![गृहमन्त्रीलाई कांग्रेसको चुनौती](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/House-of-Representatives-hita-fornt-page-samsad.jpg)
संयुक्त राष्ट्र संघको आहृवानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा मनाउँदै आइएको छ । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।
पृथ्वी र प्रकृति सबैको साझा हो भने मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अंग हो । यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो । स्वस्थ एवं स्वच्छ वातावरण सिर्जना गर्न प्रण गर्ने दिन पनि हो । हाम्रो अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै पृथ्वी र प्रकृतिले धान्न सक्ने क्षमता कायम राख्दै यिनीहरूलाई पुस्तागत हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो । नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । नेपाल सरकारले सन्तुलित, दिगो, तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।
जनसंख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा बन, जैविक विविधता, प्रकृतिको विनाश, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याहरूले प्रकृतिको स्वाभाविक चक्रलाई अवरुद्ध गरेको छ । स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति एवं प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध एवं एकताबद्ध हुनु आवश्यक छ । दिगो विकास र वातावरण संरक्षण, संबद्र्धन तथा व्यवस्थापन गर्ने दिशामा योजना तथा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिबद्ध रहनुपर्छ । विश्व वातावरण दिवस, २०८१ को अवसरमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन आवश्यक छ ।
पृथ्वी ८० लाख बोटबिरुवा र पशु प्रजातिहरूको साझा घर हो भने जैविक विविधताको जलमाथि, जलमुनिका सबै जीवनको अस्तित्व हो । जैविक विविधताले पृथ्वीको स्थलीय, पानी र समुद्री विभिन्न प्रजातिका प्रकार, भिन्नता, अन्तरसम्बन्ध साथै उनीहरूको वासस्थानसमेतलाई जनाउँछ । पृथ्वीमा सबै प्राणी र जीवजन्तुको जीवनका लागि मात्र नभई मानव समाजलाई फष्टाउन आवश्यक पर्यायवरणीय वस्तु तथा सेवाहरूका लागि जैविक विविधताको विशेष महत्व छ । जैविक विविधताले हामीलाई खाना, पानी, संशाधनका साथै जलवायु नियन्त्रण, परागण, प्रकोप निवारण र यी परिचक्रलाई चलायमान बनाउँछ । यस परिचक्रको एउटा तत्व हटाउँदा सम्पूर्ण जीवन प्रणालीलाई असर गर्छ र नकारात्मक परिणाम उत्पन्न गर्न सक्ने हुँदा प्रत्येक जीवको जीवन सन्तुलन कायम राख्न अतिआवश्यक छ ।
वन विनाश, वन्यजन्तुको आवासमा अतिक्रमण, तीव्र कृषि, जलवायु परिवर्तनलगायत मानवीय कार्यहरूले प्रकृतिमाथि ज्यादतीको सीमा नाघेको छ, जसको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । जैविक विविधता नष्ट गर्दै गर्दा हामीले मानव जीवनलाई समर्थन गर्ने प्रणालीसमेतलाई नष्ट गर्दै छौं । विगत ५० वर्षमा करिब ६० प्रतिशत वन्यजन्तुको संख्या घटेको र संक्रामक रोगयुक्त जीवाणु, जनावरबाट मान्छेमा सर्ने क्रम चार गुणाले बढेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । यूएनईपीकै भनाइ उद्र्धृत गर्ने हो भने हाल हामी जीवनको नाजुक अवस्थाको सामना गरिरहेका छौं । प्रकृतिले हामी मानव जाति नै विनाशको संघारमा रहेको संकेत गर्दै छ भने झण्डै १० लाख जनावर र बोट प्रजातिहरू संसारबाट चाँडै लोप हुने अवस्थामा छन् ।
हामी प्रकृतिसँग यति नजिककसँग जोडिएका छौं कि प्रकृतिविना हाम्रो अस्तित्वको कल्पनासम्म गर्न सकिँदैन वा भनौं (मानवजाति) विना पनि प्रकृति (अझ सुन्दर तरिकाले) चल्न सक्छ तर प्रकृतिविना हामी चल्न असम्भव छ । प्रकृति आफैंमा एउटा व्यापक शब्द हो । यसभित्र जीवनको मूल शान्ति छ भने ज्वालारूपी भयंकर क्रोध पनि यसमै समाहित छ । प्रकृतिमै जीवन अनि प्रकृतिमै समाधि छ । प्रकृतिका लागि समय दिनुभनेको आफूलाई तनावमुक्त, शान्त, सुखी, स्वस्थ आदि राख्नु त छँदै छ, यसको सामीप्यले यस भौतिकवादी संसारमा जीवनलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गरिदिन्छ । प्रकृतिलाई समय नदिनु भनेको प्रकृतिप्रतिको हाम्रो चेतनाको द्वार अझ बन्द गर्दै जानु हो, प्रकृतिलाई बेवास्ता गरी वातावरणमा थप क्षति पुर्याउनु हो ।
तर, यसको मतलब हामीले प्रकृतिलाई समय दिएनौं भने प्रकृति असुरक्षित हुने वा प्रकृति समाप्त हुने भन्ने भ्रममा नपरौं किनकि प्रकृति त हाम्रो उत्पतिपूर्व चलेकै थियो र हाम्रो समाप्तिपश्चात् पनि चलिरहनेछ । कुरामात्र यति हो, हामीले गरेको प्रकृतिमाथिको अत्याचार हामी स्वयं मानव जातिको विनाशको कारण बन्नेछ । अब पनि प्रकृतिलाई समय नदिने वा प्रकृतिका बारेमा नसोच्ने हो भने भविष्यमा प्रकृतिले पनि हाम्रा बारेमा न सोच्नेछ, न सोच्ने समय नै दिनेछ । आफूलाई बुद्धिमान प्राणी हुँ भन्ने घमण्डले विवेकहीन भएका हामी मनुवाले प्रकृतिलाई चुनौती दिई खडा गरेको भौतिक संसारमा भावी सन्ततिले दुई मुठ्ठी सासका लागि संघर्ष गरेको दिन पनि नआउला भन्न सकिन्न । अब प्रकृतिसँग जोडिने समय हो, प्रकृतिलाई फर्केर हेर्ने समय हो ।
हामीले खाने खाना, फेर्ने सास, पिउने पानी र हाम्रो पृथ्वीलाई बस्नयोग्य बनाउने जलवायु सबै प्रकृतिबाट आउँछन् । प्रकृतिले हामीलाई दिने सबै फाइदाका बाबजुद हामी यसलाई दुरुपयोग गर्दै यसको विनाश गर्दै छौं । त्यसकारण हामी पुनः प्रकृतिमा फर्कन आवश्यक छ । अन्ततः प्रकृतिले हामीलाई सन्देश पठाउँदै छ कि हामीले आफ्नै हेरचाह गर्न भए पनि प्रकृतिको ख्याल गर्नुपर्छ । यो समय प्रकृतिका लागि मात्र नभएर हामी ब्युँझिने समय पनि हो । प्रकृतिको सुरक्षा, जैविक विविधताको रक्षा, वातावरणको स्वच्छताका लागि लाग्ने समय हो । यो समय प्रकृतिविरुद्ध नभई, प्रकृतिसँग मिलेर मानिस र पृथ्वीको पुनर्निर्माण गर्ने समय हो । यो विश्व वातावरण दिवस हो, यो सम्पूर्ण प्राणीको रक्षा गर्ने समय हो, यो प्रकृतिका लागि समय हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच