स्याङजा । भीरकोट नगरपालिका वडा नं ८ को ओकादी गाउँमा वि सं २०७५ सालमा स्थापित ओखतीपानी तमुनासा सामुदायिक होमस्टे प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले प्रशस्त सम्भावना भएर पनि विभिन्न कारणले ओझेलमा परेको छ । गुरुङ समुदायका करिब ५५ घर रहेको यस गाउँमा होमस्टे स्थापना भएपछि यहाँको रहनसहन फेरिएको छ भने आम्दानीको स्रोत पनि बढेको छ ।
बयरघारीबाट ९ किलोमिटरभित्र केही पक्की र केही कच्ची सडक हुँदै अत्यन्त रमणीय ओकादी गाउँ पुगिन्छ । यो गाउँमा अहिले ओखतीपानी तमुनासा होमस्टे खोलिएको छ । यहाँका ११ घरमा होमस्टे सञ्चालन गरिएपछि यहाँका मानिसहरुको जीवनशैलीमात्र फेरिएको छैन आम्दानीसमेत फेरिएको छ ।
ओकादी गाउँ हेर्दैमा रमणीय छ र यहाँ आउने हरेक मानिसले प्रकृतिको असीम सौन्दर्यको अनुभूति गर्न सक्छ । यहाँ भालेको डाँकसँगै सूर्यको किरण बस्तीका प्रत्येक घरघरमा पसिसक्छ । गाउँकै सिरानमा रहेको डाँडाबाट वरिपरिका सबै ठाउँका दृश्यलाई नजिकैबाट नियाल्न सकिन्छ । यहाँबाट नजिकका कास्की पर्वत गुल्मी लगायतका जिल्ला समेत देखिन्छन् । त्यसैले गाउँलेहरु यसलाई भ्यु टावर डाँडा भन्दा रहेछन् ।
ओखतीपानी तमुनासा होमस्टेकी अध्यक्ष मनमाया गुरुङ भन्नुहुन्छ, ‘यहाँ ११ घरमा होमस्टे राखिएको छ । अर्गानिक खानपान र गुरुङ संस्कृतिका विभिन्न गीत तथा नाचगानका कारण यो होमस्टेमा पाहुनाहरुले मनोरञ्जन लिन र संस्कृति सिक्न पाउँछन् । यहाँ देशका विभिन्न ठाउँबाट मात्र नभएर भारतका समेत पर्यटक आउँछन् ।
यो होमस्टे देसकै प्रसिद्ध सम्पदा स्वरेक मैदान र गडहरे गुफाको बिचमा अवस्थित भएकाले यसले दुवै ठाउँलाई जोड्ने पुलको काम गरिरहेको छ । यो गाउँको दक्षिणतिर प्याराग्लाइडिङका लागि चर्चित स्वरेक मैदान छ भने उत्तरमा एसियाकै महत्वपूर्ण र रहस्यमय गुफाको रुपमा रहेको गडहरे गुफा छ । प्याराग्लाइडिङको मजा लिन आउने पाहुनाहरु यहाँको होमस्टेमा एक रात बास बस्न आइपुग्छन् भने गडहरे गुफाको अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकका लागि पनि बिसाइ मार्ने थलो यही ओकादी गाउँ र यहाँको होमस्टे बनेको छ । यी दुई सम्पदालाई जोड्ने गरी सडक बनिसकेकाले होमस्टेमा आउने पाहुनाहरुको चाप पनि बढ्दो छ ।
यो गाउँमा परम्परागत कृषिका साथै व्यावसायिक कृषिसमेत छ । यहाँ गाईभैसी पालन तथा खेतीपाती पनि गरिएको छ । यहाँ स्वीस सानान जातका बाख्रा पालन समेत गरिएकाले पाहुनाले बाख्राको दुध, दही र मोही समेत खान पाउँछन् ।
यहाँ उत्पादित कोदो धान मकै र विभिन्न तरकारीबालीहरु अर्गानिक खानाका रुपमा यहाँ आउने पाहुनाहरुका लागि उपयोग गरिन्छ । यहाँ घरघरमा मौरीपालन छ । आफ्नै घरमा बनाइएको मह कोदोको रोटीसँग खान पाइने हुँदा यसबाट पाहुनाले मौलिकताको स्वाद चाख्न पाउँछन् ।
यहाँ समूहमा जाने पाहुनाहरुका लागि बेलुका दिदीबहिनीहरुले सालैजो भाकाले मनोरञ्जन प्रदान गर्दछन् । यहाँ ढिलो सालैजो र छिटो सालैजो गरी विभिन्न गीतहरु गाएर तथा सांस्कृतिक प्रस्तुतिहरुबाट पाहुनाहरुलाई मौलिक शैली दिने जमर्को गरिन्छ । दोहोरी जान्ने पाहुनाहरुका लागि पनि यहाँ घाँटी तन्काएर गाउने र कम्मर मर्काएर नाच्ने दुवै अवसर मिल्दछ ।
होमस्टेकी कोषाध्यक्ष टौमाया गुरुङ भन्नुहुन्छ, ‘बाटोको पहुँच पुगेकाले पाहुना आउने क्रम बढेको छ तर प्रचार प्रसार हुन नसकेर अलिकति ओझेलमा परेको छ । सम्भावना भएर पनि त्यही अनुसार अझै राम्रो हुन सकिरहेको छैन ।’
यहाँ धेरै पाहुना पोखरा बुटवल भैरहवा पाल्पा पर्वत जस्ता जिल्लाहरुबाट आउने गरेका छन् । यो गाउँमा अत्यन्त मिलेको इमानदार र सहयोगी गुरुङहरुको समाज छ । यहाँ आउने पाहुनाले पारिवारिक वातावरणमा आफ्नै घरजस्तो अनुभूति गर्न पाउँछन् । प्रकृतिको एकान्तको मजा लिन सक्छन् ।
यहाँ गाउँको बिचमा एउटा खानेपानीको कुवा जसलाई यहाँका मानिसहरुले पुस्तौंदेखि औषधियुक्त पानीका रुपमा उपयोग गरिरहेका छन् । यो कुवाको पानी अत्यन्त मिठो भएको र यो पानी पिउँदा थुप्रै रोगहरुसमेत निको भएको गाउँलेहरुको पुर्खौदेखिको विश्वास रहँदै आएको छ । यही विश्वासले प्रसिद्ध भएको ओखतीपानी कुवाको नामबाट यो होमस्टेको नाम ओखतीपानी तमुनासा होमस्टे राखिएको हो ।
जनशक्तिका दृष्टिले बसाइसराइको खासै प्रभाव नपरेको यो गाउँमा राज्यले अझै लगानी गर्ने र गाउँलेले त्यसको सदुपयोग गरेर होमस्टेलाई अझ बिस्तार गर्ने हो भने त्यसबाट यहाँका महत्वपूर्ण सम्पदाको संरक्षण हुनुका साथै भौतिक विकास र स्वरोजगारीमा समेत टेवा पुग्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच