काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहनुभएका बमबहादुर विकले विश्वको सर्वोच्च शिखर सगरमाथामा खानीखोला गाउँपालिकाको ब्यानर फहराउनुभएको छ । स्थायी घर रुकुम पश्चिम भएका विकले २०८१ जेठ ६ गते बिहान पाँच बजेर ५७ मिनेटमा सगरमाथामा पाइला टेक्नुभएको हो । खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहनुभएका उहाँले सगरमाथामा खानीखोला गाउँपालिका र सानोभेरी गाउँपालिका रुकुम पश्चिमको लोगो अंकित ब्यानर फहराउनुभयो । यससँगै उहाँले ‘यात्रीको यात्रा’ नामक ब्यानर पनि सगरमाथामा फहराउनुभएको छ । विकले यसअघिका र पछिल्लो यात्रालाई ‘यात्रीको यात्रा’ नाम दिनुभएको थियो ।
उहाँले यसअघि दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवा र अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो, किलर माउण्टेनका रूपमा परिचित मनास्लु हिमाल र लोबुचे पिकको समेत सफल आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोहणपछि विकले भन्नुभयो, ‘एकपटक फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगसँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा बनाउन कठिनपूर्ण ठूलो निर्णय लिएकोमा यसले सार्थकता पाएकोमा म आफैँ दंंग छु ।’ सगरमाथा आरोहणमा सहयोग गर्ने र हौसला प्रदान गर्ने सबैलाई उहाँ धन्यावादसमेत दिनुभएको छ ।
सगरमाथा आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी, वडाध्यक्षलगायत जनप्रतिनिधि र सहकर्मीप्रति पनि आभार प्रकट गर्नुभएको छ । संविधानले नै जातीयरूपमा छुवाछुत जघन्य अपराध स्वीकार गरेको परिपे्रक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिंग तथा समुदाय सबै समान हुन् भन्ने मूल सन्देशसहित साहसिक काममार्फत् रचनात्मक राष्ट्रव्यापी सन्देश दिन सगरमाथा आरोहण गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच