन सहज भएको छ । सिमित व्यक्तिको घरमा मात्र पथरी हुँदा मकै सुकाउन पालो कुर्नुपर्ने तथा सस्तोमा आफ्नो बाली बेच्नु पर्ने बाध्यताबाट किसानले छुटकारा पाउन थालेका छन । भित्री तथा सवारी आवत जावत कम रहेको बाटोमा किसानले आधा सडक ढाकेर आफ्नो बाली सुकाउने गरेका छन ।

किसानले दुई देखि तिन दिन घाममा मकै सुकाउने गरेका छन् । नसुकेको मकै प्रति कुन्टल २३ सय देखि २४ सय सम्ममा बिक्री हुने गरेको भए पनि राम्रो सँग सुकेर गोदाम गर्न मिल्ने मकै प्रति क्विन्टल ३१ सयमा किन बेच भइरहेको छ । यसरि सुकाउँदा राम्रो दाम आउने भएपछि किसानले बाटै भरि मकै सुकाउने गरेका छन् । यसरि बाटामै मकै सुकाउँदा सवारि दुर्घटनाको जोखिमसमेत हुने गरेको छ ।

तराई मधेसको धेरै स्थानमा सडकमा सवारि साधन संचालन भन्दा पनि यसरि बिस्कुन सुकाउने, पसु चैपाया बाध्ने र सरसामान राख्ने परम्परा जस्तै रहेको देखिन्छ । पछिल्लो समय उखु बालीमा भुक्तानीको झन्झटले गर्दा किसानले अहिले नगदे बालीको रुपमा मकै खेती गर्दै आएका छन् । अहिले जिल्लाको बरहथवा बागमती लालवन्दी इश्वरपुर हरिपुर नगरपालिका क्षेत्रमा धेरै मकै खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीको रेकर्ड अनुसार सर्लाहीमा करिव १० हजार २ सय पाँच हेक्टर क्षेत्रमा मकै खेती हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?