आचार्य खेमराज केशवशरण चिनाइरहनुपर्ने नाम होइन । उहाँ नेपालमा मात्र होइन नेपालबाहिर पनि धेरै देशहरूमा आफ्नो विद्वता र प्रभावपूर्ण प्रवचनका कारण प्रसिद्धि पाउनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ हाल दिवंगत भइसक्नुभएको छ । उहाँ जीवित छँदै उहाँको अभिनन्दन ग्रन्थ प्रकाशन भएको थियो । हालैमात्र हात परेको हुँदा यसका बारेमा सङ्क्षिप्त रूपमा टिप्पणी लेख्ने प्रयास अहिलेमात्र भएको छ । यो टिप्पणी केबल सूचनामूलक हो । एकातिर यो कृति यति स्थूल छ कि यसको अध्ययनका लागि निकै लामो समय खर्चिनुपर्ने हुन्छ भने अर्कातिर आचार्य खेमराज केशवशरणका बारेमा केही शब्द लेख्नुमात्र पनि कठिन विषय हो । तैपनि पुस्तकबारे सामान्य सतही कुरा लेख्ने प्रयास यहाँ भएको छ ।
पुस्तकको शीर्षक ‘आचार्य श्रीखेमराज केशवशरण जीवनी, व्यक्तित्व, कृतित्व तथा योगदान अभिनन्दन ग्रन्थ’ भनिएको छ । यसको प्रकाशक अभिनन्दन ग्रन्थ प्रकाशनव्यवस्था समिति काठमाडौं छ । यसको कार्यकारी सम्पादक प्रयागराज भट्टराई ‘वाशिष्ठ’ रहनु भएको छ । प्रकाशकहरूमा डा.सुरेश सारस्वत, डा.सुधा सारस्वत, प्रो.राजेश अग्रवाल र रीता अग्रवाल रहनुभएको छ । यसको सर्वाधिकार प्रकाशन व्यवस्था समितिमा सुरक्षित छ भने यसलाई विधागत रूपमा जीवनी र कृतित्व विश्लेषणमूलक अभिनन्दन ग्रन्थ भनिएकको छ । यो ग्रन्थ यसको प्रथम संस्करण हो । यो ग्रन्थ एक हजारको संख्यामा छापिएको छ ।
एक जना प्रतिष्ठित विद्वानको जीवनको समग्र पक्षलाई समेटेर यो ग्रन्थ प्रकाशन हुनुमात्र पनि सामान्य कुरा होइन । प्रकाशक सम्पादकहरूबाट यस प्रकारको जुन महत्वपूर्ण कार्य भएको छ त्यो ज्यादै अनुकरणीय र प्रशंसनीय छ ।
पुस्तक भूमिका खण्डमा ६६ पाठ्यखण्डमा ९४२ र परिशिष्ठ खण्डमा २६७ गरी १२७५ पृष्ठको छ भने मूल्य दुई हजार एक सय एक रुपैयाँ छ । थ्रिस्टार प्रिन्टिङ प्रेस बागबजारमा कम्प्युटर टाइप भएको छ भने मुद्रण सोही प्रेसबाट भएको छ । यसको आवरणकला समा आर्टका सुरेश उलकले तयार गर्नुभएको छ । आवरण आकर्षक छ । बीचमा गोलाकार वृत्तभित्र ग्रन्थनायकको फोटो राखिएको छ । माथि पुस्तकको शीर्षक दिइएको छ, तल प्रकाशक समितिको नाम । पृष्ठ आवरणमा आचार्य केशवशरणका प्रकाशित कृतिहरूको सूची दिइएको छ जसको सङ्ख्या ४३ रहेको छ र प्रकाशोन्मुख भनेर अन्य सातवटा पुस्तकहरूको नाम दिएको छ ।
भूमिका खण्डमा प्रकाशन समितिका सदस्यहरूको नाम, सादर समर्पण, आचार्य खेमराज केशवशरणको फोटो, प्रकाशकहरूको चिनारी, सम्पादकीय र विषयसूची छन् । पुस्तकमा मन्तव्य सूची, उहाँका प्रकाशित प्रतिनिधिमूलक कृतिको सूची, जविनी विषयक सूची, व्यक्तित्व विषयक सूची, कृतित्व विषयक सूची, फुटकर लेखरचनाहरूको सूची, पारिवारिक र संघसंस्थाबाट व्यक्त उहाँका सम्बन्धका विचार, उहाँले लेख्नुभएका भूमिकाहरू, व्यक्त मन्तव्यहरू तथा परिशिष्टाङ्कहरू रहेका छन् ।
परिशिष्टाङ्कमा अभिनन्दनपत्र चित्रावली, उहाँको आवासको चित्र, उहाँका विभिन्न रीतिसंस्कृति र संस्कारहरूमा संलग्न हुँदाका तस्वीर, उहाँसँग सम्बन्धित अन्य विभिन्न सन्दर्भका तस्वीरहरु छन् । साथै उहाँका हस्तलिखित दस्ताबेजहरूका साथै विभिन्न उमेर र अवस्थाका तस्वीर सन्दर्भअनुसार छन् । उहाँका आफन्तजन, उहाँले अध्ययन गरी प्राप्त गरेका योग्यताका प्रमाणपत्रहरू, प्राप्त मानसम्मान पुरस्कार र पदकलगायत विभिन्न सामग्रीसमेत यहाँ समेटिएका छन् ।
तीन सयभन्दा बढी विद्वानहरूका उहाँसम्बन्धी लेखहरू सङ्कलन र सम्पादन गरी यति बृहत् ग्रन्थ तयार पार्ने सम्पादक प्रकाशकहरूको ठूलो मिहिनेत यस ग्रन्थमा लगानी भएको छ । यसका लागि उहाँहरू धन्यवादका पात्र बन्नुभएको छ । एकजना प्रतिष्ठित विद्वानको जीवनको समग्र पक्षलाई समेटेर यो ग्रन्थ प्रकाशन हुनुमात्र पनि सामान्य कुरा होइन । उहाँहरूबाट यस्तो जुन महत्वपूर्ण कार्य भएको छ त्यो ज्यादै अनुकरणीय र प्रशंसनीय छ । उहाँहरूबाट आगामी दिनहरूमा यस प्रकारका अन्यान्य प्रयास हुन सकून् हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच