गठबन्धन बैठक : जिसस गठनमा तालमेल गर्ने निर्णय, स्थानीय निर्वाचनमा तालमेल प्रभावकारी हुन नसकेको केही नेताको गुनासो

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले जिल्ला समन्वय समिति (जिसस)को गठनमा तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्णय गरेको हो । बैठकले चुनावी नतिजाको समीक्षासमेत गरेको थियो ।

स्थानीय कार्यपालिकाको निर्वाचन र जिससको निर्वाचनमा गठबन्धनसम्बद्ध पार्टीहरूबीच सहमति कायम गरेर अगाडि बढ्न गठबन्धन सम्बद्ध दलका प्रदेश र जिल्लास्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

बैठकमा सत्तारूढ दलहरूले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी चुनावतर्फ संकेत गर्दै धोका नदिने बताउनुभएको थियो ।
सत्तारूढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रीयस्तरबाटै गरेका थिए । तर, कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका पालिकाहरूमा समेत स्वतन्त्र उम्मेदवारी परेको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले पार्टीभित्र मतभेद भएका कारण पनि तालमेल प्रभावकारी हुन नसकेको भन्नुभएको थियो, ‘तर हामी धोका दिन्नौँ ।’

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले गठबन्धन देशको आवश्यकता भएकोले आवश्यकता पूरा नहोउन्जेलसम्म कायमै रहने बताउनुभयो । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समय सीमाभित्र नै आवधिक निर्वाचन हुने पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनका बारेमा बैठकमा छलफल भएको बताउनुभयो । उहाँले सत्तारूढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।

त्यसैगरी, बैठकमा गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

३० वैशाखमा भएको निर्वाचन परिणाम दुई स्थानीय तहबाहेक सबैको आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेको बताइन्छ । स्थानीय तह निर्वाचन-२०७९मा कांग्रेस पहिलो दल, एमाले र माओवादी क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् भने एमालेबाट ११ हजार ८७२ जना र माओवादीबाट पाँच हजार ४४ जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यसैगरी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएका छन् । कुल ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए । निर्वाचनमा २४ राजनीतिक दल सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?