
काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको सार्वजनिक जग्गामा व्यापारिक समूह ‘विशाल ग्रुप’ले गरेको लामो समयदेखि रजाइँ गरिरहेको छ । बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा हत्याउन व्यापारिक घराना विशाल गु्रपले अनेक हत्कण्डा अपनाएको पाइएको छ । बाल संगठनका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रलोभनमा पारी समूहले सार्वजनिक जग्गा विसं २१३२ सम्म आफ्नो स्वामित्वमा ल्याउन गरेको हत्कण्डा भने असफल भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा हिनामिना प्रकरणमा संलग्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अब अनुसन्धानको दायरामा रहेकाहरू जुनसुकै बेला पनि पक्राउ पर्नसक्ने बाटो खुलेको छ ।
यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन । सिआइबीले संगठनका पूर्व-पदाधिकारीसहित जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा वैशाख २७ गते पक्राउ पुर्जी जारी रहेको थियो । संगठनकी तत्कालीन अध्यक्ष रिता सिंहको पालमा सार्वजनिक जग्गा हिनामिना गरिएको थियो । पछिल्लोपटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले नै बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म)का लागि बाल मन्दिरको जग्गा सुम्पिनुभएको थियो । थुप्रै बालबालिकाको आश्रयस्थल बालमन्दिर जस्तो पवित्र संस्थाको जग्गामा लामो समयदेखि व्यापारिक समूहले रजाइँ गरिरहेको छ ।
विद्यालयका नाममा जग्गामा बक्रदृष्टि
विशाल ग्रुपले सरकारी जग्गा हत्याउन विद्यालयलाई मोहरा बनाएको पाइएको छ । समूहले चलाखी गरेर बृहस्पति विद्या सदन र राई स्कुलको नाममा बाल मन्दिरको जग्गा हत्याउन खोजेको देखिएको हो । बृहस्पति र राई स्कुलको सेयर लागत हेर्दा विशाल गु्रपकै सदस्यहरूको नाममा बढी सेयर रकम भएको देखिन्छ । सुरुमा बृहस्पति विद्या सदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उहाँको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व छ । बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष/अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै रहेको सेयर तथ्यांकले देखाउँछ ।
२०६९ वैशाख ३ गतेसम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मिनुकुमारी जोशीसमेत पाँच जनाको लगानी थियो । त्यसपछि भने क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी भएको देखिन्छ । अहिले बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको पाइएको छ । २०७४ गतेदेखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई र ‘ग्रिनफिल्ड इंक प्रालि प्रवेश भएको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुनुहुन्छ भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकैै सदस्यहरू छन् । यसैगरी, २०७८ सम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, वसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् ।
विशाल ग्रुपको नाममा बहुमत बढी सेयर
बृहस्पति विद्या सदनको सेयर लागत विश्लेषण गर्दा ५८ प्रतिशत सेयर विशाल ग्रुप हातमा रहेको देखिन्छ । श्रद्धा संघाईको नाममा रहेको १५ प्रतिशत सेयरसमेत जोड्ने हो भने विशाल ग्रुपको ७३ प्रतिशत सेयर हुन्छ । बृहस्पतिमा विशाल ग्रुपका अनुजको नाममा तीन करोड ६१ लाख २३ हजार पाँच सयको सेयर रकम छ ।
यसैगरी, विशाल ग्रुपकै विशाल अग्रवालको नाममा दुई करोड ३६ लाख ७५ हजार, निकुञ्ज अग्रवालको नाममा दुई करोड ३६ लाख ७५ हजार र अर्पित अग्रवालको नाममा एक करोड १२ लाख १० हजार रुपैयाँको सेयर रकम रहेको छ । विशाल ग्रुपकै मातहत रहेको ग्रिनफिल्ड इंक प्रालिको नाममा ५० लाख १७ हजार सेयर रकम छ । कम्पनीमा धेरैजसो विशाल ग्रुपकै सदस्य छन् । जसमा अर्पित, विशाल, अनुज, निकुञ्ज, कविता संघई, श्रद्धा संघई र ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टको संयुक्त लगानी छ ।
यसैगरी, बाल मन्दिरमै खोलिएको अर्को राई स्कुलमा पनि विशाल ग्रुपकै सदस्यहरूको बढी लगानी छ । राई स्कुलमा विशाल ग्रुपका निर्देशक तथा सञ्चालक अनुजको नाममा ५० लाख ३६ हजार दुई सय, विशाल अग्रवालको नाममा ३३ लाख ६० हजार ६ सय, अर्पितको नाममा १६ लाख ८७ हजार र श्रद्धा संघाईको नाममा ७५ लाख ५५ हजार एक सय रुपैयाँको सेयर रकम सेयर लागतबाटै स्पष्ट देखिन्छ । यसैगरी श्रद्धा संघईको नाममा ७५ लाख ५५ हजार तथा ग्रिनफिल्ड इंक प्रालिको नाममा १० हजारको सेयर रकम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच