मल लिनका लागि किसानलाई घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रासायनिक मलका लागि किसानहरु घन्टौ लाइनमा बसेका छन् । बिहान ४ बजे देखी नै किसानहरु लाइनमा बसेका हुन् ।

अहिले किसानहरु धान रोप्ने चटारोमा छन् । यतिबेला किसानलाई मल अन्त्यन्तै आवश्यक रहेको मधुरा चौधरीले बताउनु भयो । "खेती लगाउने समयमा मल पाइदैन कसरी खेती गर्ने । जहिले पनि खेतमा प्रयोग गरिने रासायनिक मल लिनका जहिले पनि सास्ती को सास्ती छ ।" चौधरीले भन्नुभयो ।

बर्दघाट नगरपालिकामा सहकारी मार्फत किसानहरुलाई अनुदानको मल वितरण गर्न कोटा निर्धारण गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । नगरमा मल नै कम आएको र आएको मललाई पायक पर्ने स्थानबाट बितरण गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

किसानले रासायनिक मल समयमा नपाउने समस्या त छदै छ घन्टौं लाइनमा बसेरसमेत सिमित मल पाउने गरेका छन् । मलकै लागि मल बितरण गर्ने सहकारी संस्थाहरुमा बिहान ४/५ बजे देखी नै लाइनमा किसानहरु बसिरहेका छन् । शुक्रबार विहान पञ्चनगरमा रहेको मधुवन कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मल वितरण गर्ने जानकारी पाएपछि किसानहरु विहान ४ बजे देखीनै लाईनमा बसेका छन् । मधुनमा मात्र होईन मल वितरणको जिम्मा पाएका नगर भित्रका अन्य सहकारीमा पनि हालत उस्तै रहेको छ ।

पन्चनगरमा रहेका ३ सहकारीहरु बाट वडा छुट्याइएर मल बितरण गरिएको छ । समयमा मल प्राप्त नभए धान उत्पादनमा कमी आउने चिन्तामा किसानहरु रहेका छन् । रोपाईका लागि खेत तयार गर्नुपर्ने किसानको बास सहकारी अगाडि हुने गरेको छ ।

नगरपालिकामा ३ हजार बोरा डिएपी मल चाहिन्छ तर हामी संग जम्मा ७ सय २६ बोरा आएको छ बर्दघाट नगरका कृषि शाखाका अधिकृत नवीन ढकालले बताउनु भयो । "युरिया फाल्गुन चैत्रमा पनि आएको थियो त्यसैले त्यति समस्या छैन । तर डिएपी माघमा मात्रै आएको छ । त्यसपछि अहिले मात्रै आयो " ढकालले भन्नुभयो ।

बर्दघाट नगरपालिकामा बैशाखको २५ गते डिएपी ९ सय ४४ बोरा साल्ट ट्रेडिङ्गबाट र जेष्ठको २४ गते कृषि सामाग्री लिमिटेडबाट ७ सय २६ बोरा मात्रै आएको कृषि शाखाले जानाएको छ । संघिय, प्रदेश र स्थानीय तहले नै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको बताउने सरकारहरु अहिले किसानलाई मलसमेत उपलब्ध गराउन सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?