काठमाडौं । सर्वोच्च अदालतले इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पुनः निर्वाचन गराउनुपर्ने भन्दै दायर भएको रिटलाई खारेज गरेको छ । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुनः निर्वाचन गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।
मतदानमा धाँधली भएको दाबीसहित नेता खनालले इलाम १ मा पुनः निर्वाचन गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । नेता खनाल एमालेका महेश बस्नेतसँग २६ सय ६३ मतले पराजित भएपछि निर्वाचनमा निष्पक्षताको प्रश्न उठाउँदै पुनः निर्वाचनको माग गर्नुभएको हो ।
सर्वोच्च अदालतले बुधबार निर्वाचनसम्बन्धी अधिकांश मुद्दाहरूको सुनुवाइ गरेको थियो । तीमध्ये केही मुद्दामा सुनुवाइ सकेपछि सर्वोच्चले आदेश गरेको हो ।
एमालेकै रघुवीर महासेठसँग १ सय २५ मतले पराजित धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका पराजित उम्मेदवार महेन्द्र यादवले पुनः मत गणनाको माग गर्दै दायर गरेको रिट पनि संवैधानिक इजलासले खारेज गरिदिएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले मत दोहोर्याएर गन्न माग गर्दै दायर गरेको रिट पनि खारेज भएको छ । चौधरी नेकपा एमालेका राजकुमार गुप्तासँग १ सय ६७ मतले पराजित हुनुभएको थियो ।
यसरी निर्वाचनमा पराजित भएका उम्मेदवारहरूले निवार्चनमा धाँधली भएकोमा पुनः निर्वाचन गराउनुपर्ने मागसहित दायर भएका रिटहरू बुधबार सर्वोच्चबाट खारेज भएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच