![सांसदकै प्राथमिकतामा छैन कर्णाली संसद्](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Karnali-Parliament-priority-MP-Hita-fornt-page.jpg)
✍️ जी.पी.शर्मा धनञ्जय
मध्यपुर ठिमी नगरपालिका वडा नं.१ अन्तर्गत अरनिको राजमार्गदेखि दक्षिण खानेपानी प्रशोधन केन्द्रबाट खरिबोट (आयुर्वेद औषधालय) हुँदै रामनगर (राममन्दिर) भएर टीकाथली जाने भित्री बाटाको सन्दर्भ हो । पछि स्थानीय उपभोक्ताहरूले यस सडकलाई ‘दिव्येश्वरी सडक’ नामकरण गर्नुभएको छ । यो सडक मनोहरा जग्गा एकीकरण आयोजनाले जग्गा एकीकरण सञ्चालन गर्नुअघिबाटै चार मिटर कायम रहेको ग्राबेल बाटो । भूपूप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आवासमा जाने बाटो पनि हो ।
पृष्ठभूमिसहितको विस्तृत विवरण :
यो बाटो मनोहरा जग्गा एकीकरण आयोजना सञ्चालन गर्नुपूर्व मध्यपुर ठिमी नगरपालिकाले स्वीकृत गरेको गाइडेड ल्याण्ड डेभलपमेन्ट अनुसार सडकको मापदण्ड ८ मिटर तोकेको थियो । मनोहरा जग्गा एकीकरण आयोजनाले मनोहरा फाँटमा निर्देशित जग्गा विकास कार्यक्रम लागु गर्दा गरिएको डिआरपीमा साविकदेखि नै चलनचल्तीमा रहेको सडक चार मिटर र आयोजनाका तर्फबाट थप चार मिटर गरी कूल ८ मिटर हुने गरी डिपिआर स्वीकृत भएको थियो । तर, जग्गा विकास कार्यक्रम कार्यान्वयन गर्ने क्रममा आयोजनाका र सोको सहयोग समितिका केही टाउकेहरूले एकतर्फी आयोजनाको तर्फबाट मात्र चार मिटर थप गर्दा आयोजनाले भार बहन गर्न नसकिने भनी साविकको चार मिटर सडकलाई नै पूर्वतर्फको सडक कायम गरी २०६५ साल वैशाख २९ मा मन्त्रिस्तरीय निर्णयबाट डिपिआर संशोधन गरी आठ मिटरबाट घटाइ चार मिटर नै कायम गर्ने निर्णय गरियो ।
यसो गर्दा आयोजनाको अध्यक्षमा काठमाडौं महानगरपालिका, उपाध्यक्षमा मध्यपुर ठिमी नगरपालिका र मनोहरा जग्गा एकीकरण आयोजनाको सिफारिशमा भएको सत्यतथ्य हामीसँग मजुद छ । त्यसो हुँदा आठ मिटरको औचित्य स्वतः समाप्त भएको बुझिन्छ । डिपिआर संशोधन गरेपछि यस सडकसँग जोडिएका आयोजनातर्फका जग्गाधनीहरूलाई चार मिटरको बाटो हुनेगरी जग्गा आफ्ना घडेरी प्लटहरू फिर्ता गर्ने काम भयो । साथै आयोजना र मध्यपुर ठिमी नगरपालिकाको तर्फबाट प्रक्रियागत रूपमा टेन्डर गरी सर्वसाधारणलाई बिक्रीसमेत गरियो ।
अब यो विषय रोचक यस मानेमा छ कि सर्वसाधारणले चार मिटरको बाटामा टेन्डर÷बोलकबोलमार्फत जग्गा खरिद गरी घर बनाउने प्रक्रिया पूरा गरी घरको नक्सा स्वीकृत गर्ने क्रममा त्यही मध्यपुर ठिमी नगरपालिकाले सर्वसाधारणलाई त्यो सडक आठ मिटरको भएकाले सो अनुसारको मापदण्ड पालना नभई नक्सा स्वीकृत गर्न सकिदैन भनी फर्काइदिएका उदाहरण धेरै छन् । एकातिर आयोजनासँग मिलेर चार मिटरको सडक उल्लेख गरी टेन्डरमार्फत जग्गा बिक्री बितरण गर्न मध्यपुर ठिमी नगरपालिका उद्यत् हुने अर्कोतर्फ सर्वसाधारणलाई सो सडक चार मिटर होइन आठ मिटर हो भन्न पछि नपर्ने । कस्तो दोधारे नीति अपनाएको हो नगरपालिकाले ?
यो सडक सबैभन्दा पुरानो हो र यस सडकबाट हिँड्डुल गर्नुपर्ने व्यक्तित्वहरू देशका भूपूप्रधानमन्त्री, निर्वाचन आयोगका आयुक्त, सरकारी निकायका उच्चपदाधिकारीहरू, समाजका अग्रणी व्यक्तित्व, डाक्टर, वकिल समाजसेवी सर्वसाधारण सबै छन् । बाहिरको कुरा नगरौँ आफ्नै देशभित्र पनि गाउँगाउँका सडक विस्तार र कालोपत्रे भइसके, खेतबारीमा जाने सडक कालोपत्रे भइसके तर यस सडकको स्तरोन्नति र कालोपत्रे गर्ने विषयमा न त वडा÷नगरपालिकाले चासो राख्छ न सडक विभागले कुनै काम गरेको छ । पिर मर्कामा परेका यस सडकका दायाँ बायाँका उपभोक्ताहरू कैयौंचोटी सम्बन्धित कार्यालयमा निवेदन टक्र्याउन पुग्छन् । उनीहरूलाई आस्वाशन सिवाय केही प्राप्त हुँदैन ।
सबै उपभोक्ताहरू आफ्नो देश र सरकारप्रतिको उत्तरदायित्व पूरा गरी घरजग्गाको कर समयमै तिर्ने काममा जहिल्यै अघि सर्छन् तर खोइ सरकारले आफ्नो दायित्व पूरा गरेको ? धुलो र हिलोले यो बाटो हिँडिसक्नु छैन । धुलोले मानिसहरू बिरामी परेका छन् भने वर्षायाममा बुढापाका मानिसहरू हिलोले गर्दा लडेर हातगोडा भाँचिएका उदाहरण छन् । स्थानीय सरकारको लापरबाही र अकर्मन्यताको परिणाम हो दुर्घटना । स्थानीय सरकार नाममा मात्र सीमित छ र वडा थपनामात्र भएको छ । सर्वसाधारणले सास्ती भोगिरहून् उहाँहरूलाई कुनै मतलब छैन । अभिभावकत्व स्थानीय सरकारको होइन र ?
हाम्रो माग भन्न पनि लाज लाग्छ हामीलाई किनभने यो कार्य सरकारको होइन र ? मनोहरा जग्गा एकीकरण आयोजनाको अध्यक्ष काठमाडौं महानगरपालिका र उपाध्यक्ष मध्यपुर ठिमी नगरपालिका भएको र दुवै निकाय जनप्रतिनिधिमूलक संस्था भएकोले हाम्रो पिरमर्काप्रति संवेदनशील भई विगतका जनप्रतिनिधिबिहीन अवस्थामा दुई निकायबीच प्रभावकारी समन्वयको कमी हुनगई सिर्जित असमझदारी र अन्तरद्वन्द्वका कारण समस्या उत्पन्न भयो ।
समस्या समाधान हुन अनुरोध गर्दै नेपाल सरकारको नीति बमोजिम शहरी क्षेत्रमा न्यूनतम ६ मिटर वा २० फिट बाटो हुनुपर्ने हुँदा मिति २०६५ वैशाख २९ को मन्त्रिस्तरीय निर्णयबाट संशोधित डिपिआर कायम गरिएको चार मिटरलाई बढाइ सडकको केन्द्रबिन्दुबाट दायाँबायाँतर्फबाट १/१ मिटर विस्तार गरी सडकका दुवैतर्फका जग्गा तथा घरधनीहरूको सहमतिसमेत भएकोले सो सडकको मापदण्ड ६ मिटर कायम हुन जग्गाधनी उपभोक्ताहरूको हस्ताक्षरसहित कागजात प्रमाणपत्रहरू सम्बन्धित कार्यालयहरूमा बुझाउँदा टेरपुछर नगरेको देख्दा अबको विकल्प अन्नशन बस्ने सिवाय उपभोक्ता सामु अरू केही रहेन । मनोहरा फाँट, लोकन्थली भक्तपुर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच