सिबिफिन, डोल्मा कन्सल्टिङ र आइआइएनबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । इन्भायरोमेन्ट, सोसियल एण्ड गभर्नेन्स(इएसजी) सँग सम्बन्धित गतिविधि सञ्चालनका लागि संयुक्तरूपमा सहकार्य गर्ने गरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन)बीच सम्झौता भएको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आइआइएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

लगानीकर्ता संस्था/कम्पनीले लगानी गर्दा वातावरणीय, सामाजिक र सुशासनको क्षेत्रमा देखिने जोखिम अध्ययन, मूल्यांकन, सुधार तथा व्यवस्थापनजस्ता साझा हितका कार्यमा संयुक्तरूपमा सहकार्य गर्ने सम्झौताको मुख्य उद्देश्य रहेको छ । प्राकृतिक स्रोत संरक्षण, हरितगृह ग्याँस उत्सर्जन, विषाक्त फोहोर व्यवस्थापन, जलवायु नीति एवं वातावरणीय नियम पालना, ऊर्जा प्रयोग, फोहोर, प्रदूषण, सामाजिक रूपान्तरणसहित उत्तरदायित्व वहन, जातीय, लिंग र यौन भेदभाव, समावेशीकरण, स्वास्थ्य एवं सुरक्षा, संस्था/कम्पनीको आन्तरिक सुशासन र सेयरधारकप्रतिको जिम्मेवारी तथा उत्तरदायित्वलगायतका क्षेत्रमा लगानीको प्रभावका विषयमा विविध कार्यक्रम सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंक, विकास वित्तीय संस्थासहित अन्य सहयोगी एवं साझेदार संस्थाहरूसँग समेत सहकार्य गरी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन प्रणाली र विश्वव्यापी उत्कृष्ट अभ्याससम्बन्धी नीतिगत विषयमा सार्वजनिक-निजी बहस तथा पैरवी गरी कार्यान्वयन तथा सुधारका लागि सम्बन्धित निकायमा पहल गरिने समेत सम्झौतामा जनाइएको छ । सिबिफिनले कुनै आर्थिक व्ययभार नपर्ने गरी बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिगो विकासका लागि सार्वजनिक-निजी संवाद, अध्ययन तथा अनुसन्धानका गतिविधि सञ्चालन, ग्रिन फाइनान्सिङ, लगानीका क्षेत्र पहिचान, पुँजी निर्माण तथा लगानी प्रवद्र्धन, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार, एसएमइजको प्रवद्र्धन र वित्तीय समस्याको समाधानलगायतमा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी बहस पैरवी गर्नेछ ।

डोल्मा कन्सल्टिङले स्रोत व्यवस्थापन, इएसजी गतिविधिलाई दिगो बनाउन क्षमता विकासका गतिविधि तर्जुमा, सञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्यांकनसहित जानकारीको आदानप्रदान गर्ने कार्यहरू गर्नेछ भने आइआइएनले समग्र गतिविधि कार्यान्वयनको पर्यवेक्षण, स्रोत पहिचान तथा परिचालनका लागि आवश्यक अन्य वकालत कार्यहरू गर्नेछ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव राजनसिंह भण्डारी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, डोल्मा कन्सल्टिङबाट लगानी निर्देशक दिपेन्द्र श्रेष्ठ र आइआइएनबाट रोशनी काफ्लेको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?