
झापा । झापाको धुलाबारी माविमा "पढ्दै, कमाउँदै" कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै कार्यक्रमको प्रभावकारिता बढेको विद्यालयले जनाएको छ ।
तीन वर्ष अघिदेखि सञ्चालनमा आएको सो कार्यक्रम अन्तरगत शुक्रबार १ लाख ६० हजार बराबरका पशु विद्यार्थीलाई वितरण गरिएको छ । त्यसमा बाख्राका सात वटा बोका र छ वटा पाठी गरी १३ र सुंगुरका ७ वटा पाठापाठी छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्वाङले विद्यार्थी र उनीहरूका अभिभावकलाई ति चौपाया हस्तान्तरण गर्नु भएको हो । उहाँले पढेर पशुपालन र कृषि कर्म गर्नु हुँदैन भन्ने गलत सोचको न्यूनीकरण गर्न पढ्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।
विद्यालयले उपलब्ध गराउने ती पशु पालेर विद्यार्थीले आफ्नो पढाइ खर्च जुटाउने गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो । सोही कार्यक्रम अन्तरगत केही दिन अघि १३ वटा बोका र दुईवटा बाख्राका पाठी वितरण गरिसकेको विद्यालयका प्राविधिक धार प्रमुख डा. सीताराम यादव जानकारी दिनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रमका लागि यसपटक सरकारले सो विद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यसमध्ये अढाई लाख निकासा भइसकेको र बाँकी रकम पनि छिट्टै निकासा हुने विद्यालयले जनाएको छ । सो रकमबाट पनि विद्यार्थीलाई पशु वितरण गर्ने लक्ष्य विद्यालयको छ ।
पहिलो वर्ष सो कार्यक्रमका लागि सरकारले धुलाबारी माविलाई १० लाख उपलब्ध गराएको थियो । सो वर्ष विद्यार्थीले विद्यालय हाताभित्रै गाई, सुंगुर , कुखुरा , माछा पालन गरेका थिए । तिनको रेखदेख र खानपिनमा कठिनाइ भएपछि दोस्रो वर्षदेखि कार्यक्रमको स्वरुप परिवर्तन गरिएको प्रअ लुइँटेलले बताउनुभयो ।
" त्यसबेला घाँसपानी र दाना व्यवस्थापनमा केही कठिनाइ देखियो" प्रअ लुइँटेलले भन्नुभयो," दोस्रो वर्षदेखि कार्यक्रमको स्वरुपमा सामान्य परिवर्तन गरेर विद्यार्थीलाई घरमानै लगेर पशु पाल्ने व्यवस्था मिलाइएको हो ।" विद्यार्थीले काम गर्नु हुन्न भन्ने गलत भाष्य र लाज भगाउन, आत्मनिर्भर र स्वाभलम्बी बनाउन पढ्दै, कमाउँदै कार्यक्रम सहायकसिद्द भएको प्रअ लुइँटेलको भनाई छ ।
गत वर्ष पनि सरकारले विद्यालयलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको थियोे । गत वर्ष ४० वटा पाठापाठी वितरण गरिएको थियो । त्यसको प्रतिफल आउन थालेको विद्यालयले जनाएको छ ।
पहिलो वर्षको रकमबाट विद्यालयले प्राविधिक जनशक्ति सहितको पशु क्लिनिक सञ्चालन समेत गरेको छ । क्लिनिकमा सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीले रोजगारी पाएका छन् ।
विद्यालयको हाताभित्र अहिले पनि विद्यार्थीले केही कुखुरा, सुंगुर , माछा र गाई पालन गरेका छन् । विद्यालयको थप भवन निर्माण र सडक नजिक भएकोले पोखरी सञ्चालनमा कठिनाइ उत्पन्न भएको विद्यालयले जनाएको छ ।
सो कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालयले बिउ पुँजी फिर्ता गर्नु पर्ने नियम बनाएको छ । हस्तान्तरण गर्न खरिद गर्दा परेको पशुपक्षीको मूल्य विद्यार्थीले विद्यालयलाई फिर्ता गर्नु पर्छ । पशुको तौल नापेर विद्यालयले पशु खरिद गर्ने गरेको छ ।
पशुपक्षी ठूलो भएर बेच्दा आएको रकम विद्यार्थीको आम्दानी हुन्छ । एक दर्जन बढी चौपाया विद्यार्थीले ठूलो बनाएर बिक्री गरिसकेका छन् । बीउ पूँजीबाट फिर्ता भएको रकमको पारदर्शिताका लागि विद्यालयले उद्यमी विद्यार्थी क्लब गठन गरेर खाता सञ्चालनमा ल्याएको छ ।
खातामा ३ लाख रुपैयाँ मौज्दात रहेको प्रअ लुइँटेलले बताउनुभयो । खाता क्लब अध्यक्ष र प्रअको संयुक्त हस्ताक्षरबाट चल्छ । पारदर्शिताका लागि उद्यमी विद्यार्थी क्लबको छुट्टै खाता खोलिएको विद्यालयले जनाएको छ ।
विद्यालयले पशुपक्षी हस्तान्तरण गर्दा दुई पक्षीय सम्झौता गरेर गराउने गरिएको छ । सर्तनामासहितको सम्झौतापत्रमा हस्तान्तरणकर्ता र ग्रहणकर्ता पक्षले अनिवार्य हस्ताक्षर गर्नु पर्ने नियम बनाइएको छ ।
हस्तान्तरण गरिएका पशुको एक वर्षे बिमासमेत हस्तान्तरणकर्ता पक्षले गरिदिएको हुन्छ। एक वर्षभित्र कुनै कारणले पशु मरे क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ ।
अभिभावक र विद्यार्थीलाई त्यसरी हस्तान्तरण गरिएका पशुको औषधोपचार विद्यालयमा उपलब्ध जनशक्तिले गर्ने नियम बनाइएको छ । हस्तान्तरण गरिएका पशुको अवस्था बुझ्न विद्यालयले सवारी साधनसहित प्राविधिक जनशक्ति खटाएको छ । विद्यालयले त्यसको जिम्मेवारी पशु प्राविधिक अनिष भण्डारीलाई तोकेको छ ।
हस्तान्तरित पशुको औषधोपचार विद्यालयले सञ्चालन गरेको क्लिनिकबाट गर्ने सशुल्क व्यवस्था मिलाइएको छ । अन्य क्लिनिकमा भन्दा कम मूल्यमा औषधि र चिकित्सकीय सेवा दिइने गरेको छ ।
सो कार्यक्रम र विद्यालयमा सञ्चालित पशु बिज्ञान संकायको पठानपाठन प्रभावकारी बनाउन डा.यादवको नेतृत्वमा महेन्द्र मण्डल, सन्तोष राय, आशिष लावती, प्राविधिक निर्माणराज प्रसाईं , कल्पना गौतम, जीवन बराल र भण्डारीको जनशक्ति छ । त्यही जनशक्तिले पढ्दै, कमाउँदै कार्यक्रमको रेखदेख पनि गर्छ ।
सो विद्याकयको प्राविधिक धारतर्फ कक्षा ९ मा ४८, १० मा ४६, ११ मा ४२ र कक्षा १२ मा २६ जना विद्यार्थी अध्ययनरत रहेको डा. साहले बताउनुभयो। सो धारमा १८० जना विद्यार्थीलाई अध्यापन गराउने गराइन सकिने विद्यालयले जनाएको छ ।
कोशी प्रदेशमा दोस्रो धेरै विद्यार्थी संख्या भएको सो विद्यालय शैक्षिक साथै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी मानिन्छ । अहिले सो विद्यालयमा ३५ सय बढी विद्यार्थी छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयक रेकर्ड अनुसार धुलाबारी मावि देशभरका बढी विद्यार्थी संख्या भएका १५ विद्यालयको सूचीमा सूचीकृत विद्यालय समेत हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच