काठमाडौं । आइसिसी टी-२० विश्वकप आज (आइतबार)देखि सुरु हुँदैछ । जुन २९ सम्म चल्ने टी-२० विश्वकपमा २० देश सहभागी हुँदैछन् । विश्वकपमा आयोजक अमेरिका र वेष्ट इण्डिजसहित भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्युजील्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, पिएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदैछन् ।
इंग्ल्याण्ड टी-२० विश्वकपको डिफेण्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इंग्ल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रोपटक उपाधि जितेको थियो । टी-२० विश्वकपको यो नवौँ सिजन हो । यसअघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इंग्ल्याण्ड र वेष्ट इण्डिजले दुई/दुई पटक जितेका छन् । इंग्ल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेष्ट इण्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो ।
त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक-एक पटक टी-२० विश्वकप जितेका छन् । भारतले टी-२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो ।
त्यस्तै, टेस्ट खेल्ने प्रमुख राष्ट्र न्युजील्याण्ड र दक्षिण अफ्रिकाजस्ता देशले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन् ।
न्युजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै, आयरल्याण्ड र बंगलादेश एक/एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्ड्स एकपटक सुपर १२ मा, अफगानिस्तान एकपटक सुपर १० सम्म पुगेका छन् । त्यस्तै, जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक/एक पटक सुपर १२ सम्म पुगेका छन् ।
विश्वकपमा सहभागी जुनसुकै टोली पनि च्याम्पियन बन्न सक्छन् तर भारत, पाकिस्तान, इंग्ल्याण्ड र अष्ट्रेलियालाई यसपटक ट्रफी जित्ने सबैभन्दा ठूलो दावेदार मानिएको छ । त्यस्तै, नेपालले भने १० वर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर दुई खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रन रेटका आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्ड्ससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
उत्कृष्ट क्रिकेट खेलेर समर्थकलाई गौरवान्वित बनाउने प्रयास गर्छौं : रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा आफूहरूले उत्कृष्ट क्रिकेट खेलेर समर्थकलाई गर्व महसुस गराउने बताउनुभएको छ । शुक्रबार डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासका क्रममा कप्तान रोहित पौडेलले नेपाली टिम विश्वकपका लागि तयार रहेको बताउनुभएको हो । ‘अमेरिकामा आएपछि धेरै समर्थकहरूसँग कुरा गरेँ । हामीभन्दा बढी तयार समर्थकहरू छन्,’ उहाँले भन्नुभयो, ‘हामी उहाँहरूलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गर्छाैं ।’
विश्वकप खेल्न एकदमै उत्साहित भएको उहाँले बताउनुभयो । ‘विश्वकप भनेको सहज होइन । यहाँ कुनै पनि कमजोर टोली आउँदैन । विश्वलाई हाम्रो क्षमता देखाउन सक्ने अवसर पनि यही नै हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच