चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।
महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा प्रमुख रेनु दाहालले पेश गरेको नीति तथा कार्यक्रमको लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।
प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता÷ श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।
बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने छ । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ ।
हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरिएको उहाँले बताउनुभयो । वडालाई न्यूनतम रु २ करोड ७४ लाख २८ हजार र अधिकतम रु २ करोड ९० लाख २ हजार गरी जम्मा वडास्तरीय आयोजनाहरुमा रु ८२ करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
यस्तै महानगरपालिकाका ठुला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं संघीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्नको लागि समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १२ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरभित्र सार्वजनिक शौचालयहरू निर्माण, फाउण्डेसन सहितको मेसजाली निर्माण, हरियालीसहितको नमूना सडक निर्माण, सिचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा, एक खुला व्यायमशालाको लगायतका शहरी सौन्दर्य र भूउपयोग तथा वस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वय गर्नको लागि रु १४ करोड विनियोजन गरिएको छ ।
दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी संग्रहालयका रूपमा सञ्चालनमा ल्याउनको लागि रु १ करोड बजेट विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ६ करोड विनियोजन गरिएको छ ।
यस्तै दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै महानगरले सहरी पूर्वाधार, भूउपयोग तथा वस्ती विकास र अधुरा योजनाहरुको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास,नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवं हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रर्वद्धन र युवा तथा खेलकद विकासलाई प्राथमिकतामा राखेको छ ।
खैरहनीको एक अर्ब एक करोड : एक वडा एक कृषि सहकारी स्थापना गर्ने घोषणा
चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार आयोजना गरिएको १५ औं नगर सभा मार्फत आर्थिक बर्ष २०८१/८२ को लागि रु.१ अर्ब १ करोड ५४ लाख ९५ हजार बजेट सार्वजनिक गरेको हो ।
मेयर शशीकुमार खनियाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लागि उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गर्नुभएको हो । सो नगरपालिकाले कुल बजेट मध्ये चालु खर्च तर्फ रु. ४९ करोड ८८ लाख १२ हजार र पुँजीगत खर्च तर्फ रु. ५१ करोड ६६ लाख ८४ हजार रहेको छ ।
आम्दानी तर्फ आन्तरिक आय रु. १९ करोड ४७ लाख, सङ्घीय सरकार सशर्त अनुदान रु २७ करोड ९१ लाख ७२ हजार, सङ्घीय सरकार समानीकरण अनुदान १६ करोड १४ लाख, सङ्घीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने रु. ११ करोड २८ लाख २ सय ४७, संरक्षित वन रोयल्टी रु. ७५ लाख ९९ हजार ७ सय ५३, सड़घीय सरकार विशेष अनुदान रु.३ करोड, संघीय सरकार समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश सरकार सशर्त अनुदान रु.५ करोड ९० लाख २० हजार, प्रदेश सरकार समानिकरण अनुदान रु. १ करोड ६७ लाख २५ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर रु.७ करोड ५० लाख ७८ हजार, प्रदेश सरकार समपुरक अनुदान रु.३ करोड. प्रदेश सरकार विशेष अनुदान रु.६५ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु.५० लाख, लागत सहभागिता रकम रु ५० लाख र चालु वर्षको अनुमानित बैंक मौज्दात रु.१ करोड ७५ लाख गरी कुल जम्मा रु.१ अर्ब १ करोड ५४ लाख ९५ हजार अनुमान गरिएको छ ।
खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु.११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा रु.६ करोड २५ लाख, नगरस्तरीय पूर्वाधारका योजना तथा कार्यक्रम तर्फ रु ३ करोड ८ लाख ३ हजार ३ सय ५०, वडास्तरीय योजना तर्फ रु.१७ करोड २६ लाख, विषयगत शाखा तर्फ रु.१४ करोड, नगरस्तरीय विभिन्न कोष तर्फ रु.१ करोड ५० लाख, समपुरक कोषमा रु.४ करोड ५० लाख, सडक बोर्ड तर्फका आयोजनामा रु.५० लाख, लागत सहभागिता तर्फ रु.५० लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु.४१ करोड ९६ लाख ९२ हजार अनुमान गरिएको छ ।
सो नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि उत्पादन बढाउदै रोजगारी सृजना गर्ने र किसानलाई आत्मनिर्भर बनाउन अनुदान र प्रविधिको प्रयोगलाई जोड दिइएको मेयर खनियाले जानकारी दिनुभयो । कृषि क्षेत्रको लागि एक वडा एक कृषि सहकारी, किसान तपाईलाई के चाहिएको छ?,भूमि बैंक स्थापना, प्राङ्गारिक मल स्रोत केन्द्र स्थापना,खेलबारीमा प्राविधिक सेवा, सिचाई प्रणालीमा सुधार,उत्पादन साथमा, अनुदान हातमा लगायतका योजना ल्याइएको मेयर खनियाले बताउनुभयो । पशुपंछी विकास तर्फ सो नगरपालिकाले गाईभैसीको पकेट कार्यक्रम सञ्चालन गर्ने, बाख्रापालनलाई व्यवसायिक बनाउन बाख्रा पैँचो कार्यक्रम सञ्चालन, पशु आहारमा आत्मनिर्भर बनाउन घाँसको बीउ वितरण गर्ने, उत्पादन बढाउन र बाच्छी पाडापाडी उत्पादन गर्न कृत्रिम गर्भाधान, पशुशाला निर्माणमा प्रोत्सहान गर्ने योजना अघि सारिएको छ ।
स्वास्थ्य तर्फ जिल्लाका जुनसुकै अस्पतालमा उपचार गर्ने खैरहनीका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने, गरिव तथम विपन्न समुदायका ३०० घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने, बाआमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने, उपमेयर गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शिक्षा तर्फ सो नगरपालिकाले कक्षामा विद्यार्थी टिकाउदर वृद्धि गर्दै गुणस्तर सुधार कार्यक्रम सञ्चालन, थारु, दलीत, अपाङ्गता, अल्पसंख्यक तथा अति विपन्न परिवारका छात्रा तथा दलीत छात्रहरुलाई स्नातक तह सम्म छात्राबृत्ती प्रदान, आर्थिक अबस्था कमजोर भएका बिज्ञान पढ्न चाहनेलाई कक्षा १२ सम्म अनुदान रकम प्रदान गर्ने, विद्यलयमा करेशाबारी निर्माण गरी दिवाखाजा कार्यक्रममा प्रयोगमा ल्याउने, विद्यालयमा फूलबारी निर्माण गर्ने उल्लेख गरिएको छ ।
पर्यटन विकास तर्फ खैरहनीलाई सौराहाको पर्यटन संग जोड्ने, थारु,दराई,मगर तथा अन्य जनजातीको संग्रहालय व्यवस्थित गरि पर्यटक आकर्षित गर्ने, होम स्टे मार्फत ग्रामिण पर्यटनको विकास गर्ने, असल पर्यटन अभ्यासलाई कार्यान्वयनमा ल्याउने, बुढीराप्ती खोलामा ब्यारेज निर्माण गरि मोटरबोट सञ्चालन गर्ने जनाइएको छ । पूर्वाधार विकासलाई जोड दिँदै सो नगरपालिकाले सडक निर्माण र स्तरोन्नती, कबर्डहल, नाला निर्माण, बाल उद्यान निर्माणलाई प्राथमिकता दिदैं नगर गौरभका ४२ वटा योजनामा ३४ करोड ७३ लाख ३८ हजार रूपैया बजेट विनियोजन गरेको उपमेयर उप्रेतीले जानकारी दिनुभयो । सो नगरपालिकाले सबै वडामा ओपन जीम स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच