काठमाडौं । अस्ट्रेलियाको न्युक्यासलमा नेपालीहरूले क्रिकेटमार्फत् खेलप्रेमी समुदाय विस्तार गर्ने र त्यहाँ रहेका नेपाली मूलका बालबालिकाहरूलाई क्रिकेट प्रशिक्षण गराउने भएका छन् । न्युक्यासल नेप्लिज क्रिकेट टिमले गाला डिनर आयोजना गरी उक्त कार्यक्रम घोषणा गरेको हो ।
नेपाली समुदायमा खेल प्रेम विकास गर्ने र खेलिरहेका खेलाडीहरूलाई संस्थागतरूपमा एकजुट बनाउने उद्देश्यले स्थापित न्युक्यासल नेप्लिज क्रिकेट टिम विगत तीन वर्षदेखि सक्रिय छ । समूहले न्युक्यासल डिस्ट्रिक्टअन्तर्गत लगातार तीनपटक सेमिफाइनलसमेत खेलिसकेको छ ।
उक्त समूहले आयोजना गरेको गाला डिनरमा सक्रिय खेलाडी तथा समूहलाई विभिन्न शीर्षकअन्तर्गत प्रायोजन गर्दै आएका संस्था र व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । ‘उहाँहरूप्रतिको सद्भाव र सम्मान त सँधै छँदैछ । यस औपचारिक कार्यक्रम राख्नुको एउटै अर्थ ‘हामी सबै सधैँ सँगै छौँ,’ भन्ने सन्देश प्रवाह गर्नु हो,’ कार्यक्रम संयोजक सजल बस्नेतले भन्नुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला पक्षहरूमार्फत् समूहलाई कसरी अझै सशक्त ढंगमा अघि बढाउन सकिन्छ भन्नेबारे छलफलसमेत भएको थियो ।
‘हामी हाम्रा गतिविधिहरूलाई खेलकुदमा सीमित राख्न चाहँदैनौँ । हामी सामाजिक, सांस्कृतिक प्रवद्र्धनका लागि कार्यक्रमहरू आयोजना गर्न चाहन्छौँ । हाम्रा साना भाइबहिनीहरूलाई क्रिकेट खेल प्रशिक्षण गराउने, नेपाली समुदायमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ,’ बस्नेतले भन्नुभयो ।
समूहको टाइटल स्पोन्सर टुवेल्स ग्रेन क्यापिटलका सञ्चालक बालकुमार गौतमले समूहको उद्देश्य प्राप्तिमा आड पुर्याउने भन्दै सात हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण गर्नुभयो । साथै न्युक्यासल क्षेत्रमा रहेर व्यापार व्यवसाय गर्दै आएका विभिन्न नेपालीले आफ्नोतर्फबाट क्लबको उत्थान र क्लबले उठाएका विषयहरू प्रवद्र्धनका लागि तयार रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका अध्यक्ष अनिल पोखरेलले आफूहरू नेपाली समुदायको यस प्रयत्नमा आवश्यक साथ तथा सहयोग प्रदान गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘के कसरी यस क्लबमा योगदान गर्न सकिन्छ बुझ्यौँ । अब हरेक तवरबाट सकेको सहयोग गर्ने विश्वास दिलाउँछु ।’
कार्यक्रममा न्युक्यासल नेप्लिज क्रिकेट टिमका क्याप्टेन रूपक सापकोटाले समूहलाई हौसला, साथ तथा सहयोग प्रदान गर्न उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफूहरूको सक्रियता र निरन्तरताको प्रतिबद्धता जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच