पाल्पामा फौजी किराको प्रकोप, मकै सखाप पार्न थालेपछि किसान चिन्तित

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका, कचलका कृषक थर्कबहादुर बगाले मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुहुन्छ । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उहाँको गुनासो छ । कृषक बगाले भनुहुन्छ, ‘करीब १० रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, ।’

बगनासकाली गाउँपालिका-१ चिलाङ्दीका नारायण रानाले पनि घर नजिकैको बारीमा मकै खेती गर्नुभएको छ । तर उहाँलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उहाँलाई चिन्ता थपिएको हो । रानाले ‘हाम्रो तिर विगतका वर्षमा यस्तो प्रकोप थिएन, गत बर्ष खडेरीले मकै भएन अहिले फौजी किराले सखाप पार्ला जस्तो छ ।’ उहाँको प्रमुख पेसा कृषि हो । आफुले लगाएको खेतीपातीमा रोग लाग्दा लगानी समेत नउठ्ने उहाँले बताउनुभयो । ‘मकै छर्दादेखि थन्काउँदासम्म ३०/४० हजार रुपैयाँ लाग्छ, मकै हुने नहुने थाहा छैन’ उहाँले भन्नुभयो ।

उहाँको जस्तै सोही ठाउँकी सीता न्यौपानेको पनि उस्तै छ । ‘रोग नलाग्दा खान पुग्थ्यो । यहीबाट नुन तेल समेत खरिद गर्दथ्यौँ । रोग लागेपछि के खाने कसो गर्ने भन्ने भएको छ’ न्यौपानेले भन्नुभयो ‘यसलाई कसरी निर्मूल गर्न सकिन्छ ? हामीलाई उपचारको खाँचो छ ।’ बारीमा लगाएको सबै मकै फौजी किराले खाइदिएको उहाँले गुनासो गर्नुभयो । ‘मेरो मात्र होइन, गाउँका प्रायः सबैको मकैमा फौजी किराको प्रकोप छ,’ न्यौपानेले भन्नुभयो, ‘यसका लागि उपाय खोजी गरिँदै छ ।’ गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रबाट विषादी उपलब्ध गराएको थियो । तर यसवर्ष औषधि नपाएको उहाँको गुनासो छ ।

यस्तै तिनाउ गाउँपालिका नयाँपाटीकी हरीकला पाण्डेले पनि फौजी किराले मकै खेतीमा सताएको बताउनुभयो । ‘एक रातमै किराले सत्यानासै बनायो,’ उहाँले भन्नुभयो, ‘यसको औषधिमूलोका लागि सहयोगको खोजीमा छु ।’ फौजी किराले मकैमा समस्या निम्त्याएको छ । किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ । जेठ १५ गतेदेखि पाल्पामा छिरेको फौजी किराले जिल्लाको तिनाउ, बगनासकाली, रम्भा, पूर्वखोला रिब्दीकोट लगायतका स्थानीय तहमा किसानले लगाएको मकैमा क्षति गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैमा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्रका कृषि प्रसारण अधिकृत सुरत पालले बताउनुभयो । उहाँले बजेट अभावले अहिले प्रकोप नियन्त्रणका योजना बनाउन नसकिएको बताउनुभयो ।

फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका साना मकैको गुभामा गई मकैको स्विइराहरु खाने र हुर्केका मकैको बोट किराले सखाप पारेको किसानले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको थियो । सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किट विज्ञ बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?