![प्रधानमन्त्रीको विशेषाधिकारमा संवैधानिक परिषद्](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Constitutional-Council-under-the-prerogative-of-the-Prime-Minister-Hita-fornt-page.jpg)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सत्ता सहयात्री दलहरूसँग सुरुवातदेखि नै असन्तुष्ट हुनुहुन्छ । कम्युनिष्ट पार्टीकै बाहुल्यता रहेको सत्ता समीकरणमा अध्यक्ष नेपालले सहयात्रीकै चर्को विरोध गरिरहनु भएको छ । सुदूरपश्चिममा मुख्यमन्त्रीसहित प्रदेश र संघ सरकारमा सामेल अध्यक्ष नेपालको विरोध भने अर्थपूर्ण छ । उहाँ नेतृत्वको एकीकृत समाजवादीको संसद्मा १० सिट मात्रै छ । तर, नेपालको आक्रोश भने अनौठो छ । उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत आलोचना गरिरहनु भएको छ । गत फागुनमा नयाँ सत्ता समीकरण बन्दा ओली-प्रचण्डले नेपाललाई पनि एक कार्यकाल प्रधानमन्त्री दिने सहमति गरेको बताइन्छ । तर, अहिले आएर आफूले प्रधानमन्त्री नपाउने देखेपछि अध्यक्ष नेपालले आक्रोश पोख्न थालेको कतिपयको टिप्पणी छ । त्यसका लागि उहाँ वर्तमान समीकरणबाट बाहिरिएर विपक्षी गठबन्धनमा सामेल हुने सम्मको तयारी गर्नुभएको थियो ।
सत्ता समीकरणमा रहेर विपक्षी नेपाली कांग्रेससँग निरन्तर संवादमा रहनुभएका नेपाल जसपा नेपाल विभाजन भएपछि भने ब्याक हुनुभएको हो । तथापि, त्यसपछि पनि उहाँ कांग्रेस सम्मिलित विपक्षी गठबन्धनको बैठकमा सहभागी हुनुभएको थियो । त्यसयता फेरि उहाँले समीकरणमा सामेल दलहरूको विरोध गर्न थाल्नुभएको छ । आफ्नो पार्टीप्रति प्रचण्ड सकारात्मक भए पनि ओली भने मुर्मरिरहेको बताउनुभयो । ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ- ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा । चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन,’ अध्यक्ष नेपालले भन्नुभयो ।
सत्तामै रहेर नेपालले निरन्तर समीकरणमा रहेका दल र नेताहरूको विरोध गरेपछि एमाले अध्यक्ष ओलीले सरकारमा नेतृत्व गरेका पार्टीहरू नै प्रतिपक्ष जस्तो देखिएको टिप्पणी गर्नुभएको थियो । सामान्यतया सरकारमा सामेल दलहरूले खुलेर एक–अर्काको आलोचना गरेका छैनन् । एमालेबाट विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत औचित्य पुष्टि गर्न नसकेको आरोपसमेत नेपालमाथि लाग्दै आएको छ ।
पार्टीभित्रै झलनाथको चुनौती
सत्ता समीकरणमा चर्को असन्तुष्टि जनाइरहनु भएका अध्यक्ष नेपाल पार्टीभित्रै भने कमजोर बन्दै जानुभएको छ । उहाँलाई सम्मानित नेता झलनाथ खनालले निरन्तर चुनौती दिइरहनु भएको छ । पार्टीका आन्तरिक बैठकमा नेपाललाई चुनौती दिइरहनु भएका नेता खानलले आउँदो महाधिवेशनमै टक्कर दिने तयारी गर्नुभएको छ । एकीकृत समाजवादीले आगामी असार (१६-२०) मा १०औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनमा नेता खानलले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो । अध्यक्ष नेपाल दोहोरिने दाउमा हुुनुहुन्छ । फेरि अध्यक्षमा दोहोरिन नेपालले भित्रभित्रै तयारी तीव्र पार्नुभएको छ । तर, नीति र नेतृत्वको विषयमा खनालले नेपाललाई चुनौती दिइरहनु भएको छ । नेतृत्वका लागि अध्यक्ष नेपाल र नेता खनालबीच खुला रूपमै तयारी चलिरहेको छ । खनाल र नेपालबीच पार्टी नेतृत्वको विषयमा मात्रै नभई सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा समेत एकमत छैन । नेता खनालले वाम सहकार्यलाई जोड दिँदै आउनुभएको छ । तर, नेपाल भने दोधारमै जस्तो देखिनुभएको छ ।
तत्कालीन एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा एमालेका वर्तमान अध्यक्ष केपी ओलीलाई पराजित गरी खनाल पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुभएको थियो । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि महासचिव हुनुभएका नेपाल २०६४ सालसम्म नेतृत्वमा हुनुहुन्थ्यो । संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुवै क्षेत्रमा पराजित भएपछि उहाँले राजीनामा दिनुभएको थियो ।
एमालेसँग तत्काल एकताको सम्भावना देखिएन : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ । शनिबार केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो । ‘हिजोको कुरा पनि बिर्सौं ठिक छ तर, अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि,’ उहाँले भन्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन उहाँले आग्रह गर्नुभयो । ‘अहिले सँगै मोर्चा बनाएर अघि जाऔँ भन्ने प्रस्तावसँगै विभिन्न दलसँग कुरा भइरहेको छ । समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिट्टै अर्को समाजवादी मोर्चाको पुनः गठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ ।’
अहिले हामी कसैसँग एकता गर्ने स्थितिमा छैनौँ : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताउनुभएको छ । सिमरा विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै खनालले अहिले पार्टी कसैसँग एकता गर्नसक्ने स्थितिमा नभएको बताउनुभयो । ‘पार्टी कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो, अहिले हाम्रो पार्टी महाधिवेशनमा अगाडि बढ्दै छ, यो महाधिवेशनले नयाँ कार्यदिशा नीति सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्दछ,’ नेता खनालले भन्नुभयो, ‘कसले यो हल्ला फिँजाएको छ सबै बेकारको कुरा हो अहिले हामी कसैसँग पनि एकता गर्नसक्ने स्थितिमा छैनौँ ।’ महाधिवेशनले पार्टीलाई वैचारिक, राजनीतिक र सांगठानिक रूपले नयाँ उचाइमा पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एमाले बचाउन संसद् विघटन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद् विघटन गरेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरू कुदेको जिकिर गर्दै यस्तो भन्नुभएको हो । उहाँले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भन्नुभयो, ‘अदालतमा गएर विपक्षीलाई प्रधानमन्त्री बनाएको छ । अनि आफैँ कुरा ठूला गरेको छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज हामीले एमाले भन्न पाउँदैनथ्यौँ । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो ।’ दक्षिणपन्थी शक्तिको पाउमा सरकार बुझाए जस्तै एमालेलाई पनि बुझाइसकेको हुने उहाँको जिकिर थियो । अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरू सबै ठीकै थियो । पुस ६ गते संसद् चाहिँ भंग नगरेको भए हुन्थ्यो । संसद् भंग किन गर्नुप¥यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौँ । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्याएका थियौँ । झण्डै दुई तिहाईको स्थिति हामीले बनाएका थियौँ । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन, चलाइसक्नु छैन । विकास, निर्माणको काम भएको छ, अरू काम भएको छ । पुनर्निर्माणको काम भएको छ । सबै कामहरू भएको छ, तर देख्दैन,’ उहाँले भन्नुभयो, ‘आज पनि उफ्रिएको छ, भोलि पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरि कुरा ठूलो गर्या छ । त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउँदैनथ्यौँ हामीले । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो ।’ आफू नेतृत्वको सरकारले गरेका कामहरू पार्टीका नेताहरूले नदेखेको ओलीले भन्नुभयोे । पार्टीको आलोचना मात्रै गरिएको तर भएका राम्रा कामहरूको प्रशंसा नभएको उहाँको गुनासो थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच