माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन

काठमाडौं । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशककोसमेत जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उहाँहरुको स्वागत र बिदाइ गर्नुभयो । देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ ।

लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्कनुभएको छ भने उहाँको ठाउँमा प्रिति अरोरा आउनुभएको छ । स्वागत तथा कार्यक्रममा अर्थमन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गर्नुभयो । साथै निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने उहाँको विश्वास थियो ।

नेपालमा मङ्गलबारदेखि सुरु हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक (आइडा–२१) को पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको अर्थमन्त्री पुनले बताउनुभयो । निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको तथा फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिकारुपमा मात्र नभइ नेपालको मित्रका रुपमा भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा विश्व बैंकको ‘पोर्टफोलियो’ विस्तार, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको अर्थमन्त्री पुनले स्मरण गनुर्भयो । विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ ।

अमेरिकी नागरिक फारिस विसं २०७३ असारमा विश्व बैंकको नेपाल निर्देशकका रुपमा आउनु भएको थियो । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

नवनियुक्त देशीय निर्देशक डेभिड अमेरिकी नागरिक हुनुहुन्छ । उहाँ यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूनिकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । नवनियुक्त देशीय निर्देशक डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गर्नुभएको छ ।

स्वागत तथा बिदाइ कार्यक्रममा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर सहभागी हुनुहुन्थ्यो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?