मधेस प्रदेशमा हत्याका घटना बढे, प्रशासनले सक्रियता अपनाउन आवश्यक छ : सांसद मैनाली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेस प्रदेशमा हत्याका घटनाहरु बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भारतबाट खुला सीमाका कारण नेपालमा आइ हत्या गर्ने, सुटरहरु नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो । उहाँले अपराधीलाई अविलम्व नियन्त्रण गरी कानूनको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बारा जिल्लामा यो चौथो घटना हो । एक वर्षको अवधिमा गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि आक्रमण भयो । उहाँको हत्या भयो । भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरियो । यो हत्याको श्रृंखला बढ्दै गइरहेको छ । दुर्भाग्यको कुरा सुटर भारतबाट आएर नेपालमा आउने, खुला सीमा, हातहतियारहरुको ओसारपसारले गर्दा मधेस खासगरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन् । मधेसमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, धेरै मानिसहरु बिस्थापित हुनुपर्‍यो । त्यो पीडालाई बिर्सिएर मधेस संग्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसावले बढ्दो रुपमा छ । यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् । सम्बन्धित निकायमा आवश्यक निर्देशनको लागि सम्माननीय सभामुखमार्फत अनुरोध गर्दछु ।’

उहाँले सीमा पारीको प्रशासनसँग मन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?