३८ वर्षपछि पूरा हुँदै चिलगाडी हेर्ने सपना

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कालीकोटको सुनथराली विमानस्थल सञ्चालनमा ल्याउन झण्डै चार दशकदेखिको कालीकोटे जनताको सपना अब भने पूरा हुने भएको छ । सुनथराली विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै कालीकोटे जनताको चलिगाडी हेर्ने सपना पूरा हुने भएको हो । विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै विमानस्थल धावनमार्गको काम पनि तीव्र गतिमा भइरहेको छ । सुनथराली विमानस्थललाई आउँदो माघ १५ गते हस्तान्तरण गर्ने तयारीसमेत गरिएको छ ।

विमानस्थल रनवेको काम सकिएपछि विमानस्थल हस्तान्तरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । २०४२ सालबाट निर्माण थालिएको विमानस्थलमा २०७३ माघ २९ गते परीक्षण उडान भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।

सशस्त्र द्वन्द्वका बेला विमानस्थल निर्माणको ठेक्का लिन कोही ठेकेदार तयार भएनन् । जसले गर्दा विमानस्थल निर्माण लामो समय अलपत्र परेको थियो । विमानस्थल निर्माणकै क्रममा २०५८ सालमा धादिङ जोगीमाराका १७ सहित ३५ जना मजदुरको मृत्यु भएको थियो । १८ जना कोटबाडाकै स्थानीय परेका थिए । उनीहरूलाई त्यही विमानस्थलमा गाडिएको थियो ।

त्यसयता पूर्ण रूपमा बन्द रहेको विमानस्थलमा कालोपत्रे गर्न २०७५ साल साउनमा श्याम एण्ड शंकर जेभीले ठेक्का लिएको थियो । लामो समयपछि ‘चिलगाडी’ हवाईजहाज चढ्न पाउने भएपछि कोलिकोटवासी खुसी देखिएका छन् । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार धावनमार्ग ६९० मिटरको छ ।

३८ वर्षसम्म किन अल्झियो विमानस्थल निर्माणको काम ?
तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि बजेट छुट्याएको थियो । तर, दुर्गम भएका कारण कोही इञ्जिनियर जानै तयार भएनन् । द्वन्द्वका कारण तत्कालीन माओवादीहरूले पनि विमानस्थल निर्माण रोक्न लगाएको स्थानीय बताउँछन् । माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । विसं २०६३ पछि स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउन थालियो । तर, फेरि विमानस्थल स्थानीय दलहरूको आन्तरिक किचलोको सिकार बन्यो ।

निर्माण समितिमा दलका प्रतिनिधिहरू सहभागी बनाइएको थियो । तर, दलका प्रतिनिधिहरूको स्वार्थ भिन्न-भिन्न भए । जसले निर्माण अघि बढाउनेभन्दा पनि विमानस्थललाई थला पार्ने काम भएको स्थानीय बताउँछन् ।

दलका प्रतिनिधिहरूको किचलोका कारण अवरुद्ध विमानस्थलको निर्माण २०७१ साउनदेखि अघि बढ्यो । त्यसपछि निर्माण कार्य निरन्तर अघि बढ्यो । जसको परिणाम अहिले धावनमार्गमा कालोपत्रे भएर विमानस्थल सञ्चालनमा आउने अवस्थासम्म पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?