काठमाडौं । मिडियाहरूको छाता संगठन मिडिया एलायन्स नेपालको एक प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । उक्त भेटमा टोलीले मिडिया हाउसहरूले अहिले सामना गरिरहेको आर्थिक संकटको अवस्थाबारे जानकारी दिँदै मिडिया उद्योगलाई बचाउन सरकारसँग केही सहुलियतको व्यवस्था गर्न आग्रह गरेका थिए । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मालाई भेटेर आफ्ना समस्या जानकारी गराएको टोलीले शुक्रबार अर्थमन्त्री पुनसँग भेट गरेर आफ्ना समस्या जानकारी गराएको थियो ।
मिडिया एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले बुझाएको पत्रमा भूकम्प, विनाशकारी महामारी एवं त्यसपछिको विश्वव्यापी आर्थिक संकटका कारण मिडिया उद्योग धराशायी अवस्थामा पुगेको बताइएको छ । सुस्त अर्थतन्त्रका कारण मिडिया उद्योगले भोगिरहेको संकटलाई समाधान गर्न सरकारको सहयोग नहुने हो भने मूल प्रवाहका व्यावसायिक मिडिया बन्द हुने अवस्थामा पुग्ने उल्लेख गरिएको छ ।
पत्रमा नेपालको सञ्चार क्षेत्रले राजनीतिक परिवर्तन एवं आर्थिक विकासका लागि राष्ट्र र जनताका पक्षमा निरन्तर गरेको योगदान र आगामी दिनमा खेल्न सक्ने भूमिकालाई उल्लेख गरिएको छ । साथै मूलप्रवाहका सञ्चारमाध्यम कमजोर हुँदा समाजमा गलत सूचना प्रवाह हुने, नागरिकहरू दिग्भ्रमित हुने र त्यसको प्रत्यक्ष असर राजनीतिदेखि सबै क्षेत्रमा पर्ने बताइएको छ । यही कारण सरकारले मिडियाका लागि तत्काल राहत र संरक्षणको पहल गर्नुपर्नेमा पत्रमा जोड दिइएको छ ।
अर्थमन्त्री पुनलाई बुझाइएको पत्रमा विज्ञापन, सहुलियतपूर्ण कर्जा र नियमन सम्बन्धमा सरकारलाई तत्काल केही व्यवस्था गर्न आग्रह गरिएको हो । बिमा कम्पनी, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रबाट हुने विज्ञापनको सीमा निर्धारण गरी निश्चित रकमभन्दा बढीको विज्ञापन गर्न नपाउने हालको व्यवस्था परिवर्तन गरी सञ्चार क्षेत्रमा जाने विज्ञापनमा सीमा हटाउने व्यवस्था गर्न आग्रह गरिएको छ । यस्तै आमसञ्चारमाध्यममा मदिराजन्य पदार्थको विज्ञापन गर्न अहिले रोक लगाएकोमा यसलाई पनि खुला गर्न माग गरिएको छ ।
पत्रमा सम्पूर्ण सरकारी विज्ञापन विज्ञापन बोर्डबाट विज्ञापन एजेन्सीमार्फत् जाने र विज्ञापनदाताले विज्ञापनको रकम भुक्तानी गर्दा सम्बन्धित सञ्चारमाध्यमको बिल अनिवार्यरूपमा संलग्न हुनुपर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।
अर्थमन्त्री पुनले मागपत्र बुझ्दै सुस्त अर्थतन्त्रका कारण अन्य उद्योगमा जस्तै मिडिया क्षेत्रमा पनि प्रभाव परेकाले सरकारले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले लोकतन्त्र स्थापनामा आमसञ्चारमाध्यमले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै सञ्चारमाध्यम जोगिएमात्र लोकतन्त्र बलियो हुनसक्ने भएकाले आगामी बजेटमा सञ्चार क्षेत्रको समस्या समाधान गर्न सकेसम्म व्यवस्था गर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच