बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुईदिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएकोे छ । मस्को र बेइजिङबिचको सम्बन्ध प्रगाढ बनाउन उहाँ बिहीबार बिहान यहाँ आइपुग्नुभएको हो । राष्ट्रपतिको रूपमा नयाँ कार्यकाल प्रारम्भ गरेपछि पुटिनको यो पहिलो प्रतिकात्मक विदेश भ्रमण हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको उत्तर-पूर्वी खर्सिभ क्षेत्रमा रुसको आक्रमणका विरुद्ध आफ्नो सेनाले प्रतिरक्षा गरिरहेको बेला आगामी सबै अन्तर्राष्ट्रिय भ्रमणहरू रोक्ने घोषणाको केही घण्टापछि रुसी राष्ट्रपति पुटिन चीनको राजधानी बेइजिङ आइपुग्नुभएको हो ।
सिएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिङपिङ र रुसी राष्ट्रपति पुटिनको बैठकमा रुस-युक्रेन द्वन्द्व, गाजा युद्धको छलफलसँगै दुई देशबीचको व्यापार, सुरक्षा र ऊर्जा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
भ्रमण अगावै राष्ट्रपति पुटिनले चिनियाँ समाचार संस्था सिन्हृवासँगको अन्तर्वार्तामा दुई देशबिचको रणनीतिक साझेदारीको प्रशंसा गर्नुभएको थियो । उहाँले दुई देशबिच विदेश नीति समन्वयलाई सुदृढ पार्ने, उद्योग र उच्च प्रविधि, बाहृय अन्तरिक्ष र आणविक ऊर्जा, कृत्रिम बुद्धिमता, नवीकरणीय ऊर्जा र अन्य क्षेत्रको प्रयोगको सहकार्यलाई मजबुद बनाउने लक्ष्य राखेको बताउनुभयो ।
यसै क्रममा राष्ट्रपति पुटिनले चीनको युक्रेन संकट समाधान गर्ने दृष्टिकोणको पनि प्रशंसा गर्नुभएको थियो । दुवै नेताले रुस-युक्रेन द्वन्द्व सुरु भएदेखि नै आफ्नो देशको कूटनीतिक, व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउने पहल जारी राखेका छन् ।
भेटमा दुवै नेताले द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको रुसी क्रेमलिनले जनाएको छ । चिनियाँ समाचार एजेन्सीले वर्णन गरेअनुसार चीन र रुसले आफ्नो कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउँदैछन् ।
बेइजिङमा राष्ट्रपति सीसँगको भेटबाहेक पुटिनले रुसको सुदूरपूर्वको सिमानामा रहेको चीनको उत्तर-पूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिनको पनि भ्रमण गर्ने योजना रहेको स्रोतले बताएको छ । एएनआई/रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच