काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्र तथा मिननाथको रथ निर्माण बारे जानकारी दिन गुठी संस्थानले मंगलबार सञ्चारकर्मीहरुसंग स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेकाे छ ।
ललितपुरको प्रसिद्ध बुंगद्य अर्थात रातो मच्छिन्द्रनाथ तथा चक्वाद्य अर्थात मिननाथकाको रथारोहण तथा रथयात्रा नजिकिँदै गएकाे बेला गुठी संस्थान कार्यालय ललितपुरले सो कार्यक्रम आयोजना गरेको हो । रथ निर्माणमा पाटनका बाराही, ञवालगाएत सक्रिय सहभागी हुन्छन् ।
बैशाख १२ गते बुधबारदेखि पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य शुरु गरिएको थियो भने टंगलमा मिननाथको रथ निर्माण भइरहेको छ । रथमा ञवा गुठीयारले लःसी, खम्बा, गलःसी र दाँयाबाँया काठ नहल्लियोस् भनेर चिरुवाको बेत र गोलो बेत नागको आकारमा कस्ने गर्दछन् भने बाराही गुठीयारले काठको काम गर्ने गर्छन् ।
रथ निर्माण कार्य धमाधम भइरहेको बेला रथ निर्माण, त्यसको प्राविधिक पक्ष, रथयात्राका सम्बन्धमा सञ्चारकर्मीहरुलाई जानकारी दिन स्थलगत अवलोकन तथा अन्तरक्रिया गरिएको थियो। गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
पुल्चोकमा रथ निर्माणको अवलोकनका साथै रथ यात्रा विविध विषयमा गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिनुभयो।
गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आर्चायकाअनुसार रथ बनाउन १५ सय फिट महाबेत, १ सय ५० चिरुवाको बोट (पानी बेत), दुई-दुई हजार मिटर मोटो र मसिनो डोरी चाहिन्छ । ‘देवता राख्ने चारकुनामा लाकुरी जातको काठ र खटमा फलाटको काठ र धकु (ब्रेक) का लागि मयल जातको काठ र धकुको बिहका लागि आरूको बोट आवश्यक पर्छ,’ उहाँले भन्नुभयाे, ‘सबै बन्दोबस्त भइसकेको छ ।’
उहाँले अन्तमा रथ निर्माण सम्पन्न भइसकेपछि धूपीले सजाई तानिने बताउनुभयाे । रथारोहण साइत भने बैशाख २७ गते परेको छ ।
त्यसैगरी रथयात्राको लागि उपर्युक्त वातावरण, प्रशासनिक समन्वय र शान्ति सुरक्षाको प्रबन्धको विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
रथयात्रा, रथको सुरक्षाको विषयमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताउनुभयो।
पुल्चोकमा निर्माण भइरहेको रातो मच्छिन्द्रनाथको रथ निर्माणको अवलोकन तथा जानकारीपछि टंगलमा पुगेर मिननाथ निर्माणको अवलोकन गराइएको थियो । त्यस क्रममा रथ निर्माण गर्ने बाराहीका नाईके दिलकुमार बाराहीले हेर्दा चाँदै सके जस्तो देखेता पनि आवश्यक रथ निर्माण हुने छ प्रकारको काठ, काठको लागि असोज, कार्तिकदेखि गर्नुपर्ने तयारीका बारे जानकारी दिनुभयो।
रथमा बोसी खलकले रूख काट्ने, धकुले जात्रामा भक्तजनले रथ अनियन्त्रित ढंगले ताने त्यसलाई ब्रेक लगाउने, कुमालेले भाडाकुँडा बनाउने, कौले फलामको, चित्रकारले पाङग्रालगायत रथमा रंगाउने, पनेजुले पुजारीको र नेकुले सुनको कोदालो प्रयोग गरेर स्वयम्भूबाट ल्याएको माटोबाट मत्स्येन्द्रनाथको मूर्ति बनाउने र सिंगार्ने अनि स्नान गराउने काम गर्दछन् । जात्राले भोजभतेर मात्र नभई सामाजिक एकता तथा मेलमिलाप मात्र नभई मुलुकलाई अन्तराष्ट्रियस्तरमा पहिचान दिलाउन उल्लेख्य भुमिका खेलिरहेको हुन्छ ।
नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सांस्कृतिक क्षेत्रको रिपोटिङमा सक्रिय पत्रकारहरुलाई लक्षित गरी गुठी संस्थानले पहिलो पटक अन्तरक्रिया तथा अवलोकन भ्रमण आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच