खोटाङ । खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा हुने राष्ट्रिय बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ । काठमाडौँमा आज आयोजित सरोकार भएकाहरूको भेलाबाट पूर्व वन, वातावरण तथा प्रविधिमन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा सम्मेलन गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहने छ । पूर्वमन्त्री साहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थासँग समन्वय गर्नुहुन्छ”, भट्टराईले भन्नभयो । बाँसको क्षेत्रमा काम गर्दै आउनुभएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईले सम्मेलनका लागि सहजीकरण गरिरहनुभएको छ ।
आजको छलफलमा नेपालमा बाँसको अवस्था, महत्व, उपयोगिता र प्रवर्द्धनमा सरकारले खेल्नुपर्ने भूमिकाको विषयमा विज्ञहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । भेलामा पूर्वमन्त्री कल्याणी साह, काठमाडौँ विश्वविद्यालयका बाँसविज्ञ डा विष्णुमाया केसी, काठमाडौँ वन विज्ञान क्याम्पसका उपप्राध्यापक ड हिमलाल श्रेष्ठ, बाँस अनुसन्धानविज्ञ सन्तोष दाहाल, बाँस व्यवसायी प्रणव श्रेष्ठ, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा चिरञ्जीवी भट्टराई, नवकिरण ऊर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाललगायतको उपस्थिति रहेको थियो । भेलामा बाँसको विकास, व्यावसायिकता तथा बाँस उद्योगमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्रीको प्रवर्द्धन गर्दै आएको छ । उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ भने उत्पादित सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा बाँसकै फर्निचर प्रयोग गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच