विद्यार्थी पलायनबारे चिन्ता र चासाे

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकामको एकमात्र सामुदायिक क्याम्पस त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको साधारण सभा, प्रवेशद्वार उद्घाटन कार्यक्रम तथा चन्दादाताहरुको शिलालेख अनावरण कार्यक्रममा विद्यार्थी पलायनको राष्ट्रिय समस्याप्रति चिन्ता र चासो व्यक्त गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विद्यार्थी पलायनको राष्ट्रिय समस्यालाई रोक्न शैक्षिक संरचनामा सुधार गर्नु आवश्यक रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘स्नातक तह ४ वर्षे हुँदा विद्यार्थी पलायन थप बढ्न गएको छ । यसलाई रोक्न स्नातक तहलाई ३ वर्षे बनाउनुपर्छ ।’ उहाँले आज प्राविधिक विषयहरुको माग बढिरहेको बेलामा त्रिभुवन आदर्श क्याम्पसमा पनि प्राविधिक विषयहरु थप्न आफू लागिपरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व शिक्षा मन्त्री मेखलाल श्रेष्ठले विश्व बजारमा टिक्न सक्ने तथा नेपालमा पनि रोजगारीको अवसर प्राप्त गर्न सक्ने प्राविधिक तथा व्यावसायिक विषयहरु पढ्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घ स्याङ्जाका सभापति गौरव प्रधानले कलेजमा समय अनुसारका विषयहरु थप्नुपर्ने तथा पुस्तकालय र क्यान्टिनलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै आफूहरु सधैं विद्यार्थीको हितको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व सङ्घीय सांसद नारायण प्रसाद मरासिनी, नेकपा माओवादीका स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, अधिवक्ता तुलसी गिरी, शिक्षाविद् लोकराज शर्मा, त्रिभुवन आदर्श माविका प्रिन्सिपल मुक्तिप्रसाद रेग्मी, नेपाली काङ्ग्रेस स्याङ्जाका सहसचिव तथा ध्रुवोदय स्कुलका प्रिन्सिप ध्रुवबन्धु पौडेल, नेपाल विद्यार्थी सङ्घ स्याङ्जाका सभापति गौरव प्रधान, स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस इकाइका सभापति सविन रेग्मी लगायतले बोल्नुभएको थियो ।

वक्ताहरूले विद्यार्थीहरू १२ कक्षा पास गरेपछि बाहिर जाने प्रवृत्ति रहेको कारण क्याम्पसहरूमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस्तै अधिकांश वक्ताहरूले क्याम्पस स्थापनादेखि वर्तमानसम्मको इतिहासको समीक्षा गरेका थिए ।

कार्यक्रममा विभिन्न साङ्गितीक नृत्य तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो भने आर्थिक साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले क्याम्पसले आफ्नो साधन र श्रोतको उचित प्रयोग गरी सम्भव भएसम्म विद्यार्थीको हितमा काम गरिरहेको जानकारी दिनुभयो ।

उद्घाटन गरिएको प्रवेशद्वार पुतलीबजार नगरपालिकाद्वारा विनियोजित रु ८ लाख रुपैयाँको बजेटमा निर्माण गरिएको हो ।

करिब ५०० विद्यार्थी अध्ययनरत यो क्याम्पस समुदायको सहयोगमा सञ्चालित क्याम्पस हो । २०४८ सालमा स्थापना भएको क्याम्पसका अध्यक्ष पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको नेतृत्वमा महायज्ञ लगाएर सङ्कलित पूँजीबाट क्याम्पस स्थापना भएर हालसम्म अगाडि बढेको छ ।

क्याम्पसमा मानविकी, व्यवस्थापन, कानुन, शिक्षा सङ्कायमा स्नातक र स्नातकोत्तर तहमा पढाइ हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?