स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनेको छ : सभामुख घिमिरे (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।

राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उहाँको भनाई थियो ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरु लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताउनु भयो । उहाँले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभुति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाई छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरुकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन । यो जानकारी राजनीतिक दलहरुले आफ्ना प्रतिनिधिमार्फत अथवा जनप्रतिनिधिहरुले आम जनताको बीचमा यो स्वास्थ्य बीमा भनेको के हो ? र यो बीमालाई उपयोग गर्नका लागि हामीले अपनाइरहेका नीतिहरु के हुन् ? यो नीतिलाई कार्यान्वयन गरिरहँदा त्यस भित्र देखापरेका विकृतिहरु के हुन् ? यसको बारमा पनि मसिनोसँग तल जनताको बीचमा लगियो भने यी धेरै कुराहरु नियन्त्रण हुन सक्छन् । मैले यो चर्चा गरिरहँदाखेरी राजनीतिक कर्मीहरु अथवा अहिले निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न तहको सरकारमा काम गरिरहेका जनप्रतिनिधिहरुको भूमिका ज्याँदै महत्वपूर्ण हुन्छ । हिजो यी सबै प्रणाली नहुँदानहुँदै पनि मैले आफैले पनि सम्झिदाखेरी विफर भन्ने रोग ठाउँ अनुसार विभिन्न भनियो । खटिरा आउने र मान्छेहरु मर्ने क्रम थियो । त्यो परिवारमा मात्रै सीमित नभएर टोलटोलमा पनि मानिसहरु मरेर गए । त्यसको निराकरणनै हुन सक्दैन भनेर ईश्वरलाइ पुकार्ने चलनहरु पनि थिए । हामो देशमा त्यसको निर्मुल नै गर्ने कामहरु भयो । टिभी रोगको पनि हल भएर गयो । एवं रुपले अहिले चर्चा गर्दाखेरी क्यान्सर जुन रुपबाट आएको छ । मलाई के भन्न मन लाग्छ भने यो डरलाग्दो रोग हो । यो एकदम भयावह रुपबाट बढिरहेको छ । त्यस मानेमा पनि हामीले यसलाई हेर्नुपर्छ । तर यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका उपायहरु खोज्न सकिन्छ । अहिले धेरै ब्याख्या गर्नुभयो । यसको आधारबाट पनि यो रोग लाग्नु भन्दा अगाडि नै समयसमयमा चेक गर्ने यसको आवश्यक्तालाई हामीले बुझाउन सकिरहेका छैनौं । यस मानेमा पनि जनप्रतिनिधिहरुले यसलाई बुझाउने कुरालाई भयावह छ भनेर आत्तिएर बस्ने होइन कि त्यस रोगको उपचारको तयारी गर्ने । त्यो रोग लाग्न नदिने गरी चेतना फैल्याउने काम जनप्रतिनिधिहरुले गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराउनु भयो । आफैँ क्यान्सर रोगको पीडाबाट मुक्त हुनुभएकी उहाँले किशोरीहरुलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सभापति थापाले भन्नुभयो, ‘क्यान्सर रोगलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत समेटी उपचारको व्यवस्था मिलाउन सरकारसँग आह्वान गर्दछौं । क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौं । किशोरीहरुका लागि पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर संचालन गर्न सरकारसँग माग गर्दछौं ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले काठमाडांै उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

सांसद सुवालले भन्नुभयो, ‘काठमाडौं उपत्यकाका जनतालाई फोक्सोको क्यान्सर लाग्छ है भनेर सचेत गराउनुपर्ने भयो । गरिव क्यान्सरका कारण धेरै मरेको देखियो । यो समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने देखियो । यो रोग नियन्त्रणका लागि प्रमुख दलको शिर्ष नेताहरुको ध्यान जानुपर्ने देखियो । ’

सांसद सुवालले क्यान्सर रोगबाट गरिव बढी मर्ने भएकाले उनीहरुका लागि विशेषे सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?