म्याग्दी । आज जुन ३ अर्थात् ७४ औं अन्नपूर्ण हिमाल आरोहण दिवस । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लाशनालले संसारमै पहिलोपटक आठ हजार मिटरभन्दा माथिको अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको दिन । त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ३ जुनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिएको छ ।
अन्नपूर्ण हिमालकै नामबाट नामाकरण गरिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोल भित्र पर्ने अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर छ ।
अन्नपूर्ण प्रथम विश्वका आठ हजार मिटरमाथिका १४ हिमालमध्ये १०औँ स्थानमा रहेको छ । सन् १९५० मा हर्जोग र लाशनालले आठ हजारमाथिका हिमालको पहिलो सफल आरोहणको कीर्तिमान राखेकोले अन्नपूर्ण प्रथमलाई ‘जेठो हिमाल’ पनि भनिन्छ ।
पोखराका पर्यटन व्यवसायी रामचन्द्र अधिकारीका अनुसार अन्नपूर्ण पाकिस्तानदेखि भारत, नेपाल भूटान हुँदै पूर्वोत्तर भारतसम्म फैलिएको हिमालय श्रृङ्खलाको मध्यनेपालमा पर्ने हिमश्रृङ्खला हो ।
नेपालमा हिमाल आरोहण एवम् पर्यटन गतिविधिको सूत्रपात नै अन्नपूर्ण प्रथमको आरोहणपछि सन् १९५० को दशकबाट भएको पर्यटन व्यवसायी अधिकारीको भनाइ छ ।
सन् २०५१ मा नेपालमा प्रजातन्त्रको स्थापनापछि औपचारिकरुपमा विदेशी पर्यटकको आगमन खुला गरिएको थियो । सन् १९५३ मे २९ का दिन बिहान ११ः३० बजे तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि नेपालको पर्वतीय पर्यटन विश्वभरी चर्चित भएको थियो ।
तेन्जिङ र एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्नुभन्दा तीन वर्ष पहिला नै सन् १९५० मा अन्नपूर्ण प्रथममा पहिलो पाइला टेक्ने मोरिस हेर्जोग र लुई लाशनालको समूहले धौलागिरी हिमालको परिक्रमा गर्दै निलगिरीको फेदी भएर म्याग्दीस्थित अन्नपूर्णको उत्तरी आधार शिविरबाट आरोहण गरेको ट्रेकिङ एजेन्सिज एसोसियसन (टान)को अभिलेख रहेको छ ।
आठ हजार मिटरमाथिको कीर्तिमानी आरोहणको एक वर्षपछि नै हेर्जोगले अन्नपूर्ण आरोहणको नालिबेलीसहित अन्नपूर्णमा पहिलो पाइला नामक पुस्तक लेखेका थिए । अर्को वर्ष अङ्ग्रेजी संस्करण पनि निस्केपछि उक्त पुस्तक २० करोड प्रति विक्री भएको पर्यटन व्यवसायीहरु बताउछन् । पर्यटन व्यवसायी अधिकारीका अनुसार उक्त पुस्तकले विश्वमा तहल्कै मच्चाएको थियो । अन्नपूर्ण आज पनि धेरै भाषामा प्रकाशित र धेरै बिक्री हुने पुस्तकमध्ये गनिन्छ ।
सन् १९५० पछि २० मे १९७० मा बेलायती आरोही दलका एम.डब्लु. हेनरी र गेरी एफ. ओवेन्सले दक्षिणी मोहडाबाट र त्यसको सात दिनपछि २७ मेमा बेलायतकै आरोही डोनल्ड विलियन्स र डोउगल हास्टनले उत्तरी मोहडाबाट अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए । अन्नपूर्णको शिखरमा पहिलो नेपाली पाइला चाहिँ सोनाम ओलाङ शेर्पाले टेकेका थिए । शेर्पाले १३ अक्टोबर १९७७ मा नेदरल्याण्ड्सका आरोही म्याथ्यु एच. जे. भानसँगै अन्नपूर्ण शिखरको आरोहण गरेका थिए । हर्जोगले अन्नपूर्ण प्रथमको पहिलो आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिनसम्म राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्ण प्रथम आरोहणका लागि अप्ठ्यारो हिमाल मानिन्छ । अन्नपूर्ण हिमाल आरोहणका लागि हर्जोगको टोलीले दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको बताइन्छ ।
सन् १९१९ जनवरी १५ मा फ्रान्सको लियोन शहरमा जन्मिनुभएका हर्जोग अन्नपूर्ण हिमाल आरोहणकै क्रममा दुबै हात र खुट्टा हिउँले खाइदिए पछि निकै कष्टकर जीवन बाँच्न बाध्य भए । भारतको नयाँ दिल्ली र आफ्नै जन्मथलो फ्रान्समा समेत राम्रो उपचार हुन नसकेपछि अमेरिकामा पुगेर कृतिम हातखुट्टा राखेका हर्जोगको ९३ वर्षको उमेरमा सन् २०१२ डिसेम्बर १३ तारिकका दिन मृत्यु भयो ।
विसं २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य सार्वजनिक भएपछि पदमार्ग पहिचान गरी उक्त पदमार्गलाई ‘मौरिस हर्जेग’ पदमार्ग नामाकरण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनु भयो । त्यसैगरी २०७७ सालमा अन्नपूर्ण हिमालको प्रवेश विन्दु मानिने म्याग्दीको नारच्याङमा अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पर्यटन महोत्सव सम्पन्न भएको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले अन्नपूर्ण हिमाल आरोहणको ७४ वर्ष पुगेको अवसरमा अहिले प्रथम आरोही हर्जेगको सालिक बनाएर अन्नपूर्ण आधार शिविरमा राख्न लागिएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच