काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको दाबी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफलमा अर्थमन्त्री वर्षमान पुनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको उहाँले बताउनुभयो । ‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ,’ उहाँले भन्नुभयो । नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री पुनको भनाइ छ । निजी क्षेत्र र प्रमुख प्रतिपक्षले समेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । करका दर परिवर्तन गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।
सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको थियो । कुल बजेटमा ६१.३१ प्रतिशत (११ खर्ब ४० अर्ब ३५ करोड) विकास खर्च रहेको छ भने १८.९४ प्रतिशत (तीन खर्ब ५२ अर्ब) पुँजीगत खर्च र १९.७४ प्रतिशत (तीन खर्ब ६७ अर्ब १८ करोड) वित्तीय व्यवस्थापनतर्फ रहेको छ । बजेटले ६ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । मुद्रास्फीति ५.५ प्रतिशत रहने अर्थमन्त्रीकै अनुमान छ ।
पुनको अर्थमन्त्रीका रूपमा यो दोस्रो कार्यकाल हो । दुई दुईपटक अर्थमन्त्री भए पनि उहाँले संसद्मा बजेट पेस गर्न पाएको यो पहिलोपटक हो । यसमा पनि बजेट बनाउने क्रममा हतार र दबाब दुवै झेल्नुपरेको स्वयं उहाँले बताउनुभएको छ । रातभर बसेर बजेट निर्माण गरेको उहाँले सुनाउनुभयो । ‘एक रात म बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेँ । बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो,’ उहाँले भन्नुभयो, ‘हामी निकै दबाबमा थियौँ । चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन्/छैनन् । तर, हामीले यसपालि जनता, व्यवसायी, निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौँ ।’ आफू मात्र होइन सचिव र अन्य कर्मचारीहरू पनि त्यसैगरी खट्नुपरेको उहाँले सुनाउनुभयो । उहाँ मात्रै होइन अर्थसचिव मधुप्रसाद मरासिनीले पनि धेरै दबाबबीच पनि तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याइएको बताउनुभएको छ ।
रुग्ण उद्योग सहजै चलाउन नसकिने निष्कर्ष
सरकारले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहज रूपमा गर्न नसकिने निष्कर्ष निकालेको छ । अर्थमन्त्री पुनले रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो । रुग्ण अवस्थामा रहेका उद्योग चलाउन सरकारले नयाँ रणनीति लिने उहाँको भनाइ छ । सरकारले पछिल्ला आर्थिक वर्षमा रुग्ण उद्योग चलाउने घोषणा गर्दै आइरहेको छ । तर, घोषणामा नै सीमित यो योजना प्रत्येक सरकारले आफ्नो बजेटमा राख्दै आइरहेका छन् ।
कृषिमा पर्याप्त बजेट
अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताउनुभएको छ । मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको स्पष्ट पार्नुभयो । मलको परिमाण गत वर्षभन्दा बढी नै आयात हुने पर्याप्त आपूर्ति हुने उहाँको भनाइ छ । सरकारले बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि मन्त्रालयतर्फ ५७ अर्ब २९ करोड रुपैयाँ छुट्याएको छ । यो बजेट रकम चालु आर्थिक वर्षका लागि छुट्याएको भन्दा एक अर्ब ६९ करोड न्यून हो ।
स्पन्ज आइरनको महसुलमा विगतको विचलन सुधारेको दाबी
अर्थमन्त्री पुनले स्पन्ज आइरनमा भन्सार महसुल बढाएको विषयमा विचलन सुधारेको दाबी गर्नुभएको छ । विगतमा भएका विचलनलाई सुधार्दै महसुलमा फेरबदल गरिएको उहाँले बताउनुभयो । सबै उद्योगलाई संरक्षण गर्ने उद्देश्यले स्पन्ज आइरनको भन्सार महसुल १ प्रतिशतबाट २.५ प्रतिशत पुर्याइएको उहाँको भनाइ छ । ‘सबैकच्चा पदार्थ ल्याएर यही तयार गरिन्छ र यसमा कसलाई प्राथामिकता दिने भन्ने विषयमा कच्चा पदार्थलाई सबैभन्दा तल त्यसपछि स्पन्ज आइरन र त्यसपछि ब्लेडलाई राख्ने योजनाअनुसार हामीले कर हेरफेर गरेका हौँ,’ उहाँले भन्नुभयो ।
ठूला आयोजनालाई पर्याप्त बजेट
अर्थमन्त्री पुनले पुराना आयोजनामा पर्याप्त बजेट राखिएको बताउनुभएको छ । हरेक वर्ष नयाँ आयोजना ल्याउने र पुरानालाई बेवास्ता गर्ने परम्परा आफूले छोडेको अर्थमन्त्री पुनले दाबी गर्नुभयो । ‘बजेटमा हामीले नयाँ नयाँ योजना ल्याउने र पुराना छोडिदिने परम्परा तोड्यौँ । त्यसको अन्त्य गर्न हामीले जो छिटो पूरा हुने खालका छन्, ती आयोजनालाई पर्याप्त बजेट राखेका छौँ,’ उहाँले भन्नुभयो । पूर्व-पश्चिम महेन्द्र राजमार्ग विस्तार, काठमाडौं–तराई दु्रतमार्गजस्ता ठूला आयोजना समयमै सक्न पर्याप्त बजेट राखेको उहाँले दाबी गर्नुभयो । ‘पूर्व-पश्चिम हाइवेमा झण्डै ३० अर्बजति काम पूरा गर्नलाई राखेका छौँ । त्यही हाराहारीमा फास्ट ट्र्याकमा राखेका छौँ । त्यसैगरी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, उत्तरदक्षिण लोकमार्गमा पर्याप्त बजेट राखेका छौँ’, उहाँले भन्नुभयो ।
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’प्रति महिलामन्त्रीको असन्तुष्टि
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । बुधबार ललितपुरमा भएको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । तर, मन्त्री चौधरीले भन्नुभयो उक्त कार्यक्रमका लागि आफूले निरन्तर बढी बजेट विनियोजन गर्न आग्रह गरेको भए पनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।
दबाबबीच पनि सानो आकारको बजेट ल्यायौँ : अर्थसचिव मरासिनी
अर्थसचिव मधुप्रसाद मरासिनीले धेरै दबाबका बीच पनि तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याइएको बताउनुभएको छ । वित्त आयोगले दिएको सीमाको आधारमा अझै ऋण उठाउन सकिने आधार भए पनि सोभन्दा कम लिन लागिएको उहाँले दाबी गर्नुभयो । अर्थसचिव मरासिनीले अर्थतन्त्रमा उत्साह आएन भन्ने भाष्य चिर्नेगरी बजेटमा कार्यक्रम ल्याइएको दाबीसमेत गर्नुभयो । बजेटले आम जनताको आत्मविश्वास बढाउन सहयोग पुग्ने, निजी क्षेत्रलाई लगानीमा सहज हुने क्षेत्रका पूर्वाधारलाई प्राथमिकता दिइएको उहाँको दाबी छ ।
स्रोत अनुमान समितिकै सिलिङमा बजेट : गभर्नर अधिकारी
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा स्रोत अनुमान समितिकै सिलिङमा बजेट आएको बताउनुभएको छ । समितिले १८ खर्बको सिलिङ दिए पनि अर्थमन्त्री वर्षमान पुनले ६० अर्ब बढी बजेट ल्याएकामा पत्रकारको जिज्ञासाको जवाफ दिँदै सदस्य अधिकारीले समितिकै सिलिङमा बजेट आएको दाबी गर्नुभयो । ‘हामी माघ १५ मा बस्छौँ, सिलिङ सिफारिश गर्छौँ, त्यसपछि बजेट अगाडि त्यो बीचमा विकसित घटनाक्रम र अन्य अनुमानलाई ख्याल गर्दै पुनरवलोकन गर्ने कानुनी व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘यसरी गरिएको पुनरवलोकनमा हिजोको दिनमा जुन बजेट आएको छ, त्यो सिलिङभित्रै छ । त्यसकारण स्रोत अनुमान समितिले गरेको कामभन्दा बाहिर गयो कि भन्ने होइन ।’ केही सामान्य परिमार्जन भने भएको उहाँको भनाइ छ । वित्त आयोगको पछिल्लो सिफारिशमा पनि योजना फरक परेको उहाँले बताउनुभयो ।
बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । ‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’ नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले संघीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच