अव्यवस्थित सडकका कारण ग्रामीण सम्पदा नासिँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो । वस्तीहरु मोटरबाटोले जोडिएका थिएनन् । सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पर्थ्याे वा पैदलै हिड्नु पर्थ्याे । भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो नै गुलजार हुन्थे । ठाउँ ठाउँमा चौतारी र विसौनीहरु थिए । छहारीमा बसेर दौतरीहरु दुःख सुखका कुरा गर्ने गर्दथे ।

तर अहिले जिल्लाका ६ स्थानीय तहका ४५ वडामध्ये ४४ वटा वडाका प्रत्येक टोलटोलमा सडक पुगेको छ । जिल्लाको धवलागिरि गाउँपालिका १ गुर्जा वाहेक जिल्लाका सबै वडाका वस्ती वस्तीमा सडक पुगेको छ । स्थानीय स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा परेको सडक अहिले नपुगेको गाउँनै छैन ।

विगत पाँच वर्षको अवधीमा संघ,प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका ६ वटा स्थानीय तहमा ७४ वटा ग्रामीण सडक निर्माण भएका पूर्वाधार कार्यालय एवम् स्थानीय तहहरुको तथ्याङक छ । ती सडकहरुमा करोडौं रुपैयाँ खर्च भएको छ । सडकले ग्रामीण जनजीवनमा विकास र परिवर्तन त ल्याएको छ, त्योसँगै पाकृतिक श्रोतहरुको बिनास पनि उत्तिकै गरेको छ ।

ग्रामीण सडकका कारण ऐतिहासिक र पुरातात्विक सम्पदाहरु नासिँदा बर्खाको समय ति सडकमा ठूला-ठूला पहिरो जाँदा मानवीयसँगै भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको छ । बिना इन्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याइरहेको छ । सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन समेत बनाइ दिएको छ ।

जिल्लाका ६ वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय हुँदा यातायातका साधन चल्दैनन् । ग्रामीण क्षेत्रका धेरैजसो सडकमा हिउँदमा गाडी गुडे पनि वर्षा सुरु भए पछि गाडी चल्न सक्दैनन् । गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नु पर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनु पर्ने बाध्यता छ ।

गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरुले सास्ती खेप्नु परेको मालिका ५ का दिनेश सिउथानीले बताउनुभयो । उपभोत्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको उहाँको भनाइ छ ।

“जिल्ला सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै होइन,पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिने ठाउँहरुमा समेत अहिले सडक पुगेको छ” दरबाङका अमृत सापकोटाले भन्नुभयो “सडकले गाउँका जनतालाई सुविधा पनि दिएको छ र सास्ती पनि । वर्खाको समयमा सडककै कारण बाढी पहिरोको जोखिम बढेको छ भने गाडी नचल्दा जोखिम मोलेर पैदल यात्रा गर्नु पर्ने वाध्यतामा जनता छन् ।”

त्यसैगरी मालिका गाउँपालिका ६ का ५१ वर्षिय टेकबहादुर विकले सडकले सुविधा भन्दा पनि प्राकृतिक श्रोतहरुको विनास र बढि सास्ती दिएको बताउनुभयो “गाउँमा खनिएका सडको अवस्था निकै कमजोर छ । साँघुरा र जोखिमयुक्त हुँदा गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि माथिल्लो क्षेत्रमा वर्खामास गाडी पुग्न सक्दैनन्” उहाँले भन्नुभयो “चाहिएको बेलमा गाडी चढ्न पाइँदैन तर सडककै कारण कैयौंले खेतबारी र घर समेत गुमाउनु परेको छ ।”

रघुगंगा गाउँपालिका ६ का डेकबहादुर शेरपुंजाले सडकले गाउँलेलाई धेरै सुविधा दिएको बताउँदै गाउँका खेतबारी,मठ मन्दिर र चौतारी पोखरीहरुको भने नास भएकोमा आफूलाई चिन्ता लागेको बताउनुभयो ।

“सडकका कारण बजारको सेवा सुविधा गाउँमा त आएको छ । तर, सडकले विकाससँगै गाउँमा ठूलो विनास पनि निम्त्याएको छ । अव्यवस्थित रुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती नै बगाउँदा भने गाउँमा सडक किन खनिएछ जस्तो लाग्छ” शेरपुंजाले भन्नुभयो ।

आवश्यकताभन्दा बढी गाउँमा सडक खनिए पछि सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोका जोखिममा परेका स्थानीयको भनाइ छ । “सडक खनिनुभन्दा पहिला गाउँ निकै रमाइला र हराभरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्” बेनी नगरपालिका २ का नारायण शर्माले बताउनुभयो ।

म्याग्दीमा बेनी-जोमसोम-कोरला, बेनी-दरवाङ, बेनी-मालढुङ्गा र बेनी-बागलुङ सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ । त्यसैगरी बेनी-बगरफाँट-सुर्केमेला-बरंजा,बेनी-अर्थुङ्गे-घतान लगाएतका ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रेको काम पनि हुँदै छ । तर,अधिकांश ग्रामीण सडकहरु भने जीर्ण वन्दै गइरहेका स्थानीयको गुनासो छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजकुमार थापाले अव्यवस्थित रुपमा निर्माण भएका सडकले गाउँको सुन्दरता नासिदै गएकोले अब ग्रामीण सडक निर्माणमा निश्चित मापदण्ड पुरा गरेर मात्र काम गर्न दिइने बताउनुभयो । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा इन्जिनियरिङ गरेर मात्रै निर्माण गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?