०८४ मा बहुमत ल्याउन मधेशलाई प्राथमिकतामा राखेर एमालेकाे चुनावी रणनीति

हिमालय टाइम्स
Read Time = 5 mins

महोत्तरी । नेकपा एमाले मधेशमा मिसन २०८४ को अभियानमा जुटेको छ । २०७९ को निर्वाचनमा अप्रत्याशित नतिजासहित ह्याट्रिक गरेको नेकपा एमाले यही विरासतलाई जोगाएर थप कसरी बलियो बन्ने भन्ने अभियानअन्तर्गत रणनीतिक योजनामा जुटेको हो ।

मधेशमा एमालेले अहिले तल्लोस्तरका कमिटीहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यहरु आएर प्रशिक्षण दिएका छन् । आफूलाई मधेशको मसिहा भनेर दाबी गर्ने मधेशवादी दलहरुलाई समेत पछाडी पार्दै नेकपा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पार्टी बन्यो ।

मधेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि २३ सिट जितर पहिलो पार्टी बनेको एमालेले सोही विरासत जोगाउँदै थप उपलब्धि हासिल गर्ने उद्देश्यसहित मिसन २०८४ को अभियानमा छ ।

मधेशमा आफूलाई बलियो र सशक्त बनाउन एमालेले ईश्वर पोखरेलदेखि योगेश भट्टराईसम्मलाई मधेश दौडाहामा पठाएको छ । अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत शीर्षस्त नेताहरु मधेशमा आएर प्रशिक्षण दिनुभएको छ। यसले एमाले मधेशलाई प्राथमिकतामा राखेर चुनावी रणनीति बनाइरहेको देखाउँछ ।

मिसन ग्रासरुट अभियानमा कर्णालीको जिम्मेवारी पाएका योगेश भट्टराई मधेश दौडाहामा पुग्नुभयो । उहाँ मधेशमा यसरी आक्रामक रुपले सक्रिय हुनुभयो । पार्टी सचिवसममेत रहेका भट्टराईले एक महिनामा ४८ वटा त बैठक नै गराएको मधेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिनुभयो ।

नेकपा एमालेले पछिल्लो समय प्रदेश अधिवेशनको गृहकार्यलाई पनि तीव्र बनाएको छ । पटक–पटक मिति तोक्दै नेताहरुको आन्तरिक कलहले बिथोलिँदै आएको अधिवेशन मिति फेरि साार्दै असोज २५ र २६ लाई तय गरिएको छ ।

यसअघि असोज ५ र ६ लाई निर्धारण गरिएको थियो  । महोत्तरीमा १९ र २० असोज, त्यसपछि  रौतहटमा २२ र २३ असोजमा हुने भनिएको अधिवेशन समेत रोकिएको छ ।

बारा र महोत्तरीमा आन्तरिक विवाद कै कारण हुन नसके पनि रौतहटमा भने प्रभु साह एमालेबाट बाहिरिएपछि पुनः अधिवेशन हुने भएको हो । यसअघि साहले रौतहटको जिम्मेवारी समाल्नुभएको थियो ।

तर, अधिवेशन भएका ठाउँहरुमा पनि एमालेले पुनः अधिवेशनको तयारी गरेको छ । मधेशका १३६ पालिका, १ हजार २७१ वडा र ११ हजार ४३९ टोलहरुमा अधिवेशन पुनः गरिने एमालेले जनाएको छ ।

सदस्यतामा ३० प्रतिशत कमि

नेकपा एमाले मधेशमा उत्साहित भए पनि पार्टी सदस्यतामा ३० प्रतिशतले कमि आएको छ । तर, यो प्रतिशतलाई एमालेले स्वाभाविक रुपमा लिएको पार्टीका प्रवक्ता सोमप्रसाद शर्माले बताउनु भयो । ‘धेरैजसो विदेशमा छन् । कतिपयले पछि गरौँला भन्ने पनि छन्,’ उहाँले भन्नुभयो, ‘नयाँ सदस्यता भने आक्रामक ढंगले बढेको छ ।’

मधेशमा यसअघि ७१ हजार सदस्य भएको दावी गर्दै १ लाख सदस्य पु¥याउने गृहकार्य भइरहेको प्रबक्ता शर्माले बताउनु भयो।

मिसन २०८४ के हो ?

नेकपा एमालेले बनाएको मिसन २०८४ निर्वाचनलाई लक्षित अभियान हो । एमाले सचिव योगेश भट्टराईका अनुसार संघ, प्रदेश र स्थानिय तहमा एकल सरकार बनाउने अभियानमा अगाडि बढेको र यो उदेश्य प्राप्ति गरेरै छाडने योजना छ ।

‘५ वटा दलसँग त एक्लै लडेर त्यत्रो सिट ल्यायौँ भने २०८४ मा बहुमत ल्याउँछौँ,’ उहाँले सार्वजनिक कार्यक्रममै भन्नुभएको छ ।

एकीकृत समाजवादीमा गएकाहरुलाई फर्काउने अभियान

एमालेबाट अन्य पार्टीमा गएकाहरुलाई फर्काउने उद्देश्य पनि मिसन ८४ को उद्देश्य रहेको सचिव योगेश भट्टराईले बताउनु भयो । एमालेबाट गएर एकीकृत समाजवादीका केन्द्रीय सदस्य बन्नुभएका डिल्ली उप्रेतीको नेतृत्वमा १५० जना नेता कार्यकर्तालाई एमालेमा फर्काइएको छ । सर्लाहीमा सर्लाहीबाट उनीहरुलाई एमालेमा नै भित्र्याइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?