बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुईदिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबीच ‘सदाका लागि भाइचारा’ रहेको बताउनुभएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ र अन्तर-सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गर्नुभयो ।
‘यो कार्यक्रम कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई समर्पित छ । पचहत्तर वर्षअघि सिर्जना गरिएको त्यस समयको एउटा प्रसिद्ध गीत जुन प्रायजसो आजसम्म गाइन्छ । यसमा एक प्रसिद्ध पंक्ति छ : ‘रुसी र चिनियाँ सदाका लागि भाइहरू हुन्,’ पुटिनले भन्नुभयो ।
तासका अनुसार उहाँले रुस-चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ । ‘म विश्वस्त छु कि हामी सौहाद्र्रपूर्ण रुसी–चिनियाँ साझेदारीको भ्रातृ भावनालाई बलियो बनाउने पहल जारी राख्नेछौँ,’ रुसी राष्ट्रपतिले भन्नुभयो ।
राष्ट्रपति पुटिन चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुग्नुभएको थियो । रुसी राष्ट्रपतिले हार्बिनमा आठौँ रुसी-चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रुस-चीन फोरमको उद्घाटन गर्नुभएको थियो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच