सामान्यतया नेपालका सन्दर्भमा भन्ने हो भने सुगम भनिएका ठाउँहरूसमेत दुर्गमका तुलनामा अलिक विकसित भए पनि पीडाविहीन अवस्थामा छैनन्, शहरका मानिसहरूले समेत अनेकौं समस्यासँग सामना गरेर दैनिकी गुजार्नु परिरहेको हुन्छ । भन्नलाई त शहरी क्षेत्रहरूमा खानेपानी, टेलिफोन, शिक्षा, स्वाथ्योपचार लगायत कुराहरूको सुविधा हुन्छ भन्ने गरिएको छ तर शहरमै पनि यस्ता सुविधाको उपभोगबाट वञ्चित हुनेहरूको संख्या निकै ठूलो छ । अझै गाउँको कुरा गर्ने हो भने त तीमध्ये धेरै ठाउँ यस्ता सुविधाबाट अझैसम्म वञ्चित नै भइरहेका छन् । बागलुङमा हावाहुरी र चुहिने छानामुनि बसेर विद्यार्थीहरूले पढ्ने गरेका छन् भन्ने समाचार जुन आएको छ यस्ता समस्याका लागि त्यो समाचार प्रतिनिधि समाचारमात्र हो ।
किनकि, यस्ता समस्या बागलुङमा मात्र होइन सबैतिर छन् । कतै अलिक बढी र कतै कम होलान् त्यो फरक कुरा हो । समस्या नै नभएका ठाउँ भने कतै छैनन् । हाम्रो हकमा काठमाडौं सबैभन्दा विकसित शहर मानिन्छ किनभने यो राजधानी शहर हो । प्रश्न उठ्छ यो शहर विकसित र सुविधा सम्पन्न छ त ? यसमा कुनै समस्या छन् ? यहीँभित्रै पनि अनेकौं समस्या छन् । समस्याको प्रकृति गाउँघरमा र शहरी क्षेत्रमा फरक छन् । समस्यारहित अवस्था गाउँ वा शहर कतैको पनि हुँदैन । राजधानी रहेको जिल्ला काठमाडौंले चर्चेका अनेकौं ठाउँ अहिले पनि हुम्ला, जुम्लाजस्ता विकट छन् । त्यहाँ पूर्वाधारहरू अझै पुगेका छैनन् । धेरै मानिसको शहरकेन्द्रित प्रवृत्तिका कारण पनि यस्तो भएको हो ।
जसरी हावाहुरी र चुहिने छानामुनि बसेर बागलुङका विद्यार्थीहरू पढिरहेका छन् त्यस्तो अवस्था अन्यत्र पनि पर्याप्त छन् । विकासका नाममा, सुविधा र सहुलियतका नाममा ठूला सवारीसाधनहरूको लस्कर देख्न पाइन्छ गाउँटोल र वडाहरूमा । तिनै गाडीहरूको लस्कर हेर्दै आकाशमुनि विद्यार्थीहरू कखरा गरेर बसेका छन् । विकासको यो नमुना सायदै अन्यत्र होला । बागलुङ त अझै भन्ने हो भने त्यति धेरै दुर्गम जिल्ला पनि होइन । त्यसभन्दा बढी दुर्गम क्षेत्रमा त्यहाँका भन्दा बढी समस्या निश्चय पनि होलान् भनेर अनुमान गर्नै पर्दैन । अवश्य छन् । अहिलेसम्म जे जति विकास भएको छ त्यसलाई एकातिर यस प्रणालीले गरेको विकासका रूपमा हेर्ने गरिन्छ भने अर्कातिर समयको नियमित प्रक्रियाबाट भएको मान्नेहरू धेरै छन् । प्रजातान्त्रिक प्रणालीमा निश्चय पहिलेको प्रणालीमा भन्दा बढी नै विकास भएको छ । शिक्षा र स्वास्थ्यमा अत्यन्तै ठूलो फड्को मारेको छ भने यातायात र सञ्चार क्षेत्रमा भएको प्रगति त्यसभन्दा पनि बढी छ ।
प्रश्न कुन प्रणालीले विकास गर्यो भन्ने होइन । साढे तीन दशकदेखि देशमा प्राजातान्त्रिक प्रणाली रहेको छ । त्यस अर्थमा अहिले भइरहेको विकासका काम यही प्रणालीले गरको हो भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । बरू अझै विभिन्न ठाउँका विद्यार्थी किन यसरी चुहिने छानामुनि बसेर पढ्नुपर्ने बाध्यतामा छन्, यस्तो किन भइरहेको छ त ? अहिले त देशमा तीन तहको सरकार छ । स्थानीय रूपमा स्थानीय सरकार छ । जुन सरकारले स्थानीयस्तरका समस्यालाई आफ्नै आँखाअगाडि सधैं देखिरहेकै छ । तैपनि किन त्यस्ता समस्या जस्ताको तस्तै छन् त ? किन ती समस्याबाट त्यहाँका विद्यार्थीहरूलाई उन्मुक्ति दिन सकिरहेको अवस्था छैन ? अहम् प्रश्न यिनै हुन् । यसका विभिन्न जवाफ हुन सक्छन् ।
पहिलो कुरा त त्यस प्रकारका समस्याबाट मुक्तिका लागि आवश्यक साधन र स्रोतको कमी भएर यस्तो भइरहेको हो भन्नुपर्ने हुन्छ । अर्को कुरा त्यस्ता क्षेत्रका जनप्रतिनिधिहरूले चासो नदिएर वा चासो दिएर प्रयास गर्दागर्दै पनि त्यस्ता समस्यामा सुधार हुन नसकिरहेको वा सुधारका क्रममा रहेको हुनसक्छ । अथवा ती ठाउँका स्थानीयबाट जनप्रतिनिधिलाई जानकारी गराउने काम नभइरहेको पनि हुनसक्छ । चाहे जेकारणले देशका विभिन्न ठाउँमा वर्तमान समयका लागि नसुहाउँदा समस्याहरू विद्यमान रहिरहेका छन् तिनको निराकण छिट्टै हुनु आवश्यक छ । पञ्चायतकालको अन्तिम समयतिरको पुस्ताले चाहिँ यस्ता समस्याहरूको प्रसस्तै सामना गनुपथ्र्यो । विद्यालय भवन नभएका ठाउँमा जम्मा भएर पढ्नुपथ्यो ।
कतै-कतै चित्राले बेरेर बनाएका गोठहरूमा बसेर पढ्नुपथ्र्यो । वरपिपलका चौताराहरूमा वा लाँकुरीको रूखको छाहारीमा बसेर पढ्नुपर्ने बाध्यता थियो । चर्को घामलाग्दा वा पानी छिट्याउन थाल्ने बित्तिकै विद्यार्थीहरूलाई विद्यालयले बिदा दिनुपथ्र्यो । विद्यार्थीहरू निकै टाढादेखि आउनुपर्ने बाध्यता थियो । बीचमा खोलाहरू तर्नुपथ्यो र पानी परेका खण्डमा ती खोलाहरूमा बाढी आउने भएकाले शिक्षकहरूले विद्यार्थीलाई बाटामा अलमल नगरी सरासरी छिटो घर जाओ भन्ने निर्देशन दिएर पठाउँथे । हावाहुरी आएका खण्डमा पनि विद्यालय बिदा गर्नुपथ्र्यो । त्यसभन्दा पनि पहिलेको पुस्ताले त पाटीमा लेखेर पढेको थियो तर अहिले भने समय निकै अगाडि बढिसकेको छ ।
त्यस अर्थमा अबको पुस्ताले पूर्वजहरूका त्यस्ता समस्या पुनः व्यहोर्नु नपरोस् भन्नेतर्फ सबैको सोच पुग्नुपर्छ । यसतर्फ विद्यालयहरूले पहल गर्नुपर्छ भने स्थानीय निकायहरूले पनि आफ्ना क्षेत्रभित्रका वर्तमान समयको गतिलाई पाच्य नहुने खालका समस्याहरूको निराकरणका लागि प्रयास गर्नुपर्छ । स्थानीयस्तरबाट त्यस्ता समस्याहरूको समाधान गर्न असमर्थ भएका खण्डमा आवश्यक सहयोगका लागि त्यसमाथिका निकायहरूसम्म आवाज पुर्याउनुपर्छ । स्थानीय निकायभन्दा माथिका प्रदेश र संघले समेत राजनीति गरेर मत प्राप्त गर्ने थलो त तिनै गाउँघरहरू हुन् । समस्याहरू सबैले साझा समस्या ठानेर यसतर्फ ध्यान पुर्याउनुपर्छ । मतको राजनीतिले मात्र नेतृत्वको पहिचान हुनसक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच