![जीवनदर्शन : सङ्घर्षको अन्तर्य](https://ehimalayatimes.com/wp-content/uploads/2023/09/Dr.-Narayan-Prasad-Niraula.jpg)
केही प्रायोगिक समस्या
लीलाको सम्बन्ध, धर्म, पुराण, ईश्वरीयता वा अध्यात्मसँग छ छैन भनेर वा एक अर्काबाट छुटाएर, आधुनिक अझ उत्तरआधुनिक लेखनको दाँजोमा ल्याई व्याख्या गर्ने, यो नितान्त आध्यात्मिक लेखन हो भनेर पुरानो परम्परावादी चिन्तनको पृष्ठपोषक हो भन्ने जस्ता चेष्टालाई खण्डन गरेपछि पनि लीला लेखन यही हो भन्ने स्पष्ट हुँदैन ।
यो पनि होइन त्यो पनि होइन भनेर निषेधको लेखन वा यो पनि हो त्यो पनि हो भनेर समर्थनको लेखन मान्दैमा पनि लीलाको वैचारिकता स्पष्ट हुने देखिँदैन । बरु यो लेखन पौरस्त्य वेदान्त, साङ्ख्य, बौद्ध, जैन जस्ता दर्शनको गहिरो प्रभाव परेको दार्शनिक लेखन हो भन्ने कुरालाई स्पष्ट पार्दै लैजाँदा लीला लेखनको दार्शनिक, वैचारिक र सैद्धान्तिक आधार बलियो हुने देखिन्छ ।
बौद्धिक र दार्शनिक लेखनको अपेक्षा राख्ने लीला लेखन पहिलेको र अहिलेको विचारलाई सँगसँगै अघि बढाउनसक्ने विचार भए पनि यसको प्रारूप पूर्वेली दर्शनमा नै प्राप्त गर्न सकिने कुरा सिद्धान्तमा खुलेर आउन जरुरी देखिन्छ ।
आज लीला शब्दबाट व्यञ्जित हुने अर्थ जे छ त्यो भन्दा फरक तात्पर्यमा लीलाको प्रयोग सैद्धान्तिक र प्रायोगिक क्षेत्रमा भइरहेको अवस्था पनि छ । प्रस्तावक इन्द्रबहादुर राईका प्रस्तावना लेखहरू र उनको कठपुतलीको मन कथा सङ्ग्रहमा प्रकट भएको लीला र उत्तरवर्ती लेखकहरूका लीलासँग सम्बन्धित किताबहरूमा प्रायोगिक भिन्नता आएको कुरा पनि चर्चामा आइसकेको छ । यस सन्दर्भमा प्रायोगिक भिन्नताको कारण सैद्धान्तिक बुझाइको कमी हो कि भनेर पनि हेर्ने हो कि ? अर्थहरूको चिप्लाइसँगै प्रयोग पनि चिप्लाइ मान्दा सैद्धान्तिक मियो खल्बलिएको लेखनमा पुगेर लीला लेखन अलमलिने खतरा पनि त्यत्तिकै देखिन्छ ।
तसर्थ सैद्धान्तिक मान्यताकै सेरोफेरोमा रहेर लीला लेखन गर्नुपर्ने र त्यस लेखनमा दार्शनिक पक्षलाई छोड्नै नहुने देखिन्छ । परम्परामुक्त लेखन र शैली वैविध्यमा लीला लेखनलाई मान्दा, आधुनिक, उत्तरआधुनिक र नवउत्तरआधुनिक लेखनमा गएर लीला लेखन मिसिने खतरा पनि बढ्दो छ । लीला लेखन बौद्धिक र दार्शनिक खालको हुनुपर्ने र पौरस्त्य दर्शनतर्फको सैद्धान्तिक आड लिनु पर्ने कुरा लीला प्रस्तावनाले सङ्केत गरेका कुरा हुन् । यीतर्फ लीला लेखकहरूको ध्यान जानु आवश्यक देखिएको छ ।
लीला लेखनको सिद्धान्त र प्रयोगसम्बन्धी शोधहरू भइरहेको परिप्रेक्ष्यमा केही सैद्धान्तिक अस्पष्टताहरूलाई मेटाउँदै जानुपर्ने खाँचो लीला लेखकहरूले पनि अनुभव गरिरहेको अवस्था छ । आ-आफ्नो ठाउँ र बुझाइबाट यसको व्याख्या र प्रयोग गर्दै जाने भन्दा पनि यसको सैद्धान्तिक आधार के हो भन्ने बारेमा केही सजगता पनि अपनाउनुपर्ने देखिन्छ । लीला लेखन अन्य विभिन्न पश्चिमेली मान्यताहरूको पनि समिश्रण भएको लेखन हो तापनि यसको बीजाधान पूर्वेली दर्शनहरूका चिन्तनबाट भएको कुरालाई प्रकाशमा ल्याउने र थप अध्ययन गर्दै लीला लेखनको सैद्धान्तिक अवधारणा स्पष्ट गर्दै जानु आवश्यक छ ।
सिद्धान्तको खास मान्यता पनि हुने र त्यसलाई प्रयोगमा कसरी ल्याउने भन्ने एउटा आधारभूत शैलीको पनि पहिचान हुन आवश्यक छ । सिद्धान्त र प्रयोग दुवैले नै कुनै विचार, दर्शन र चिन्तनलाई दरिलो बनाउन सक्छन् । बौद्धिक र दार्शनिक लेखनको अपेक्षा राख्ने लीला लेखन पहिलेको र अहिलेको विचारलाई सँगसँगै अघि बढाउन सक्ने विचार भए पनि यसको प्रारूप पूर्वेली दर्शनमा नै प्राप्त गर्न सकिने कुरा सिद्धान्तमा खुलेर आउन जरुरी देखिन्छ ।
लीला लेखकहरूका दृष्टिमा लीला के हो ?
‘कृष्ण सभामा पस्दा-मल्लानां...’ (भागवत १०/४३/१७) मा बताइन्छ, मल्लहरूले बज्रपुरुष देखे, स्त्रीहरूले मूर्तिमान् कामदेवदेखे, सामान्य मानिसहरूले नररत्न, गोपहरूले स्वजन, शास्ताहरूले दण्डकर्ता, वासुदेवले र देवकीले शिशु देखे, कंशले कराल मृत्यु ... । (भ्रान्तिहरू र लीलालेखन मात्र, पृ.१) । हाम्रा अग्रजहरूले धार्मिक उपदेश दिएका ग्रन्थहरू, कविताहरू, कृतिहरू लेख्नुभयो । हामी लाभान्वित भयौँ । लीलालेखन अत्यन्त पुरानो नाम, लीला त हामी कृष्णलीला बुझिरहेछौँ । ईश्वरले गरेका लीला त अघिदेखि नै जानेको । अब त्यसलाई अहिलेको समयमा ल्याउँदा उपयुक्त होला के ? त्यो जोडिएला ? त्यो समयसँग गाँसिएला के ? कि नटाँसिएला भुइँमा खस्ला त्यो ? लीलालाई लिएर आयौँ....। (इन्द्रबहादुर राई ) ।
‘थोरै समयमा धेरै कथा लेखियो कैले, ऐले धेरै समयमा थोरै थाह पाइने गराउनु पर्छ यतिले नै पनि । पाठकवर्गको समक्षमा आएको छ । सङ्कलन लीलालेखनतिर छ ।’ (राई, कठपुतलीको मन) । ‘सम्पूर्णताको एकरूप र निकै साँचो रूप त लीला रहेछ ।’ ‘जब कुनै थोक अरू नै थोक हुन्छ भने त्यो लीला भयो ।” एउटै थोकको आफ्नो-आफ्नो भिन्न बुझाइलाई लीला भन्नुबाहेक अरू उपयुक्त शब्द के होला ? मानिस विचारमा, भावनामा, व्यवहारमा, मूल, भ्रान्ति, पूर्वाग्रह, स्वार्थ नदेख्ने को छ ? लीलालेखनमा यै प्रश्न छ, मूल भ्रान्ति, पूर्वाग्रह किन छन् ? उत्तर पाउँछ । आत्मपरकतापूर्वक बाँच्नुपर्ने बाध्यता । (कृष्ण धरावासीको राईसँगको अन्तर्वार्ता,) । पश्चिममा चलेर आएको विनिर्माणवादको नजिकमा रहेको लीलालेखनले पाठकलाई सबैभन्दा स्वतन्त्र र मुक्त राखेको छ ।’
‘लीलालेखनमा कृतिलाई र लेखकलाई गौण बनाएर प्रकृतिले आफैँ उत्पन्न गरेको, वस्तुलाई मानिसले आफ्नो इच्छाअनुसार उपभोग गरेकै कृतिलाई मिथकीकरणले एक ठाउँमा मिसाएर प्रतिक्रिया गर्दा जुन साहित्यिक आस्वादन प्राप्त हुन्छ त्यसले एउटा लीलाको आभाष दिलाउँछ ।’ ‘लीलालेखनमा शब्दहरूको विचलन गरिएको छ ।’ ‘लीलालेखनको अर्को सबैभन्दा मूल विशेषता नै अर्थहरूको विचलन हो ।’ अर्थहरूको विचलनले नै वास्तवमा लेखनलाई लीलामय बनाएको हो ।’ (धरावासी) । लीलालेखन भनेको अप्ठ्यारो लेखनको प्रयोग होइन । आ-आफ्नो लेखनशैलीबाट पनि लीलालेखन गर्न सकिन्छ भन्ने यो एक प्रयत्न पनि हो । (धरावासी शरणार्थी ) । ‘नेपाली साहित्यमा उत्तरआधुनिकताले लीलालेखनको ढोका घर्याक्क उघारेर भित्र पसेको देखिन्छ औपचारिक रूपमा” (धरावासी) ।
‘लीलालेखन पश्चिमी विनिर्माणवादी साहित्यिक सिद्धान्तको नेपाली संस्करण नभई पूर्वीय साहित्यमा हज्जारौं वर्षदेखि गाडधनका रूपमा सुरक्षित रहेको ज्ञानतत्त्वको साहित्यिक प्रयोग हो । यसमा प्रस्तुतिको मौलिकता र चेतनामा आधुनिकताको प्रक्षेपणले यो सम्पन्न छ ।’ (धरावासी) । एउटा लेखनको लेखनी समातिएको छ ‘लीलालेखन‘ । त्यसभित्र अटाउन विशाल सम्भावित लेखनहरूलाई प्रशस्त ठाउँ छ, नाइँ र धेरै भयो अटाउन पाइन यथावत् नकारात्मकतालाई सकारात्मक बनाई समेट्ने ठाउँ भेट्टाइएको छ । त्यसैभित्र रमाएर सम्भावनाका प्रशस्त ठाउँहरू जीवनलाई जीवनजस्तै लेख्ने प्रयास यस लीलालेखनको जागिर समाइएको छ ।
अब लीलालेखनबाटै जीवनलाई बुझ्ने र साहित्य लेख्ने ।’ (कृष्ण बराल) । अर्थ फ्याँकेर भ्रान्तिबोधसम्मको खुड्किलो चढ्दै गरेको लीलालेखन भ्रान्तिहरूभित्रबाटै पाठकलाई एउटा नितान्त, शाश्वत अवस्थाको बोध गराइरहेको बुझिएको छ । (विष्णुकुमार भट्टराई) । ‘लीलालेखन बौद्धिकमात्र पनि होइन आनुभविक पनि हो ।’ ‘लीलालेखन नयाँ विचारमात्र दिँदैन पराना विचारलाई पनि उत्तिकै सुन्छ ।’ ‘वास्तवमा लीलाबोधी जीवन बाँचिँदै पाइन्छ । लीलालेखन सामग्री, लीलालेखन विधि र लीलालेखनको सिद्धान्तीय परिवर्तन ।’ (विष्णुकुमार भट्टराई)प्रशस्तै खेल्ने ठाउँ दिएको छ लीलालेखनले जतै जे पनि अटाएको । जति झिक्दा हुने, जति अटाउँदा हुने ।
लीलालेखन सैद्धान्तिक हो, वा होइन भन्ने प्रश्न नउठ्नुपर्ने हो । अब यसको आवश्यकता छैन भन्ने लाग्छ । लीलालेखन स्वयम् सैद्धान्तिक लेखन हो भन्न हच्किने केही विद्वान्हरू पनि देखिएका छैनन् । उत्तरआधुनिकतावादभित्र पर्ने डेरिडाको विनिर्माणवादको नेपाली संस्करण मान्ने हो भने पनि लीलालाई सैद्धान्तिक लेखन नै मान्नुपर्ने हुन्छ ।
एउटा विश्वास छ, यसमा जसमा भौतिकीहरू तत्व निरूपण गर्न आउँछन्, आध्यात्मिकहरू चिन्तन गर्न पस्छन् । सार्वकालिक सार्वभौम विचारलाई किन नलिने ? लीलालेखनतिर नयाँ पुस्ता आकर्षित छौं । लीलालेखनमा रहेको परिवर्तनशील धारणा र विचारसँग हामी हिँड्न सक्नु आजको आवश्यकता बन्दै छ साहित्य लेखनमा । ‘लीलालेखनका कोही विरोधी हुँदैनन् । तर कुनै पनि कुराको तात्कालीन प्रतिक्रिया रिसमा क्रोधमा गरिन्छ,लाई सायद हामी विरोध संज्ञा दिन्छौँ ।’ ‘लीलाज्ञानलाई लेख्न हामीले प्रशस्त प्रयत्न ग¥यौँ । चलिआएको तौरमा पनि लेखिएका छन् र त्यसभन्दा फरक तौरमा पनि लेखनका परिपाटी पनि सिकिएका छन् । लेखनबाट लीलाज्ञान दिइएको छ । (रत्नमणि नेपाल) ।
हाम्रोमा कुनै पनि लेखक कुनै न कुनै वाद वा प्रविधिमा बाँधिएको हुन्छ भन्ने नजरले हेर्ने चलन छ । अहिले लीलालेखनका बारेमा बजारिया राम्रा नराम्रा सरुवा हल्लाहरू प्रशस्त मात्रामा छन् । हतारमा बुझ्नै नसक्ने र बुझेको ठान्नेसम्महरूले लीलालेखनलाई बुझाइनुसार नै टिप्पणी गरेका छन् । तर तिनलाई लीलामय गराउन जटिलता थपिएको नजरले नहेरेर तिनतिनमै लीलामय भएको अनुभव गर्नसक्ने हो भने समस्याको समाधान भइ नै हाल्छ । वस्तुको यथार्थलाई लीला भ्रमबाट हेरिएन भने बुझाइ अपुरो हुन्छ भन्ने कुरामा दुईमत छैन । (शिव प्रणत) माथि उल्लेख भएबाहेक पनि अब लीलालेखनमा लेखकको संख्या बढ्दै गएको देखिन्छ दीनबन्धु शर्मा, रश्मिशेखर सुवेदी, कुमार भट्टराई, दुर्गा विनय, लक्ष्मी उप्रेती, नारायण चालिसे आदि लेखकहरू पनि लीला प्रयोगको पक्षमा कलम चलाउँदै गरेको पाइन्छ ।
सैद्धान्तिकताको प्रश्न
लीलालेखन सैद्धान्तिक हो, वा होइन भन्ने प्रश्न नउठ्नुपर्ने हो । अब यसको आवश्यकता छैन भन्ने लाग्छ । लीलालेखन स्वयम् सैद्धान्तिक लेखन हो भन्न हच्किने केही विद्वान्हरू पनि देखिएका छैनन् । उत्तरआधुनिकतावादभित्र पर्ने डेरिडाको विनिर्माणवादको नेपाली संस्करण मान्ने हो भने पनि लीलालाई सैद्धान्तिक लेखन नै मान्नुपर्ने हुन्छ । लीला नमान्नु छुट्टै हो, सिद्धान्त नमान्नु अलि फरक कुरा हो । तीन दशकको बौद्धिक अभ्यासले लीलालेखनलाई अब सिद्धान्तमा स्थापित गरिसकेको र आधिकारिक संस्था र विद्वान्हरूबाट यसबारेमा आधिकारिक अभिव्यक्ति आइसकेको परिप्रेक्ष्यमा केही थप भनाइहरू यसरी प्रकट गरिएको छ ।
प्रवेश खण्डमा लीलालेखनका बारेमा अभिव्यक्त विचारहरूलाई वर्गीकरण गरेर हेर्दा यसबारे केही आवश्यक कुराहरू सार्वजनिक भए झैँ लाग्छ । एउटा सस्यानो आन्दोलनबारे यति लामो समयसम्म यति गम्भीर चर्चा नहुन सक्छ । यसको अबको लेखनलाई धेरै सहज पारेको छ । लीलालेखन एक-दुईजना लेखकको भनाइजस्तो हलुको र वैचारिक आन्दोलनमात्र अवश्य होइन । नेपाली साहित्यमा लीलालेखनलाई आन्दोलन नमानेर यो एउटा प्रविधिगत लेखन सिद्धान्त भन्ने स्पष्ट गर्ने केही आधारहरू छन् । लीलालेखन सिद्धान्त हो भन्नेबारेमा पनि केही विद्वान्हरूका धारणा प्रमाण आएका छन् । दीर्घकालदेखिको लेखनमान्यतालाई व्यक्तिमाथि आग्रह राखेर मूल्याङ्कन गरिनु निश्चय पनि राम्रो होइन । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच