अक्षय तृतीयाको महिमा

Read Time = 14 mins

✍️ डा.नारायणप्रसाद निरौला

वैशाख शुक्ल तृतीयाका दिन अक्षयतृतीया पर्व पर्ने गर्दछ । ‘नास्ति क्षयो यस्य सः अक्षयः’ (शब्दकल्पद्रुम) अर्थात् कहिल्यै नाश नहुने अक्षय शब्दको अर्थ हुन्छ । अक्षय तृतीयाका दिन गरिएका कार्यको फल ।।

। अक्षय अर्थात् कहिल्यै नाश नहुने शास्त्रमा बताइएको छ । त्यसैले यस दिन शुभ पुण्य कार्य गर्नु उत्तम हुने गर्दछ । भविष्य पुराणमा सोमबार औँसी, आइतबार सप्तमी, मंगलबार चतुर्थी र बिहीबार अष्टमी तिथि परेको दिनलाई पनि अक्षया भनिएको छ । अर्थात् ‘अमा वै सोमवारेण रविवारेण सप्तमी । चतुर्थी भौमवारेण अक्षयादपि चाक्षया ।।’ अर्थात् यी तिथिसहितको बार परेको दिनलाई पनि अक्षया भनिन्छ ।
यसरी अक्षयतृतीया शुभकार्यका लागि उत्तम रहे पनि जुराएर गर्नुपर्ने विवाह, व्रतबन्ध भने जुरेका छैनन् भने गर्नुहुँदैन । उक्तदिन जुरेका छन् भने उत्तम रहन्छ अन्यथा विवाह व्रतबन्धको साइत नै भने हुँदैन । दान पुुण्यका कर्म शुभफलदायी रहन्छन् भन्ने प्रसङ्गमा यी कुरा आएका हुन् । कतिपय सन्दर्भमा विवाहको लग्न नजुरेको तर यही दिनको महिमालाई आधार मानेर विवाहादि कार्य गरेको पनि पाइन्छ जुन गलत अवधारण हो । काम्य कर्म र जुराएर तिथि, नक्षत्र, योग, लग्न नवमांश आदि नमिलेको गुरुशुक्र अस्त भएको समयमा यस्ता कार्य गर्नु हुँदैन । जलदान, सर्वत दानका कार्य यस दिन उत्तम मानिन्छन् ।

विशेषतः यस दिन शास्त्रले दानादि कार्यको विशेष फल बताएका छन् । सर्वत सहितको जलपात्र दान गर्नाले अक्षय पुण्य प्राप्त हुने गर्दछ । यसैगरी जौको सातु दान दिएर खानाले पनि अक्षय पुण्य प्राप्त हुने शास्त्रीय वचन छ ।

अक्षयतृतीया त्रेतायुगको आरम्भ भएको दिन पनि हो । ‘वैशाखशुक्लतृतीयायां चन्द्रे रोहिणीभे द्वितीयप्रहरे शोभनयोगे त्रेतोत्पत्तिः ।।’ (काशी विश्वनाथ पञ्चाङ्ग, २०७१, पृ.२) अर्थात् वैशाख शुक्ल तृतीया तिथि, रोहिणी नक्षत्रको द्वितीय प्रहर शोभनयोगमा त्रेता युगको आरम्भ भएको हो । जुन समयमा भगान् श्रीराम चन्द्रको अवतार भएको थियो । जुन समय आज भन्दा आठ लाख, चौसट्ठी हजार एक सय चौबीस वर्षभन्दा पूर्व एक्काईस लाख पैसट्ठीहजार एक सय अठार वर्ष पूर्वको समय हो । यो समयमा विश्वामित्र, भगीरथ, दिलिप, मकरध्वज, दशरथ, राम, लवकुशले राज्य गरेका थिए । भगवान् श्रीराम, परशुराम वामन को अवतार पनि यही त्रेतायुगमा नै भएको थियो । सत्य पछि त्रेता, त्रेतापछि द्वापर र द्वापर पछि कलि युगको पनि हाल ५१२४ (वि.सं.२०८०)औं वर्षमा हामी हिँडिरहेका छौँ ।

वैशाख शुक्ल तृतीयामा गरिएको दान अक्षय फलदायी हुन्छ भनी तिथ्यादि तत्त्वमा बताइएको छ : ‘वैशाखे मासि राजेन्द्र शुक्लपक्षे तृतीयका । अक्षया सातिथिः प्रोक्ता कृत्तिकाराहिणीयुता । तस्यां दानादिकं पुण्यमक्षयं समुदाहृतम् ।।’ अर्थात् कृत्तिका वा रोहिणी नक्षत्रयुक्त अक्षय तृतीयामा गरिएको दान अक्षय पुण्यफलदायी हुन्छ । विशेषतः यस दिन शास्त्रले दानादि कार्यको विशेष फल बताएका छन् । सर्वत सहितको जलपात्र दान गर्नाले अक्षय पुण्य प्राप्त हुने गर्दछ । यसैगरी जौको सातु दान दिएर खानाले पनि अक्षय पुण्य प्राप्त हुने शास्त्रीय वचन छ । ‘यत्किञ्चिद्दीयते दानं स्वाल्पं वा यदि वा बहु । तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।’ अर्थात् जो थोरै वस्तु दान गरे पनि त्यो अक्षय दान हुन्छ । अर्थात् त्यसको शत प्रतिशत फल भोग गर्न पाइन्छ ।

यसै प्रसङ्गमा भगवान् श्रीकृष्ण र सुदामाको प्रसङ्गको कथा छ । आफू गरिब भएका सुदामा धन माग्नका निमित्त एक दिन आफ्ना साथी श्रीकृष्णलाई भेट्न जान्छन् । त्यत्तिकै भेट्न जानु हँदैन भनेर आफूसँग भएको कनिका पोको पारेर कोसेली लैजान्छन् । जुन देखाउन र दिन सुदामालाई संकोच भए पनि त्यसको विकल्प उनीमा थिएन । त्यही भएर मित्र भेट्न कनिका कोसेली लिई भगवान् श्रीकृष्णको गोलोक धाम गए । भगवान् श्रीकृष्णसँग भेट भयो । सारा कुराकानी भए तर संकोचले सुदामाले आफूले ल्याएको कोसेली झिक्न सकेनन् । आफू धन माग्न आएको कुरा पनि खोलेनन् ।

भगवान् श्रीकृष्णले कासेली पक्कै छ भन्दै सुदामाको काखीमा देखेर माग्नुभयो । सुदामाले लाज मान्दै उक्त कनिकाको कोसेली दिए । भगवान् श्रीकृष्णले उक्त कोसेली मीठो मानी खानु भयो । अनि सुदामाजीलाई सोध्नु भयो कति कामले आउनु भएको । सुदामाले साथी भेट्न आएको कुरा बताए तर आफू गरिब भएर धन माग्न आएको भन्न सकेनन् । केही धन माग्न गएका सुदामा धनै नमागी आफ्नो घरतर्फ फर्किए तर घर फर्कँदा उनको घरमा सम्पन्नता आइसकेको थियो । घरका जाहान परिवार चिन्न नसक्ने भइसकेका थिए । सुदामा अचम्ममा परे र सोधे यो कसरी सम्भव भयोभन्दा सुदामा पत्नीले भनिन् यो सारा भगवान् श्रीकृष्णको अनुकम्पाले हो ।

त्यसपछि सुदामा छक्क पर्दै भगवान् श्रीकृष्णको स्तुति गर्न थाले । यसरी सुदामाले भगवान्सँग भटेको दिन पनि यही अक्षय तृतीया नै थियो । सोही दिनबाट सुदामाको दारिद्रय निवृत्ति भएको थियो । अर्थात् उक्त दिन गरेको पुण्यको प्रभावले गर्दा नै सम्पन्नता प्राप्त भएको हो । अर्थात् कनिका दानको प्रभाव सम्पन्नतामा परिणत भयो । त्यसैले पनि यस दिनको विशेष महिमा छ ।
अक्षय तृतीयाका दिन धर्मघट दान गर्नाले पनि अक्षय पुण्य प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।
‘एष धर्मघटो दत्तो ब्रहृमाविष्णुशिवात्मकः ।
अस्य प्रादानातृप्यन्तु पितरोऽपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् ।
पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।।’
ब्रहृमा, विष्णु र रुद्रात्मक धर्मघट दान गर्नाले पितृ, पितामहादि सम्पूर्ण पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मत रहेको छ । धर्मघट भनेको जल, तिल, फल, अन्नसहितको कुम्भ अर्थात् कलश हो । जसको दानले पितृले अक्षयतृप्ति प्राप्त गर्दछन् भन्ने शास्त्रीय वचन रहेको छ । यव अर्थात् जौ दान गर्नाले पनि अक्षय पुण्य प्राप्त हुन्छ ।
‘तस्यां कार्यो यवैर्होमो यवैर्विष्णुं समर्चयेत् ।
यवान् दद्यात् द्विजातिभ्यः प्रयतः प्राशयेद्यवान् ।।
पूजयेच्छङ्करं गङ्गां कैलासञ्च हिमालयम् ।
भगीरथञ्च नृपतिं सागराणां सुखावहम् ।।’
अर्थात् जौ को हवन, दान र प्राशन गर्नाले मानव जीवन सुखी हुन्छ भनी ब्रहृमपुराणमा बताइएको छ । यस दिन शरीरमा चन्दनादि लेपन गर्नाले पनि शुभ फल हुने बताइएको छ । अर्थात् भनौँ सौन्दर्य प्रसाधनका लागि पनि यो दिन उत्तम मानिएको छ ः ‘वैशाखस्य सिते पक्षे तृतीयाक्षयसंज्ञिता । तत्र मां लेपयेद्गन्धैर्लेपनैरतिशोभनै ।।’ अर्थात् यस दिनको चन्दनादि लेपनले शरीरमा पुष्टि प्राप्त हुन्छ भनी स्कन्दपुराणमा बताइएको छ ।

अक्षय तृतीयाका दिन जौको सातुसहित सर्वत खाने गरिन्छ । जसले शरीरलाई गर्मीसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । त्यसैले यस पर्वको वैज्ञानिक महत्त्व पनि रहेको पाइन्छ ।

अक्षय तृतीयासँग महाभारतको कथा पनि जोडिएको छ । अर्थात् पाण्डव वनवास गएका बेला द्रौपदीलाई भगवान् श्रीकृष्णले अक्षय पात्र दिनुभएको थियो । उक्त पाक थालीमा कामना अनुसारका वस्तु जति पनि प्राप्त हुन्थे । उक्त पाकथाली अर्थात् भाँडोमा आफू खानुपूर्व जति र जस्ता वस्तु पनि कामना अनुसार पाक्ने गर्दथे । एक दिन दुर्वासा ऋषि द्रौपदीले खाना खाइसकेपछि अतिथिको रूपमा पुग्छन् र आफू र आफ्ना सहचारी सबै भोकै रहेकाले खाना पकाउन आदेश दिँदै नुहाउन खोलातर्फ लाग्दछन् ।

द्रौपदीले खाना खाएपछि उक्त पाकथालीमा केवल बेलुकीमात्र भोजन प्राप्त हुन्थ्यो । द्रौपदीलाई आपत् पर्‍यो । उनले भगवन् श्रीकृष्णलाई स्मरण गरिन् । साक्षात् श्रीकृष्ण भगवान् पनि त्यही बेला त्यहँ आइपुग्नु भयो र आफू पनि भोकाएकाले केही खानेकुरा माग्नु भयो । द्रौपदी झनै संकटमा परिन् । श्रीकृष्ण भगवानले केही त होला लेऊ भन्दा आफूसँग केही नभएको, पाकथाली पनि बन्द भइसकेको र ऋषि भोजन गराउनु पर्ने बाध्यता रहेको कुरा बताइन् । भगवान् श्रीकृष्णले उक्त पाकथाली मगाउनु भयो । पाकथालीमा एउटा सागको त्यान्द्रो रहेछ । सोही खानु भयो र आफू तृप्त भएकाले त्यहँबाट हिँड्नु भयो ।

उता दुर्वासा आदि ऋषिहरू पनि स्नान गर्दागर्दै अघाएको महसुस गर्न थाले । यस्तो अवस्थामा पुनः भोजन गर्न नसकिने भन्दै द्रौपदीको वासस्थानतर्फ नगई अन्तै लागे । पछि उक्त कुरा द्रौपदीले थाह पाइन् । र, भगवान श्रीकृष्णको जय जयकार गरेकी थिइन् । उक्त दिन पनि यही अक्षय तृतीया नै रहेको थियो ।

अक्षय तृतीयाका दिन जौको सातुसहित सर्वत खाने गरिन्छ । जसले शरीरलाई गर्मीसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । त्यसैले यस पर्वको वैज्ञानिक महत्व पनि रहेको पाइन्छ । प्रातः स्नानपूर्वक नित्य कर्म सकी सर्वत र जौको सातु तयार गरी योग्य ब्राहृमणलाई संकल्पपूर्वक दान गरी आफूले पनि प्रसाद स्वरूप जौको सातु र सर्वत खाने चलन रहेको छ । जुन चलन त्रेतायुगदेखि नै चलेको पाइन्छ । यसरी जलपात्रसहित जौको सातु दान गर्नाले अक्षय पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । जौको सातु र सर्वत खाने सांस्कृतिक पर्वको गरिमालाई पनि यस दिनले उत्तकै रूपमा बहन गरेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?