काठमाडौं । चार वामपन्थी पार्टीले तामझामसहित घोषणा गरेको समाजवादी मोर्चा एक वर्ष नपुग्दै संकटमा परेको छ । मोर्चामा सहभागी जनता समाजवादी पार्टी, नेपाल विभाजनसँगै मोर्चा संकटमा परेको हो । गत फागुनमा एमाले-माओवादीसहित नयाँ सत्ता समीकरण बनेपछि र मोर्चा भित्रकै दल जसपा नेपाल विभाजनपछि यसको औचित्य सकिएको नेताहरूले बताउन थालेका छन् । गत वैशाख २४ मा जसपा नेपाल विभाजन भएको थियो । जसपा विभाजनको आरोप मोर्चाकै शीर्ष नेतामाथि लागेपछि यसको भविष्य थप अन्योलमा परेको हो । जसपा नेपाल विभाजनमा मोर्चाकै प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका रहेको अध्यक्ष उपेन्द्र यादवको आरोप छ ।
नेपाली कांग्रेससँग गठबन्धन हुँदा गत वर्षको असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेका थिए । नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने लक्ष्यसहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मिलेर मोर्चा घोषणा भएको थियो । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका ‘प्रचण्ड’ले एमालेसँग सहकार्य सुरु गरेपछि मोर्चा विघटनको डिलमा पुगेको हो । विघटनको औपचारिक घोषणा नभए पनि मोर्चाको गतिविधि शून्यप्रायः छ ।
घोषणामै सीमित प्रतिबद्धता
समाजवादी मोर्चा घोषणा हुँदा सबैभन्दा खुसी प्रधानमन्त्री प्रचण्ड हुनुभएको थियो । मोर्चा घोषणा सभामा उहाँले उत्साहित भएर परिवर्तनहरू उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरूविरुद्ध एउटा युद्धकै घोषणा भएको बताउनुभएको थियो । ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरूका लागि चुनौती हो । यो मोर्चाले तिनका विरुद्ध युद्धको घोषणा हो,’ उहाँको भनाइ थियो । तर, मोर्चा घोषणा भएको एक वर्ष नपुग्दै विघटनको डिलमा पुग्दा भने उहाँ मौन हुनुुहुन्छ । तत्कालीन गठबन्धनमा ‘कांग्रेसलाई साइजमा राख्न’ मोर्चा बनाइएको टिप्पणी भएको थियो । तर, सत्ता सहयोगी फेरिएसँगै मोर्चाबारे उहाँले मौनता साँध्नुभएको छ ।
समाजवादको लक्ष्य प्राप्तिका लागि भनेर बनेको मोर्चाले अहिलेसम्म औचित्य पुष्टि गर्न भने सकेको छैन । नेपाली विशेषताको समाजवादको स्थापना मोर्चाको प्रमुख उद्देश्य भनिएको थियो । मोर्चा र उद्देश्य दुवै औचित्यहीन र अस्पष्ट रहेको विश्लेषकहरू बताउँछन् । मोर्चा घोषणा गर्दै गर्दा दलहरूले ‘पार्टी एकतासम्म’को कुरा गरेका थिए । मोर्चाको ४ पृष्ठको प्रस्तावनामा पार्टी संरचनाकै मोडलमा सात बुँदे कार्यक्रम घोषणा गरिएको थियो । जसमा मोर्चाको संगठनात्मक संरचनादेखि नीति तथा कार्यक्रम निर्माणसम्मको कुरा छ । जसमा पार्टीकै मोडलमा नेतृत्व, सचिवालय, प्रदेश र जिल्ला समन्वय समितिको व्यवस्था गरिएको छ ।
कार्यविधिमा भएको व्यवस्थालाई पालना गर्दै मोर्चाको नेतृत्वमा आलोपालोको नियम पनि चल्यो । अहिले सोही नियमअनुसार नेकपाका महासचिव विप्लव मोर्चाको संयोजकको भूमिका हुनुहुन्छ । तर, विप्लव नेतृत्वमा आएसँगै दुई पटकभन्दा मोर्चाको बैठक बसेको छैन । पछिल्लो बैठक फागुन ६ गते बसेको थियो ।
बचाउन विप्लवको दौडधुप
सत्ता समीकरणमा आएको फेरबदल र जसपा विभाजनपछि विघटनको डिलमा पुगेको समाजवादी मोर्चालाई बचाइराख्न विप्लवले भने दौडधुप गरिरहनु भएको छ । हाल मोर्चाको नेतृत्व सम्हाल्नुभएका नेकपा महासचिव विप्लवले यसलाई पुनर्जीवित तुल्याउन दौडधुप बढाउनुभएको हो । यसका लागि उहाँले मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूलाई भेटिरहनु भएको छ । विप्लवले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेटेरै कुराकानी गर्नुभएको छ । तर, परिणाम भने सकारात्मक नआएको नेकपा नेताहरू बताउँछन् । अब मोर्चाको औचित्य सकिएको यादवले जवाफ दिनुभएको थियो । आफ्नै दलको आन्तरिक एकता बिथोलिएपछि अन्य दलसँग कार्यगत एकताका लागि मोर्चामा सहभागी हुनुको कुनै अर्थ नरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डकै कारण मोर्चाको औचित्य सकिएको उहाँले आरोप लगाउनुभयो । ‘समाजवादी मोर्चा प्रधानमन्त्रीले नै पोलेर खाएको’ अध्यक्ष यादवको टिप्पणी छ । मोर्चा गठन भएयता दुई कार्यकाल निरन्तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्व गर्नुभएको थियो । नेपालको कार्यकालमा मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गरेको थियो । गत ५ फागुनबाट नेकपा महासचिव विप्लवले मोर्चाको नेतृत्व सम्हाल्नुभएको छ । आउने असारमा विप्लवको चार महिने नेतृत्व गर्ने अवधि सकिँदै छ । तर, विप्लवको अवधि सकिनुअगावै मोर्चा भने निष्क्रियजस्तै बन्न पुगेको छ ।
मोर्चालाई पार्टी एकतामा रूपान्तरण गर्ने गृहकार्य भइरहेको छ : गुरुङ
माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चामा आबद्ध दलहरूबीच पार्टी एकता संयोजन समिति गठनतर्फ गृहकार्य भइरहेको दाबी गर्नुभएको छ । शुक्रबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव गुरुङले जसपा विभाजन भए पनि मोर्चामा फरक नपर्ने दाबी गर्नुभयो । बरु समाजवादी मोर्चाबाट पार्टी एकताको दिशातर्फ एक स्टेप अघि बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । ‘समाजवादी मोर्चामा भएका घटक मात्र होइन बाबुराम भट्टराईजीको पार्टी पनि विभाजित भएको छ । महेन्द्र राय यादवजीलगायत साथीहरू पार्टी एकताकै लागि तयार हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘ढिलोचाँडो समाजावादी मोर्चाबाट पार्टी एकताको दिशामा हामी अघि बढ्छौँ । पार्टी एकता संयोजन समिति बनाउनेतर्फ गृहकार्य भइरहेको छ ।’
अब मोर्चाको औचित्य छैन : मनीष सुमन
जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रवक्ता मनीषकुमार सुमनले मोर्चा अस्तित्वमै नरहेको टिप्पणी गर्नुभएको छ । राम्रो उद्देश्यले सुरु भए पनि अब मोर्चाको औचित्य सकिएको उहाँले बताउनुभयो । मोर्चाको प्रमुख पार्टीका नेताले नै जसपा फुटाएपछि त्यसमा रहने भन्ने कुरै नहुने उहाँको भनाइ छ । ‘राम्रो उद्देश्यले मोर्चा बनेको थियो । तर, प्रमुख पार्टीले नै मोर्चामा आबद्ध दल फुटाएपछि यसको औचित्य सकिएको छ,’ हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अहिले मोर्चा नै छैन । कुनै गतिविधि छ र ? हुँदै नभएको मोर्चामा बस्ने÷नबस्ने भन्ने कुरै भएन ।’ प्रधानमन्त्री प्रचण्डले नै मोर्चालाई पकाएर खाएको उहाँले टिप्पणी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच