![सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Court-order-to-keep-Sirohia-in-custody-for-three-more-days-Hita-fornt-page.jpg)
काठमाडौं । सहकारीको अर्बौं रकम अपचलनका विषयमा जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास फेरि असफल भएको छ । सहकारी प्रकरणबारे संसदीय छानविन समितिको कार्यादेश (टिओआर)बारे सहमति गर्न शुक्रबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक फेरि बिना निष्कर्ष सकिएको हो । प्रमुख तीन दलको बैठकमा टिओआरको भाषा के बनाउने ? भन्ने विषयमा सहमति जुट्न नसकेको हो । छानविन समिति बनाउन दलहरूबीच सहमति भए पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा सत्ता-प्रतिपक्ष दलबीच विवाद छ । सोही विषयमा दुवै पक्ष आ-आफ्नै अडानमा अडिग रहँदा शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
‘सहकारी छानविनसम्बन्धी समिति बनाउने कुरामा सहमत छ । टिओआरको भाषा के हुने ? भन्ने विषयमा पनि छलफल भयो,’ लेखकले भन्नुभयो, ‘छलफल सकारात्मक छ । व्यक्ति र सहकारीको नाम राख्नेभन्दा पनि उठेको विषयलाई सम्बोधन गर्नुपर्छ ।’
बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा र रमेश लेखक तथा माओवादी केन्द्रका नेता हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।
यसअघि सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानविन समितिको कार्यादेश बनाउन गठित कार्यदलको शुक्रबार नै बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो । समितिको कार्यादेशकै विषयमा कुरा नमिल्दा बैठक बिना निष्कर्ष सकिएको थियो । बैठक आज (शनिबार) फेरि बस्ने कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिनुभयो । गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उहाँ संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानविन हुनुपर्ने कांग्रेसको माग छ । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने मिडियामा प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गरेका छन् । २८ वैशाखदेखि बोलाइएको बजेट अधिवेशनको कार्यसूची संसदीय छानविन समितिको मागले प्रभावित हुँदै आएको छ । शुक्रबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको थियो ।
कानुनमन्त्री गिरी संयोजक रहेको कार्यदलमा नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की र रास्वपाबाट सांसद शिशिर खनाल सदस्य हुनुहुन्छ । गत शनिबार कार्यदल बनाउन शीर्ष नेताहरू सहमत भएका थिए । त्यसयता, पटक-पटक छलफलमा कार्यदल सदस्यहरू बसे पनि सहमति बन्न सकेको छैन ।
बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने
सहकारी पीडितहरूको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशनसमेत सुरु गरेका हुन् । सहकारीपीडित बचतकर्ताहरू संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशल केसीले सहकारी पीडितहरूको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । सरकारले दुईपटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उहाँको भनाइ छ । सरकारले सञ्चालकलाई कारबाही गरी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरूको रहेको उहाँले बताउनुभयो । सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने उहाँको भनाइ छ । पीडितहरूले ‘सहकारी पीडितलाई न्याय दे, हाम्रो बचत रकम फिर्ता गर्, बजेट भाषणमा हाम्रो माग सम्बोधन गर्, सहकारी सञ्चालकलाई तत्काल कारबाही गर’लगायत नारासमेत लगाएका थिए ।
गृहमन्त्रीको अभिव्यक्तिबारे सरकारको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएको हो । ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौँ भनेका छौँ,’ कांग्रेस नेता लेखकले बैठकपछि भन्नुभयो । शीर्ष नेताहरूको बैठकमा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे पनि छलफल भएको थियो । सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको नेता लेखकले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच