काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जिबि राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडी बढाइएको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जिबि राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताउनु भयो ।
उहाँले कानूनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताउनु भयो । उहाँले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिनुभयो । उहाँले जिबि राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतिक्षाको विषय बनेको बताउनु भयो । उहाँले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी(जिबी राई) मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्युसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु । दुवैतर्फका राज्यस्तरिय संयन्त्रहरु संवादमा छन् र यि दुवै देश कानुनी राज्य भएका देश भएका हुनाले हामीले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा जानकारी गराउन चाहान्छु । नेपाल र मलेसियाबिच सुपुर्दगी सन्धी नभएपनि मलेसियाको सुपुर्दगी ऐन अन्तर्गत सन्धी नभएका मुलुकको अनुरोधमा आरोपितलाई सुपुर्दगी गर्न सक्ने व्यवस्था अन्तर्गत निरन्तर काम भइरहेका छन् । मलेसियाका गृहमन्त्रीसँगको दुईपटकको वार्ता जसमा सकारात्मक जवाफ मलेसिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरु पठाउने क्रमको निरन्तरता, जिबि राईको राहदानी खारेजी प्रक्रियाहरु अगाडी बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानूनी प्रावधान अनुसार अन्य जटिलता यसका कारणहरु हुन् । तर अनेकौँ प्रयासहरु निरन्तर जारी रहेका छन् । जिबि राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ । प्रतिवद्ध छ । निरन्तर रुपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रुपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतिक्षाको विषय हो । केही कानूनी जटिलता पार गर्दै राजनीतिक र कुटनीतिक सम्बन्धमार्फत जिबि राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा म पूर्ण विश्वस्त छु ।’
गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरी कुरेर बसेको बताउनु भयो । उहाँले उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेपाल प्रहरीले केन्द्रिय अनुसन्धान ब्युरोलाई गिरिबन्धु टि स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडी नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ । र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ । कुनै पनि समय, कुनैपनि बेलादेखि भएका विभिन्न किसिमका यि घटनाहरुका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ । कुनैपनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनैपनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन । मेरो शरीरमा छैन । यो कुरा म स्पष्ट पार्न चाहन्छु ।’
गृहमन्त्री लामिछानेले बजेट पास भएको दुई महिनाभित्र बिगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताउनु भयो । उहाँले पतञ्जली आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको पनि जानकारी दिनुभयो । उहाँले भूटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताउनु भयो । बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि उहाँले बताउनु भयो । उहाँले बाँसबारीको फाइल बन्द नभएको र टिकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा छ । बालमन्दिरको फाइल बन्द भएको छैन । स्काउटको फाइल बन्द भएको छैन । बाँसबारीको फाइल बन्द भएको छैन, खुलिसकेको छ । टिकापुरको फाइल खुलिरहेको छ । काम भइरहेको छ त्यसमा । बृहत जनकपुरको ९ हजार बिगाहा जग्गाको फाइल तयार हुने क्रममा छ । त्यो मात्रै होइन कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारहरुलाई अनुसन्धान गर्नका निमित्त २५ वटा पुराना फाइलहरुलाई एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने बजेटको व्यवस्था यसैपटकको बजेटमा व्यवस्था भएको छ । बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बन्न लागेको कुरा जानकारी गराउन चाहन्छु । भर्खरै अर्को फाइल खुलेको छ । पतञ्जली आर्युवेद कम्पनीको फाइल आजैबाट खुलेको कुरा सदनलाई जानकारी गराउन चाहान्छु ।’
मन्त्री लामिछानेले वृहत जनकपुरको ९ हजार बिगाहा जग्गाको फाइल पनि तयार हुने क्रममा रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच