सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : सांसद साउद

काठमाडाैं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदुत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशालि ११ राष्ट्रमा रहेका राजदुतहरु फिर्ता बोलाएको बताउनु भयो । उहाँले सरकारले राजदुत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कुटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताउनु भयो ।

उहाँले सत्ता गठबन्धनका बिचमा भागबण्डा गरेर राजदुत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदुत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताउनु भयो । उहाँले नेपालको कुटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘सत्ता गठबन्धनका दलहरुले भागबण्डा गरेर राजदुत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दाखेरी केही नियुक्त गरेका राजदुतहरुले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्ड विहिन र स्वीकृति विहिन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिइ हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरुको कन्फ्लिक्ट अफ इन्ट्रेष्टका कुरापनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ । केही राजनीतिक दलहरुले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदुत चयन गर्दैछन् । दलहरुले विज्ञापन निकालेर । यसले नेपालको कुटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ । नेपालको कुटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन । म यो आग्रह गर्न चाहन्छु ।’

उहाँले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रुपमा भन्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?