आजदेखि उपत्यकावासीको घरमा पुनः मेलम्चीको पानी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भोलिदेखि मेलम्चीको पानी धारा-धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकावासीलाई वितरण गर्न लागिएको हो । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान साढे ८ बजेदेखि पानी धारा धारामा पठाइनेछ । ‘अहिले ट्यांकीमा पानी आइरहेको छ । बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ’, उहाँले भन्नुभयो ।

केयुकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढी-पहिरोले आयोजनाको हेडवक्र्स, बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । हाल उपत्यकाका सबैजसो क्षेत्रमा मेलम्चीको पाइप बिछ्याइसकिएको छ  । ठाउँ-ठाउँमा ट्यांकी निर्माण भएका छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा देखाउनुभएको थियो, मेलम्चीको सपना । भट्टराईले निर्वाचनका बेला मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गर्नुभएको थियो । त्यसको २९-३० वर्षपछि त्यसले साकार रूप लिएको हो ।

लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो । त्यस्तै, २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसपछि २०५७ मा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो । आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?