जनता टिभीले सेयर जारी गर्ने

Read Time = 3 mins

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडबीच प्राथमिक सेयर निष्काशन सम्झौता भएको छ । बिहीबार जनता टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमबीच जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष पौडेलले जनताको प्रत्यक्ष लगानीले वास्तविक सूचना उजागर र तटस्थता कायम हुने विश्वास व्यक्त गर्नुभयो । करिब १२ सय बढी सर्वसाधारण सेयरधनीको संस्थापक सेयर लगानीबाट निर्मित जनता प्रसारण तथा प्रकाशन लिमिटेडले दक्षिण एसियाकै पहिलो सञ्चार गृहका रूपमा प्राथमिक सेयर निष्काशन गर्न लागेको उहाँले बताउनुभयो ।

सरकारी सञ्चार गृह, सरकारी नीति र प्रशासनका कारण प्रभावित बन्न सक्ने र निजी सञ्चार गृहमा पनि समस्या देखिने गरेको भन्दै पौडेलले जनताको लगानीको सञ्चार गृहले त्यसलाई चिर्न सक्ने दाबी गर्नुभयो ।

ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ढकालले पुँजी बजारमा विविध क्षेत्रका कम्पनीको संलग्नता बढ्दा पुँजी बजारमा देखिने उतारचढावको समस्या समाधान हुँदै जाने भन्दै सञ्चार गृहलाई पनि पुँजी बजारसँग जोड्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सो अवसरमा सञ्चालक समितिका सदस्यहरू लंक केसी, भागिरथ सापकोटा, उदया शर्मा, पोमनारायण अधिकारी, भोलानाथ पोखरेल, प्राज्ञ गोपीरमण उपाध्याय, व्यवस्थापन कन्सल्ट्याल्ट प्रयास श्रेष्ठ, माइलस्टोन गुप्र अफ कम्पनीका बटुकृष्ण थापालगायतको उपस्थिति रहेको थियो । पब्लिक गु्रप अफ कम्पनिजको अवधारणामा सञ्चालित कम्पनीअन्तर्गत हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डटकम र जनता बुक्स सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?