रामजानकी मन्दिर सौन्दर्यकरणमा प्रयोग भएका सामग्री गुणस्तरहीन

एक वर्ष नवित्दै विग्रिदै भासिन थाले

कलैया उपमहानगरपालिका-१ रामजानकी मन्दिर स्थित पोखरीको डिलमा लगाइएको रेलिङ्ग तथा भासिएका सतह र ब्लकहरु ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । कलैया उपमहानगरपालिका-१ स्थित रामजानकी मन्दिरको सौन्दर्यकरणमा प्रयोग भएका सामग्रीहरु गुणस्तरहीन भएको कारण एक वर्ष नवित्दै विग्रिने र भासिने क्रम बढेको छ ।

कलैया उपमहानगरपालिकाको पर्यटकीय स्थलको रुपमा रहेको यो मन्दिरको सौन्दर्यकरणमा प्रयोग भएका सौन्दर्यका समानहरु गुणस्तरहीन रहेको आरोप लगाइएको छ ।

पोखरीको वरिपरि लगाइएका स्टीलका वारहरु आफै उब्कीने र पोखरीको डीलमा लगाइएका ब्लकहरु समेत भासिएको छ । हतार हतारमा ठेकेदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरि निर्माण गरेका स्टील बार मात्र होइन पोखरीको डिलमा लगाइएका ब्लकहरु भासिएको मन्दिरका पुजारी जंगीदास बाबाले आरोप लगाउनुभयो ।

२०८० साल जेठमा निर्माण सम्पन्न भएको पोखरीको सौन्दर्यकरणको कामको १ वर्ष नवित्दै विग्रीने बेल्डिङ्ग गरिएका जोडहरु टुट्ने सतहसमेत भासिने क्रम बढेको उहाँले बताउनुभयो ।

'एक वर्ष अगाडी मात्र मन्दिरको सौन्दर्यकरणको लागि पोखरीको डिलमा भर्‍याङ्ग निर्माण गरिएको थियो भर्‍याङ्ग निर्माण सँगै पोखरीको पूर्व पट्टि स्टीलवारहरु लगाइएको थियो,' उहाँले भन्नुभयो,‘लगाइएका स्टील वारहरु कम गुणस्तरको भएको कारण बेल्डिङ्ग गरिएका ठाउँहरुबाट उब्किने गरेको छ ।'

कुनै पनि निर्माण काम गर्दा सही र ठोस काम गर्नु पर्छ उहाँले भन्नुभयो,‘ठोस र सही काम भएको भए यो स्टीलबार पनि उब्कीने थिएन । जमिन र ब्लकहरुसमेत भासिएको अवस्था छ । कम गुणस्तर भएको र बेल्डिङ्गसमेत राम्ररी नगरिएको कारण स्टीलका बारहरु उब्किने ब्लक र जमीन समेत भासिने गरेको उहाँले बताउनुभयो ।

त्यति मात्र होइन पोखरीको डिलमा लगाइएका ब्लकहरु ठाउँ ठाउँमा भासिने गरेको उहाँँले बताउनुभयाे । सौन्दर्यकरणको नाममा मन्दिर र पोखरीलाई झन विगारिएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, 'पोखरी सुकिसकेको छ । पोखरी सुकेपछि बीच बीचमा परेको पानी जम्मा भएर गन्हाउने र बस्नै नसकिने वातावरण उत्पन्न भएको छ । हतार हतारमा गरिएको कामको परिणाम ६ महिना नवित्दै देखिन थालेको थियो र अहिले आएर त काम कस्तो भएको छ त्यो मैले भन्नु पर्दैन गरिएको कामले नै देखाइरहेको छ । ब्लकहरु उब्किने भासिने, स्टीलका बारहरु टुटने क्रम बढेको छ । यो मन्दिरको सौन्दर्यकरण गरिएको हो कि झन विगार्ने काम गरिएको हो अहिलेसम्म थाहा हुन सकेको छैन । जुन मन्दिर वरिपरि र पोखरीको डिलमा सयौ मानिसहरु दिनहुँ रमाउने गर्दथे अहिले त्यो मन्दिर छेउ कोही आउन पनि मान्दैन ।'

नगरपालिकाले सौन्दर्यकरणको नाममा भएका भौतिक संरचनासमेत विगार्ने काम मात्र गरेको उहाँले आरोप लगाउनुभयो ।

२०७९ सालमा बीरगंजका ओम निर्माण सेवाले रामजानकी मन्दिर नजिकै रहेको पोखरी र वरिपरिका ठाउँहरुको सौन्दर्यकरणको काम गरेको थियो । ५५ लाखको लागतमा रामजानकी मन्दिरको पोखरीको दक्षिण र पूर्व तर्फको डिल, भर्‍याङ्ग, रेलिङ्ग तथा सतहमा ब्लकहरु लगाइएको ओम निर्माण सेवाका ठेकेदार प्रशान्त गुप्ताले जानकारी दिनुभयो । निर्माण पछि एक वर्षको रिपयरिङ्ग पेरियड भएकोले आफूले नै फेरि त्यसको निर्माण गरिदिने उहाँले बताउनुभयो ।

रामजानकी मन्दिरको डिलमा लगाइएको रेलिङ्गका वारहरु टुटेको र सतह तथा ब्लकहरु भासिएको बारेमा आफूलाई कुनै जानकारी नभएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले बताउनुभयो । सौन्दर्यकरणका लागि लगाइएको वारहरु र भासिएका ब्लकहरुको मर्मत गरिने उहाँले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?