अल्लो र ढाकाका कपडा विदेश निर्यात

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दी जिल्लाका महिला उद्यामीहरुले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडाहरु विदेश निर्यात गरेर मनग्गे आम्दानी गर्न थालेका छन् ।

बेनी नगरपालिका-७, मंगलाघाटकी उद्यमी लिला पुनले अल्लो र ढाकाबाट तयार पारेकाटोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी गरिन् ।

उहाँले उत्पादन गरेका कपडाको अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायत यूरोपका देशबाट नियमित अर्डर आउने गरेको छ । विदेशमा रहेका नेपालीको रोजाईम ढाकाबाट बनेका थरीथरीका डिजाइन पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याई छ ।

स्वदेश तथा विदेशबाट आउने माग अनुसार उत्पादन गर्न नसकेकी पुनले म्याग्दीका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेको बताइन् । उनले स्वदेशमा भन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीलाई बिक्री गर्ने गरेको जानकारी दिइन् । ‘माग थेग्नै सकिदैन, अहिले अल्लो र ढाकाबाट निर्मित साम्रागीहरूलाई बजारको अभाव छैन” पुनले भन्नुभयो । उहाँले ग्राहकको रोजाई अनुसार ढाकाका कपडाहरू तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताउनुभयो ।

१८ बर्ष अगाडी भकिम्ली हाल बेनी नगरपालिका-३ बाट रोजगारको खोजीमा सदरमुकाम बेनी आउनुभएकी पुन म्याग्दी जिल्लाकै सफल उद्यमीमात्रै होइन देसैँभरि ढाका उद्यमी भनेर चिनिनुहुन्छ । विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको पुनको भनाई छ । “विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ, अहिले कोशेली दिन पनि अल्लो र ढाकाकै कपडाबाट बनेका डिजाइनहरू प्रयोग हुन्छ’ पुनले भन्नुभयो ।

उहाँले माग अनुसारको उत्पादन गर्न मुस्किल भएपछि अहिले म्याग्दीका स्थानीय तह तथा विभिन्न जिल्लामासमेत पुगेर नयाँ उद्यमीलाई सीप सिकाउँदै आउनुभएको छ । ढाकासँगै अल्लोका कपडा समेत बिक्री गर्ने गरेकी पुन सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निशुल्कसमेत तालिम दिनुहुन्छ । “पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु” पुनले भन्नुभयो ।

“तानमा बसेपछि समय बितेको पत्तै हुदैन,अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ’ पुनले भन्नुभयो । अहिलेसम्म पुनले २ हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण समेत दिएको बताउनुभयो । “म्याग्दीमा अल्लो र ढाकाका कपडा बुन्न ३० जना उद्यमी सक्रिय रहेका छौँ, वार्षिक रु एक करोड बढीका कपडा हामीले विदेश निर्यात गर्ने गर्दछौँ” महिला उद्यमी पुनले भन्नुभयो ।

पुन बाहेक नेकसरा पुन, दिलु घताने, विष्णु गुरूङका साथै पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम दिन थालेपछि उद्यमीको संख्या ह्वात्तै बढेको छ । महिला उद्यमी दिल घतानेले अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिलाहरू आर्थिक रुपमा समत सम्पन्न रहेको बताउनुभयो ।

म्याग्दीका ढाका र अल्लो उत्पादनमा सक्रिय महिला उद्यमीका अनुसार बार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भएपनि अल्लो र ढाकाबाट उत्पादिन बस्तु नै प्रयोग गर्ने गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बिदेशमा रहेका म्याग्देलीले ढाका र अल्लोका कपडाको बजारीकरण तथा प्रयोगमा सघाइरहेको बताउनुभयो । उहाँले अल्लोको कोट पाइन्ट, टोपी, सारीको प्रयोग गरी सार्वजनिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरिएको जानकारी दिनुभयो ।

रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीबासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा प्रयोग गर्न थालेका हुन् । “विदेशमा रहेका म्यादेलीले चाडपर्व र सभा/समारोहमा ढाका र अल्लोबाट निर्मित कपडाको पहिरन प्रयोग गर्न थालेकाले यसको माग बढेको हो”, पुनले भन्नुभयो ।

उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्र्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिन्छ । म्याग्दीको कला, सीप र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले ढाका र अल्लोका कपडा प्रवद्र्धनमा सघाएको उद्यमीहरुले बताएका छन् ।

एक मिटर ढाका र अल्लोको कपडालाई रु छ सयदेखि एकहजार पर्छ । एकजनाले एक दिनमा एक मिटरसम्म कपडा बुन्न सक्छन् । पहिला सादा कपडा बुन्दै आएका उद्यमीले पछिल्लो समय ग्राहकको मागअनुसार रङ्गीन र बुट्टेदार कपडासमेत बनाउन थालेका छन् । उद्यमीहरुलाई लघुउद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति, वन डिभिजन कार्यालय, गरिबी निवारण कोषलगायतका निकायले सीपमूलक तालिम, औजार र प्रविधि सहयोग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?