वेदोऽखिलो धर्ममूलम्
वेद नै समग्र धर्मको मूल हो । आफैंले लेखेका पुस्तक पनि तीन दर्जनभन्दा बढी प्रकाशित गरेका र अरूले लेखेका पुस्तकसमेत जोड्दा १६० वटाभन्दा बढी पुस्तक प्रकाशन गराएका हरि मञ्जुश्रीलाई खोज, अनुसन्धान र प्रकाशन तथा पुरस्करण कार्यका चम्किला दिवाकर भने पनि हुन्छ । शब्दयात्रा प्रकाशन संस्था र सयौं लेखकको तीर्थ धाम सिर्जना गरी त्यसलाई संस्थागत नियममा चलाइरहेका व्यक्ति भएका हुनाले उनलाई परिचित गराउनु भनेको झलमल्ल घाम लागेका बेलामा चिराग देखाउनुजस्तो हुन्छ । यिनी तिनै प्रसिद्ध बाला गुरुका नामले विख्यात आबाल ब्रहृमचारी दिङ्ला संस्कृत प्रधान पाठशालाका संस्थापक साउने भेलले उत्ताल तरिङ्गत अरुण नदीमा खराउ लाएर वारपार गर्ने षडानन्द गुरुका वंशियार मानिन्छन् ।
भोजपुरबाट आएर केही दिन काठमाडौंलाई र स्थायी रूपमा चाहिँ काभ्रेको बनेपालाई तपस्थली बनाएर देदीप्यमान बनेका मित्र हरि मञ्जुश्रीमा तिनै सिद्धपुरुषको आशीर्वादले होला भन्छु राज्यले गर्न र आँक्न नसक्ने काम उनले गरेर देखाएका छन् । यिनका सम्बन्धमा होइन उनले लेखेर आफैंले गाएको एउटा वैदिक गानका सम्बन्धमा आज म केही कुरा राख्न खोज्दै छु । हाम्रो पौरस्त्य जगत्मा ब्रह्मविद्याको प्रस्तुति दुई विधिबाट भएको देखिन्छ । एउटा हो विधिमुख विधि र अर्को हो निषेधमुख विधि । वेद (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद) वेदाङ्ग (शिक्षा, कल्प, छन्द, ज्योतिष, व्याकरण, निरुक्त) यी सबै वेदको व्याख्याका लागि नभइकन नहुने कुरा मानिन्छन् ।
जसरी यो ब्रह्माण्ड आकाशभन्दा बाहिर छैन त्यसै गरी त्यो ब्रह्म पनि ॐकारका रूपमा दूधका थोपाथोपामा घ्यू व्याप्त भएजस्तै गरी या सानो पिपलका दानाका बीजमा विशाल वटवृक्ष रहे झैँ रहेको भनिएको छ ।
वेदलाई श्रुति पनि भनिन्छ । जुन बेला लिपिको आविष्कार भएको थिएन र कागज या रूखका बोक्रा, या भुर्जपत्र आदिमा लेख्ने माध्यम लिपि नै थिएन र गुरुका मुखबाट उच्चरित ध्वनि, शब्द, शब्दावली, उपवाक्य, वाक्य, अनुच्छेद, अध्याय आदि श्रवण परम्पराबाटै कण्ठस्थ गरेर विद्याको रक्षा गरियो । त्यस बेला वेदलाई श्रुति भनियो । लिपि र लेख्ने सामग्रीको पनि आविष्कार तथा विकास भएपछि मात्रै वेदलाई पठनपाठनको वस्तु बनाइएको अनुमान गर्न सकिन्छ । वेदको प्रतिपाद्य विषय ब्रह्म भएको हुनाले तत्सम्बन्धी चिन्तनका सामग्रीलाई ब्राहृमण भनियो । जनसङ्ख्याको वृद्धिले घरमा अध्ययन अध्यापन र सोचाइमा व्यवधान भएपछि एकान्त वास अरण्यमा गएर चिन्तन र पठन कायम गरिएका कारणले उत्पादित सामग्रीलाई आरण्यक भनियो ।
अनि जान्नेका नजिकमा बसेर नित्य चिन्तनलाई गति दिइएको हुनाले उपनिषद् पछिल्लो समयमा विकास भएका मानिन्छन् । चारै वेदमा जम्मा एक लाख मन्त्र छन् । तीमध्ये ८० हजार मन्त्रले कर्ममा जोड दिएका छन् । १६ हजारले विनियोग बताएका छन् भने ४ हजारले ज्ञान या दर्शन या विज्ञानका कुरा गरेका छन् भन्ने मानिन्छ । यसै कारणले वेदलाई सारा धर्म, ज्ञानविज्ञान र दर्शनादिको पनि मूल मानिन्छ ।
ॐ खं ब्रह्म
माध्यन्दिनीय शाखाअन्तर्गत शुक्लयजुर्वेदमा १९७५ वटा मन्त्र छन् । यिनलाई अध्याय अध्यायमा विभाजन गर्दा ४० अध्याय भएका भेटिन्छन् । चालीसौं अध्यायको १८औं मन्त्र हो ‘ॐ खं ब्रह्म’ ।।१८।। यसै मन्त्रलाई हरि मन्जुश्रीले निम्न स्थायी र अन्तरा भएको वैदिक गान बनाएका छन् । शुक्ल यजुर्वेदको चालीसौं अध्यायमा ऋग्वेदको पुरुषसूक्तले प्रस्तुत गरेको विराटपुरुषलाई व्याख्या गरेको छ । यो दृश्यमान ब्रहृमाण्डमा जेजति कुराहरू छन् ती सबै ईश्वरमय छन् । अतः कसैका धनमा र्याल नकाड, सित्यै कसैको एक पैसा पनि नखाऊ भनेर सक्झाउँदै गर्दा ब्रह्मको स्वरूपका सम्बन्धमा पटक पटक विधिमुख प्रश्नका उत्तरमा सबै वेदले दिने गरेका निषेधमुख विधिका उत्तरलाई यहाँ ईश्वर (ब्रह्म) आकाशजस्तो व्यापक छ ।
जसरी यो ब्रहृमाण्ड आकाशभन्दा बाहिर छैन त्यसै गरी त्यो ब्रह्म पनि ॐ कारका रूपमा दूधका थोपाथोपामा घ्यू व्याप्त भएजस्तै गरी या सानो पीपलका दानाका बीजमा विशाल वटवृक्ष रहे झैँ रहेको हुन्छ भनेरमात्र होइन यी सारा प्राणी, अप्राणी जंगम र स्थावर सबै त्यही ब्रह्मबाट सृजिन्छन् र त्यसैमा गएर मिल्छन् पनि भनिएको छ । यसै दर्शनलाई गीतले यसरी प्रस्तुत गरेको देखिन्छ :
कसले जीव बनायो, प्राण पसाइ जीवन बनायो
कसले जन्म बनायो रोग पसाई मृत्यु बनायो
कुकर्मी जीवलाई अर्को शरीरमा कसले प्रवेश गरायो
सुकर्मी जीवलाई आफ्नो तेजमा कसले लीन गरायो
यिनै प्रश्न गर्दा आउँछ उत्तर-ॐ खंब्रह्म ॐ खंब्रह्म ।।
जीव बनाउने प्राण प्रदान गर्ने, जन्म बनाउने, मृत्युको व्यवस्था गर्ने र कुकर्म र सुकर्म गरी कर्मलाई दुई भागमा विभाजन गरेर सुकर्मीलाई यशस्वी, तेजस्वी बनाई कुकर्मीलाई निन्दित, गर्हित गराएर अनुशासन कायम गर्ने को हो भन्दा वेदले उत्तर दिन्छ खंब्रह्म भनेर । यो निषेधमुख उत्तर हो आँखा, नाक, कान, हातगोडा पायुपस्थ सबै भएको र यस ब्रह्माण्डमा देखिने सम्भावना भएका जति सबैलाई देखाएर यो ब्रहृम हो ? भनेर सोध्दा नेति अर्थात् न इति यो होइन भन्छन् वेदहरू एक मुखले । यो पनि होइन त्यो पनि होइन भने के हो त भनेर फेरि सोध्दा शून्य नै ब्रह्म हो । ख भनेको आकाश हो र त्यो शून्य केही पनि नभएको खाली ठाउँ हो ।
यस गीतका चारवटा पंक्ति अन्तरा हुन् । अन्तराले स्थायीका भावलाई स्पष्ट्याउने, व्यक्त्याउने र व्याख्या गर्ने काम गर्दछन् गीतमा । एकै भनाइका बीचबीचमा पनि स्थायी आउँन सक्छ र भनाइका अन्त्यमा आएर समग्र भणितिलाई नै स्पष्ट्याउने काम पनि गर्नसक्छ । अचेल हाम्रा देशका कथित विद्वान्हरू ‘ॐ’ लाई वर्ण ठानेर शब्दकोषको प्रविष्टिमा खोज्दछन् । यो वैदिक भाषामा प्रणव हो । समग्र आकाशीय शून्यस्थानमा शब्द नै शब्दले भरिएको हुन्छ र त्यो भनेको अ+उ+मको सम्पृक्तस्वरूप ॐ हो भन्ने मानिन्छ । यसो भएको हुनाले नै तर्कशास्त्रले शब्दगुणमाकाशम्’ भनेर सिकाएको पनि छ । यदि आकाशको गुण शब्दमयता नभएको भए आजका टिभी, रेडियो, आवा, टेलिफोन आदि केही पनि आविष्कृत हुनसक्दैन थिए । ती सामग्रीले आज गर्नेगरेको काम पनि सम्भव हुने थिएन । सुरु सुरुका वैज्ञानिकले आकाश प्रकाशबाट व्याप्त छ पनि भन्ने माने तर जब रेडियो आविष्कार गरे अनि तिनको चेत खुलेर होइन आकाश त शब्दले भरिएको पो रहेछ भन्ने कुरो गर्न लागे । अव्यक्त, अनन्त, अव्यय, अनादि र विभु एवं प्रभु, भएर पनि अवाङ्मनसगोचरातीत छ ब्रह्म ।
मानवका इन्द्रियले देख्न, बुझ्न, छुन सक्ने अर्थात् इन्द्रियादिग्राहृय वस्तुलाई ब्रहृम ठान्ने गल्ती नगर्नु भनेर सचेत गराएको छ । जसबाट यी सारा भूत जन्मन्छन् र जसमा गएर सबै सन्निविष्ट हुन्छन् त्यो परमतत्व नै ब्रह्म हो ।
यसलाई मनले कल्पना गर्न, शब्दमा व्यक्त गर्न, संसारको स्थूलतम रूपसँग दँजनी गरेर बताउन पनि सकिँदैन तर यी सारा भौतिक वस्तु, जीवजन्तुको जनक, प्रवर्द्धक र परिपालक पनि ब्रहृम नै हो । यसै भएको हुनाले ब्रह्म मन, वचन, चक्षु आदि इन्द्रियको विषय बन्न सक्दैन । यो इन्द्रियातीत छ ।
कसले ध्वनि बनायो के के गरेर तरङ्ग ल्यायो
कसले आकार बनायो के के गरेर दृश्य बनायो
तिनीहरूको अनुभव गर्ने कसले क्षमता दिलायो
तिनीहरूलाई फेरि आफूमा नै कसले विलय गरायो
यिनै प्रश्न गर्दा आउँछ उत्तर ॐ खं ब्रहृम, खं ब्रह्म ।।
अर्थात् परा, पश्यन्ति र वैखरी वर्णरूप बनाउने शिल्पी पनि उही हो, अनेकौं प्रकारका आकार, रूप रङ निर्माणकर्ता पनि त्यही हो । किनभने, त्यो अनुभव गर्ने पनि त्यही नै भएको हुनाले यो तर्क परिपुष्ट पनि छ । हामीले बोध गर्ने भए मरेका मान्छेका सारा अङ्गयथावत् यथास्थान हुँदाहुँदै पनि किन त्यसले बोध गर्दैन त ? उत्तर स्पष्ट छ त्यो ब्रह्म अर्थात् शाश्वदात्म तत्व उठेर कतै गयो अतः यो शरीर जड बन्यो उसका अभावमा । उर्णनाभि (माकुरा) ले जसरी आफैँबाट रेसा निकालेर जाल बनाउँछ र त्यसमा अल्झेका साना मसिना कीरा खान्छ पछि फेरि ती सबै जालका तन्तुलाई जसरी निकालेको थियो त्यसैको व्यतिरेकी शैलीबाट आफैँभित्र हुल्छ ठीक त्यसैगरी ब्रह्मबाट चराचर (चर अचर) सृष्टि हुन्छ र उसैमा गएर विलीन पनि हुन्छन् ।
नान्योऽस्ति द्रष्टा...नान्योऽतोऽस्ति श्रोता नान्योऽतोऽस्ति विज्ञाता भनेर बृहदारण्यकोपनिषत्ले पनि बताएको छ । त्यो ब्रह्म नै एकमात्र श्रोता, द्रष्टा र विज्ञाता पनि हो अरू कोही कुनै छैनन् भनेर याज्ञवल्क्यले बताएका छन् । ...न तत्र चक्षुर्गच्छति न वाग्गच्छति नो मनो न विद्यो न विजानिमोयथैतदनुशिष्यादन्यदेव तद्विदितादथो अविदितादधि । इति शुश्रुम पूर्वेषां ये नस्तद्विचचक्षिरे ।।३।। केनोपनिषद्ले पनि त्यस तत्वमा चक्षु आदि इन्द्रिय पुग्न सक्दैनन् । वाणी र मन पनि त्यहाँ पुग्न सक्दैनन् । त्यो तत्व वाणीको विषय नै नभएको हुनाले त्यसलाई यस्तो छ भनेर बताउने कुनै सामान्य या विशेष उपाय पनि हामी जान्दैनौं । त्यो त पदार्थ र भौतिक ज्ञानको विषय नभएको मायाभन्दा पनि पर छ । हामीलाई ब्रह्मतत्वका विषयमा बताउने पूर्वाचार्यहरूका मुखबाट यस्तै कुरा सुनेका छौं भनेर उपदेशक गुरु आफ्ना शिष्यलाई बताउँछन् ।
कसले शून्य बनायो कुन कर्मले समय बनायो
कसले ज्योति बनायो कुन कर्मले ज्ञान बनायो
तिनीहरूको अनुभूति गर्ने कसले बोध बनायो
तिनीहरूलाई नियन्त्रण गर्ने कसले शक्ति बनायो
यिनै प्रश्न गर्दा आउँछ उत्तर-ॐ खं ब्रहृम ॐ खं ब्रह्म ।।
केनोपनिषत् भन्छ कसबाट सत्ता, फूर्ति र प्रेरणा पाएर यो मन संकल्प र विकल्पका क्रिया गरिरहन्छ (मन्त्र १ ?) दोस्रामा भनिएको छ कुनै तत्व छ जो श्रोत्रको पनि श्रोत्र हो र मनको पनि मन हो, कानलाई श्रवणशक्ति प्रदान गर्ने मनलाई सङ्कल्प र विकल्पमा लैजान सक्ने त्यही परम चेतन आत्मतत्वले नै प्रदान गर्दछ (मन्त्र २) यन्मनसा न मनुते येनाहुर्मनो मतम् । तदेव ब्रह्म तद्विद्धि नेदं यदिदमुपासते ।।५।। अर्थात् जसलाई मनका माध्यमले विचार गर्न सकिँदैन तर जसका आधारमा मनले सांसारिक साराको विचार विश्लेषण गर्दछ त्यही ब्रहृम हो भनी बुझ ।
यच्चक्षुषा न पश्यति येन चक्षूंषि पश्यति ।
तदेव ब्रहृम त्वं विद्धि नेदं यदिदमुपासते ।।६।।
अथातो ब्रहृम जिज्ञासा ।।१।।
यो ब्रहृमसूत्रको पहिला सूत्रले भन्छ अब ब्रहृमका सम्बन्धमा विचार गरौँ । यसैगरी श्रीमद्भागवतले पनि भन्छ ‘जन्माद्यस्य यतः’ अर्थात् यस जगत्को उत्पत्ति, स्थिति र प्रलय जसका कारणले हुन्छ हो, त्यो नै जगत्को निमित्त कारण ब्रहृम हो । वेदले पनि यसै कुरालाई समर्थन गर्दै भनेको थियो धेरै पहिले :
‘यतो वा इमानि भूतानि जायन्ते येन जातानि जीवन्ति । यत्प्रयन्त्यभिसंविशन्ति । तद् विजिज्ञासस्व । तद्बह्म’ ।।
जुन तत्वलाई आँखाले देख्न सक्दैनन् जसको चैतन्य पाएर हाम्रा आँखाले संसारका सारा पदार्थलाई देख्नसक्छ त्यही ब्रहृम हो भनी तिमी बुझ । मानवका इन्द्रियले देख्न, बुझ्न, छुन सक्ने अर्थात इन्द्रियादिग्राहृय वस्तुलाई ब्रहृम ठान्ने गल्ती नगर्नु भनेर सचेत गराएको छ । जसबाट यी सारा भूत जन्मन्छन् र जसमा गएर सबै सन्निविष्ट हुन्छन् त्यो परमतत्व नै ब्रहृम हो । त्यसको जिज्ञासा गर भनेर पनि बताइएको भेटिन्छ । खं भनेको शून्य हो । यस विश्वमा व्याप्त भएर रहेको आकाशजस्तै शून्य तर आकाश पनि जसमा निहीत छ त्यो नै ब्रह्म हो । चारै वेद, २०० भन्दा बढी उपनिषत र षड्दर्शन अनि ५४ वटा पुराणले गान गर्दा बताउन नसकेको नेतिनेति भनेर छाडेको ब्रहृम यही नै हो मेरा मतिमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच