काठमाडौं । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिन स्थापित नक्सालस्थित नेपाल बाल संगठनको जग्गा अनियमिताविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
झण्डै २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको सीआइबी स्रोतले जनायो । वैद्य नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी हुनु हो ।
अदालतबाट पक्राउ गर्न अनुमति लिएपछि सीआईबीले यो प्रकरणसँग जोडिएकाहरूलाई हिरासतमा लिने तयारीसमेत अघि बढाएको छ ।
पक्राउ पुर्जी काटिएकामा विशाल ग्रुपका केही सञ्चालक समेत छन् । अहिले विशाल ग्रुपका सदस्यहरू नै बहुसंख्यक लगानीकर्ता रहेको बृहस्पति स्कुलले यो जग्गा २०४९ सालयता बाल संगठनका पदाधिकारीसँग पटक–पटक गैरकानूनी सम्झौता गरेर कब्जा गरिरहेको छ । विशाल ग्रुपले ९ रोपनी जग्गा ‘सब–लिज’मा दिएको देखाएको छ । त्यो सब लिजमा दिइएको भनिएको जग्गामा पनि अधिकांश लगानी विशाल ग्रुपकै रहेको राय स्कुल सञ्चालन भइरहेको छ ।
२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा राखेको ११९ रोपनी १२ आना ३ पैसा जग्गा २०४८ पछि नियुक्ति भएकी वैद्यले निजी कम्पनीलाई लामो समयका लागि सञ्चालन गर्न दिएकी थिइन् ।
नेपाल बाल संगगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।
यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।
आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल सङगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) जाहेरी दिएको बताइएको छ ।
बालअधिकार सम्बन्धी महासन्धिले उठाएका मुद्दाहरू लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग भएको दाबी गरेको छ ।
सो जग्गाको सय १९ रोपनीमध्ये धेरैजसो जग्गा केही सरकारी निकायले भोगचलन गरिरहेका छन् भने २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको थियो ।
बिहीबार अदालतले जारी गरेको पक्राउ पुर्जीअनुसार सीआईबीले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, विभिन्न कालखण्डमा संगठनका महासचिव रहेका श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न अनुमति पाएको छ।
यसरी नै बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
अदालतले बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच