काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजविन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिनुभयो । समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजविन गर्नेछ ।
मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा. प्रेमसागर चापागाईं तथा सदस्य सचिवमा सुशीला अधिकारी हुनुहुन्छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ । त्रिताल बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसम्बन्धी छानविन समिति-२०७५ का संयोजकसमेत हुनुहुन्छ । छानविनका क्रममा विश्वविद्यालयको सम्पत्ति हिनामिना भएको देखिन आएमा सत्यतथ्य प्रमाणसहित आवश्यक कारबाहीका लागि सिफारिश गर्न समितिलाई कार्यादेश तोकिएको छ । जग्गाको संरक्षण, प्रयोग, व्यवस्थापन उपयोग र पूर्वाधार निर्माणका सम्बन्धमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कार्यहरूबारे सुझाव दिन समितिलाई कार्यादेश दिइएको छ ।
विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको, अतिक्रमित जग्गा फिर्ता गर्न अदालतले गरेको निर्णयसमेत कार्यान्वयन नभएको, भाडामा लगाएको जग्गाबाट नियमित आम्दानी उठ्न नसकेको अवस्था रहेकाले गहन र व्यापक रूपमा अध्ययन तथा खोजविन गर्न समिति गठन गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ । त्रिविको काठमाडौं उपत्यकाबाहिर पनि आंगिक क्याम्पसका नाममा सयौँ रोपनी सरकारी जग्गा छ । विशेषगरी त्रिवि केन्द्रीय कार्यालय परिसरको जग्गा अतिक्रमण र कब्जा गरी भोगचलन गर्ने प्रवृत्ति बढ्दो छ ।
विभिन्न सरकारी तथा गैरसरकारी, निजी संघसंस्था, व्यक्तिदेखि त्रिविकै प्राध्यापक कर्मचारीले समेत मनोमानी रूपमा त्रिविको जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् । नैकापमा विश्वविद्यालयलाई दाताले दिएको करिब १२५ रोपनी जग्गा बिक्री वितरण गरेर घरसमेत निर्माण भएको त्रिवि सामान्य प्रशासन महाशाखाले जनाएको छ । सर्वोच्च अदालतले उक्त जग्गा त्रिविकै हुने फैसला गरे पनि विश्वविद्यालयले आफ्नोे अधीनमा ल्याउन सकेको छैन । त्रिविका पूर्व-पदाधिकारीको लापरबाहीका कारण बिचौलियाको मिलेमतोमा उक्त जग्गा बिक्री वितरण हुन पुगेको फैसलामा उल्लेख छ ।
त्यस्तै, कीर्तिपुरको करिब एक सय आठ रोपनी जग्गामा निजी लगानीमा रहेको ल्याबरोटरी स्कुल सञ्चालनमा छ । त्रिविको जग्गामा सवारीसाधन पार्किङ स्थलदेखि फोहोरमैला संकलन, ढुंगा, गिट्टी, बालुवाको डिपो सञ्चालन भइरहेको छ । विश्वविद्यालयको र अन्तर्गतका निकायको भौतिक सम्पत्तिको खोज, संकलन तथा जगेर्ना गर्न र समुचित तवरले अभिलेखीकरण गर्न त्रिविले २०७४ मा एक कार्यदल गठन गरेको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच